वालिङ जेसिजको नेतृत्व बिदुर कोइरालाको काँधमा

वालिङ ।

वालिङ जेसिज वर्ष २०२६ को नेतृत्व युवा व्यवसायी बिदुर कोइरालाले सम्हाल्ने भएका छन्। वालिङ जेसिजको २१औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट कोइराला सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। वालिङमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट महासचिवमा एक नारायण कोइराला, कोषाध्यक्षमा साजन पंगेनी तथा कार्यकारी उपाध्यक्षमा सन्तोष रेग्मी र विष्णु पंगेनी निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्ष पदमा सरोज अधिकारी, पूजा कोइराला, यादव पौडेल र भरत विक्रम काफ्ले चयन भएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले युवा सशक्तीकरण आजको आवश्यकता रहेको बताए। उनले देशको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जेसिजजस्ता संस्थाले युवालाई नेतृत्वमा स्थापित गर्न ठूलो योगदान पुर्‍याउँदै आएको धारणा व्यक्त गरे। अर्यालले जेसिजमा आबद्ध युवाहरूले सकारात्मक सोच, अनुशासन र सेवाभावका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा ध्यान दिनुपर्नेमा जोड दिए। साथै अग्रज व्यक्तित्वहरूको अनुभव, सल्लाह र सुझावलाई मनन गर्दै अघि बढेमा व्यक्तिगत र संस्थागत दुवै रूपमा सफलता हासिल गर्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले वालिङ जेसिजले सामाजिक सेवा, नेतृत्व विकास, युवाको क्षमता अभिवृद्धि तथा उद्यमशीलता प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। वक्ताहरूले वालिङ जेसिजले विगतका वर्षहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सचेतनाका क्षेत्रमा खेलेको भूमिकालाई उदाहरणीय भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे। त्यसैगरी पूर्व अध्यक्षहरूले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै जेसिजको मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै संस्थालाई अझ सशक्त र परिणाममुखी बनाउँदै लैजान आग्रह गरे। उनीहरूले टिमवर्क, निरन्तर सिकाइ र सेवामूलक सोच जेसिजको पहिचान भएको उल्लेख गर्दै नयाँ नेतृत्वले यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष बिदुर कोइरालाले जेसिजप्रति आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएकोमा सबै सदस्यप्रति आभार व्यक्त गरे। उनले जेसिजको मूल मर्म ‘नेतृत्व विकासमार्फत सकारात्मक परिवर्तन’ लाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष कोइरालाले युवालाई नेतृत्वमा अघि बढाउने, सामाजिक उत्तरदायित्व वहन गर्ने तथा समुदायको समग्र विकासमा सक्रिय भूमिका खेल्ने आफ्नो प्राथमिकता रहने बताए। उनले वालिङ जेसिजलाई अझ सक्रिय, समावेशी र प्रभावकारी संस्था बनाउने लक्ष्यका साथ शिक्षा, उद्यमशीलता, सामाजिक सेवा र युवा सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।

प्रतिक्रिया