कार्यसम्पादनमा कालीगण्डकी पहिलो, वालिङ दोस्रोे

वालिङ ।
स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाका पालिकाहरुमा कालीगण्डकी गाउँपालिका प्रथम भएको छ । ११ पालिका रहेको स्याङ्जामा प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मुल्याङकनमा जिल्लाभर कालीगण्डकी प्रथम हुन सफल भएको हो ।

आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार कालीगण्डकी गाउँपालिकाले ७८.१९ प्रतिशत अंक ल्याएको छ । दोस्रोमा वालिङ नगरपालिका र तेस्रोमा फेदिखोला गाउँपालिका बनेका छन् । क्रमश वालिङले ७६.३३ र फेदिखोलाले ७६.०२ प्रतिशत अंक ल्याएका छन् । कार्यसम्पादनमा राम्रो नतिजा ल्याउने गरेको वालिङ पछिल्लो समय खस्कदै गएको छ । यो पटक भने कर्मचारीहरुको अथक प्रयासले दोस्रो हुन सफल भएको छ । त्यसैगरी पुतलीबजार नगरपालिकाले ७५.३१, बिरुवा गाउँपालिकाले ७४.६८, आँधीखोला गाउँपालिकाले ७२.८३, अर्जुनचौपारी गाउँपालिकाले ६९.६९ प्रतिशत अंक ल्याएका छन् ।

यसैगरी भीरकोट नगरपालिकाले ६७.२१, गल्याङ नगरपालिकाले ६१.६६, चापाकोट नगरपालिकाले ५१.७० र हरिनास गाउँपालिकाले ४९.२० प्रतिशत अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नतिजामा छ । आयोगले सार्वजनिक गरेको नतिजामा हरिनास गाउँपालिका अधिकांश जिल्लामै कमजोर हुदै आउको देखिन्छ । गतबर्ष देशभर उत्कृष्ट नतिजा दिन सफल भएको अर्जुनचौपारी गाउँपालिका यो पटकको नतिजामा सातौ स्थानमा रहेको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा १०० पूर्णांक राखेर मूल्यांकन गर्ने गर्छ । जसमा १० असारभित्र बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पारित गरे÷नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम पुस मसान्तभित्र प्रदेश सन्चित कोषमा जम्मा गरे नगरेको, आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेटको वर्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको उल्लेख छ ।

 

प्रतिक्रिया