रातिको समयमा सिद्धार्थ राजमार्गमा दम्पतीमाथि कुटपिट, पाँच जना पक्राउ
स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोला स्थित सिद्धार्थ राजमार्गमा रातिको समयमा स्कूटरमा सवार एक दम्पतीमाथि कुटपिट भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई माघ २४ गते नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार माघ २३ गते राति करिब १० बजे पुतलीबजार नगरपालिका–११ निवासी ४० वर्षीय पृथ्वीराज अर्याल र उनकी ४० वर्षीया श्रीमती संजिता नेपाल अर्याल ग २४ प ५१०१ नम्बरको स्कूटरमा सवार भई घरतर्फ जाँदै थिए । सोही क्रममा पुतलीबजार–१० सुम्रेखोला क्षेत्रमा अज्ञात समूहले बाटोमै स्कूटर रोकी उनीहरूमाथि कुटपिट गरेको थियो । अचानक आक्रमण भएपछि दम्पती दुवै जना घाइते भएका थिए । कुटपिटपछि आक्रमणकारीहरू घटनास्थलबाट फरार भएका थिए ।
घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले तत्काल खोजतलास सुरु गरेको थियो । आसपासका क्षेत्रमा सोधपुछ, सीसीटीभी फुटेजको अध्ययन तथा स्थानीयको सहयोगका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । निरन्तरको खोजतलासपछि घटनामा संलग्न व्यक्तिहरूलाई माघ २४ गते नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । पक्राउ परेकामध्ये पुतलीबजार नगरपालिका–१० सुम्रेखोला ओडारे बस्ने २८ वर्षीय ‘हाकु काले’ भनिने विनोद बहादुर अर्याल, ३० वर्षीय प्रविन राना, आरुपाटा बस्ने २५ वर्षीय रोहित गुरुङ, २७ वर्षीय अनुप राना तथा कान्छीबजार बस्ने २३ वर्षीय चेतनाथ अधिकारी (महेश) रहेका छन् । उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले घटनास्थलबाट उनीहरूले प्रयोग गरेको ग ५ प १९१ र ग १० प ४७१३ नम्बरका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । ती मोटरसाइकल घटनामा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । कुटपिटबाट घाइते भएका दम्पतीको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको र हाल उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । पीडित पक्षले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको र घटनासँग सम्बन्धित अन्य पक्ष तथा सम्भावित संलग्न व्यक्तिहरूको खोजी पनि जारी रहेको उनले बताए । रातिको समयमा राजमार्गमा यस प्रकारको हिंसात्मक घटना भएपछि स्थानीयवासीले सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् । स्थानीयले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रहरी गस्ती बढाउन र दोषीलाई कडा सजाय दिन माग गरेका छन् । प्रहरीले भने शान्ति–सुरक्षा कायम राख्न थप सतर्कता अपनाइएको र राजमार्ग तथा आसपासका क्षेत्रमा निगरानी बढाइएको जनाएको छ ।


प्रतिक्रिया