गल्याङ क्याम्पस प्रमुखमा बस्याल

गल्याङ ।

गल्याङ नगरपालिका ३ स्थित गल्याङ बहुमुखी क्याम्पसमा टिकाराम बस्याल ‘विवेक’ क्याम्पस प्रमुखमा नियुक्त भएका छन् । खुला प्रतिस्पर्धात्मक विज्ञापन मार्फत सम्पन्न छनोट प्रक्रिया पछि उनलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो । क्याम्पस प्रमुखको पद २०८२ साल साउन ११ गतेदेखि रिक्त रहेकोमा क्याम्पस सञ्चालक समितिको २०८२ साल कार्तिक १४ गतेको निर्णय अनुसार कार्तिक १७ गतेदेखि बस्याललाई औपचारिक रूपमा नियुक्त गरिएको हो ।

प्रमुख बस्यालले लामो समयदेखि शिक्षण तथा शैक्षिक व्यवस्थापन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । पदभार ग्रहण गरेपछि उनले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण र स्नातकोत्तर तहसम्मका अध्ययन कार्यक्रम सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले बस्यालको नियुक्तिले संस्थामा नयाँ उत्साह र ऊर्जा थपिएको बताए । उनले नयाँ नेतृत्वको आगमनसँगै क्याम्पसको शैक्षिक, प्रशासनिक र भौतिक विकासमा थप गति आउने र क्याम्पसले स्थानीय समुदायको अपेक्षा अनुसार गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने विश्वास व्यक्त गरे ।

क्याम्पसका विद्यार्थी र शिक्षकहरूले पनि नयाँ नेतृत्वप्रति स्वागत व्यक्त गर्दै आगामी दिनमा गल्याङ बहुमुखी क्याम्पसले अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने अपेक्षा व्यक्त गरेका छन् । २०६० सालमा स्थापना भएको गल्याङ बहुमुखी क्याम्पस गल्याङ क्षेत्रकै अग्रणी सामुदायिक शिक्षण संस्था हो । हाल क्याम्पसमा करिब ५ सय विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले स्नातकदेखि स्नातकोत्तर तहसम्मका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया