पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण

भीरकोट ।

स्याङ्जाको भीरकोट नगरपालिका ४ सिसौघारीमा रहेको फोहरमैला संकलन केन्द्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहल थालिएको छ। धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यस ठाउँमा पूर्वाधार निर्माण गर्न लागिएको हो। यसका लागि फोहर संकलन केन्द्रसँगै रहेको भीरकोट पार्कमा मन्दिरसहितको तलाउ निर्माण कार्य थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिंदै आम्दानीको स्रोतकोरुपमा विकास गर्ने उद्देश्यसहित भीरकोट नगरपालिकाले बीच भागमा मन्दिरसहितको तलाउ निर्माण कार्य थालेको हो । भीरकोट नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र र पार्क रहेकै स्थानमा मन्दिरसहितको तलाउ निर्माण भईरहेको हो । भीरकोट नगरपालिकाले यसलाई नगरको गौरवको योजनाको रुपमा लिएको छ ।

शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत शहरी पूर्वाधार कार्यक्रम अन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण कार्य गरिने भएको विभागका ईञ्जिनियर अच्युत पौडेलले जानकारी दिए। “आयआर्जनको स्रोतकोरुपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण कार्य भईरहेको छ” उनले भने, “उक्त ठाउँसम्म पुग्नकालागि साढे २ किलोमिटर पक्की पहुँच मार्ग निर्माण गरिने छ ।” नगरपालिकाको सहकार्यमा एकीकृत शहरी पूर्वाधार कार्यक्रम अन्तर्गत कुन कुन ठाउँमा के कस्ता पूर्वाधार निर्माण गर्दा उपयुक्त हुन्छ भनी विस्तृत परियोजना प्रतिवेदन तयार गरेर काम भईरहेको उनले बताए । उक्त योजना सम्पन्न गर्नकालागि अनुमानित लागत १२ करोड ८० लाख रहेको छ । योजना कार्यान्वयनकालागि ग्राण्ड एसके शिव जेभी काठमाडौंसित सम्झौता भएको हो । २०८१ असार ६ गते ठेक्का सम्झौता भई अगाडि बढेको योजना यही फागुन ५ गते सम्पन्न हुनुपर्ने छ । ठेकेदार कम्पनीले ८ करोड २४ लाख ५५ हजार ५ सय ५६ को लागतमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो ।

भीरकोट नगरपालिकामा आम्दानीका स्रोतहरु वृद्धि गर्ने योजनासहित नगरपालिकाले मन्दिरसहितको तलाउ निर्माण गर्ने कार्य अगाडि बढाएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्नकालागि के के गर्न सकिन्छ भनेर छलफल ग¥यौं” उनले भने, “मन्दिरसहितको तलाउ निर्माण गरी डुङ्गामार्फत मन्दिरको दर्शन गर्न सक्ने गरी योजना बनाएका छौं, यो ठाउँ आन्तरिक पर्यटकको रोजाईमा पर्ने र त्यसबाट आम्दानी पनि हुने विश्वास हाम्रो छ ।” चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आउने गरी काम भईरहेको नगर प्रमुख कर्माचार्यले जानकारी दिए । तलाउमा निर्माण गरिएको मन्दिरमा शिवपार्वती र गणेशको मुर्ति प्रतिस्थापन गरिने भएको हो ।

हाल निर्माणाधिन अवस्थामा रहेको तलाउ परिसरमै नगरपालिकाले सञ्चालन गरेको भीरकोट उद्यानबाट वार्षिकरुपमा लाखौं आम्दानी गर्दै आईरहेको छ । शनिबार तथा अन्य विदाको दिन र चाडपर्वका बेलामा दैनिक दुई तीन सयसम्म आन्तरिक पर्यटक यहाँ आउने गरेको भीरकोट पार्कका व्यवस्थापक कृष्णप्रसाद अर्यालले जानकारी दिए। यहाँ आन्तरिक पर्यटकको भीडभाड बढिरहेको छ, उनले भने, थप पूर्वाधार निर्माण गर्न सकिए अझ राम्रो हुन्थ्यो। सिसौंघारी रहेको यस ठाउँमा स्थानीय पनि खासै आउदैनथे। यो गाईबाख्रा चराउने ठाउँ थियो। तर अहिले घुम्ने ठाउँ बनेकोमा स्थानीय डिल्लीराम ढुंगाना दङ्ग परेका छन् । हिजो हामीले गाईबाख्रा चराउने ठाउँ यस्तो होला भन्ने कल्पना पनि गरेका थिएनौँ, उनले भने।

 

प्रतिक्रिया