भीरकोटमा ‘देवकोटा काव्य उत्सव–२०८२’ हुने

भीरकोट ।

स्याङ्जा साहित्य प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा ‘देवकोटा काव्य उत्सव–२०८२’ भव्यरूपमा मनाउने भएको छ। प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। कार्यक्रमको संयोजन प्रतिष्ठानका सचिव मिलन समीरले गर्नेछन्। उनका अनुसार कार्यक्रम स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालय, भीरकोट नगरपालिका–७, बलमाटा, स्याङ्जाको संयुक्त आयोजनामा तथा भीरकोट नगरपालिका– वडा नं. ७ को सहयोगमा सम्पन्न हुनेछ।

उक्त उत्सव आगामी २०८२ साल कार्तिक २२ गते शनिबार बिहान ११ बजे, कालिका पुस्तकालय, बलमाटामा आयोजना गरिनेछ। सचिव समीरले स्याङ्जामा पछिल्ला वर्षहरूमा साहित्यिक कार्यक्रमहरू भव्यरूपमा हुँदै आएको भन्दै यस पटकको देवकोटा जन्मजयन्तीलाई “अझ बृहत् सहभागितामूलक, गुणस्तरीय र विशेष महत्त्वपूर्ण बनाउने उद्देश्य” रहेको बताए। उनले प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा साहित्यिक समुदायलाई प्रचार–प्रसारमा सक्रिय भूमिका खेल्न पनि आग्रह गरेका छन्।

यसैबीच, सहयोगी संस्था भीरकोट नगरपालिका–७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले देवकोटा काव्य उत्सव जस्तो साहित्यिक आयोजनाले स्याङ्जाको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने बताए। उनले भने, “महाकवि देवकोटा जस्ता प्रतिभामान व्यक्तित्वको स्मरणमार्फत हाम्रो साहित्य, संस्कृति र स्थानीय सिर्जनशीलतालाई देशभर चिनाउने अवसर यो उत्सवले प्रदान गर्नेछ। वडा कार्यालय यस प्रकारका सृजनात्मक गतिविधिमा सधैं साथ र सहयोग गर्न तत्पर छ।”

प्रतिक्रिया