सम्पादकीय— ‘भीरकोटका क्याम्पसलाई बचाऔं’

शिक्षा सामाजिक रुपान्तरणको आधार हो भन्ने भनाइ केवल नारा मात्र होइन, यो हाम्रो समाज, समुदाय र राष्ट्रको समग्र विकासको मेरुदण्ड हो । यथार्थमा शिक्षाको गुणस्तर, पहुँच र प्रभावकारिता नबढेसम्म समावेशी तथा समुन्नत समाजको परिकल्पना गर्न सकिँदैन । तर, अहिले भीरकोट नगरपालिकामा रहेका दुई सामुदायिक क्याम्पसहरु संकटको अवस्थामा पुगेका छन् । विद्यार्थी संख्या दिनानुदिन घट्दो छ, शैक्षिक वातावरण सुस्त छ र दुवै संस्थाले आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन् । मुख्य समस्या भनेकै विद्यार्थीहरुको अभाव हो । संख्या न्यून हुँदा कक्षाहरु सञ्चालन गर्न कठिन भइरहेको छ । अध्यापन गुणस्तरमा समेत असर परेको छ । कतिपय विषयमा शिक्षक नियुक्ति सम्भव छैन, कतै विद्यार्थी नै नहुँदा कोर्ष बन्द गर्नु परेको छ । यस्तो अवस्थामा संस्थाको दिगोपनाको प्रश्न उठ्नु स्वाभाविक हो ।अर्को गम्भीर पक्ष भनेको स्थानीय तह — नगरपालिकाको शिक्षा शाखाको निष्क्रियता हो ।

सामुदायिक शिक्षण संस्थालाई टेवा पु¥याउने, नीति निर्माण, समन्वय तथा आवश्यक सहयोग प्रदान गर्ने जिम्मेवारी स्थानीय सरकारको हो । तर, भीरकोट नगरपालिकाको शिक्षा शाखाले यी क्याम्पसहरुलाई पुनर्जीवित गर्ने कुनै दूरदृष्टि देखाउन सकेको छैन । उल्टै, संस्थागत संकटको घडीमा समेत चुप लागेर बसेको छ, जुन दुर्भाग्यपूर्ण छ । अब यो समस्याबाट निस्कने उपाय खोज्न ढिला गर्नुहुँदैन । समाधान स्पष्ट छ — यी दुई क्याम्पसलाई मर्ज गरी एकीकृत, सुदृढ र गुणस्तरीय शैक्षिक संस्था निर्माण गर्नु । एउटै छानामुनि स्रोतहरु केन्द्रित गर्दा लागत कम हुन्छ, सेवा प्रभावकारी हुन्छ र शैक्षिक वातावरण समृद्ध बन्छ । यस्तो संस्थाबाट विद्यार्थी मात्र होइन, शिक्षक, अभिभावक र सिंगो नगर तथा समुदाय लाभान्वित हुनेछ ।

यस कार्यमा स्थानीय सरकार, शिक्षा समिति, क्याम्पस प्रशासन, अभिभावक र सरोकारवाला सबै मिलेर अघि बढ्नुपर्छ । मर्जको प्रक्रिया पारदर्शी, समावेशी र दीर्घकालीन सोचका आधारमा गर्नुपर्छ । केवल संस्था जोगाउने होइन, उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित अघि बढ्न सकेमा भीरकोटको शिक्षाले पुनः गति लिनेछ । अब निर्णयको घडी हो — ढिलो गरे भविष्यमै खतरा छ । समयमै सशक्त निर्णय लिएर शिक्षा बचाऔँ, भविष्य निर्माण गरौँ । भीरकोट नगरपालिकामा उच्च शिक्षाको स्तर उठाउन अब समयमै गम्भीर पहल आवश्यक छ । क्याम्पस मर्जको सकारात्मक वातावरण तयार पार्न नगरपालिकाले सहजीकरण गर्नु जरुरी छ । शिक्षा क्षेत्रमा राजनीतिक स्वार्थभन्दा दीर्घकालीन भलाइ प्राथमिक हुनुपर्छ । भीरकोटमै पढेका विद्यार्थीलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने माग पनि पूर्णतः जायज छ । स्थानीय तहले गुणस्तरीय उच्च शिक्षा आफ्नै नगरभित्र उपलब्ध गराउन सकेमा मात्र जनतामा शिक्षाप्रतिको विश्वास बलियो हुन्छ । यद्यपि कतिपय क्याम्पसहरुमा ‘फर्जी विद्यार्थी’ देखाएर अनुदान असुली हुने गुनासोले चिन्ता बढाएको छ, जुन तत्काल समाधान हुनुपर्छ ।

प्रतिक्रिया