गल्याङको नरोदय मावि सहयोगको प्रतिक्षामा
क्रान्ति अर्याल,
गल्याङ ।
असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढी पहिरोले क्षति पु¥याएपछि स्याङ्जाको गल्याङ नगरपालिका ६ पिडिखोला स्थित नरोदय माध्यमिक विद्यालय अहिले चुनौतीको सामना गरिरहेको छ । विद्यालय परिसर क्षतिग्रस्त छ । खेलमैदान कटान भएको छ, शौचालय र खानेपानीको समस्या छ तर विद्यार्थीको पढाइ रोक्न नपरोस् भन्ने उद्देश्यले विद्यालयले पुनः सञ्चालनको तयारी थालेको छ ।
हाल वर्खे बिदा रहेका कारण विद्यालय बन्द छ । आगामी साउन २५ गतेदेखि भने जोखिमकै बीच वैकल्पिक व्यवस्था सहित कक्षा सञ्चालन गर्ने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले जानकारी दिए । कक्षा १२ सम्म सञ्चालन हुने यस विद्यालयमा १ सय २१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
गत असार २८ र २९ गते आएको बाढी पहिरोले विद्यालयको शौचालय पूर्ण रूपमा क्षति पु¥याएको छ भने खानेपानीको व्यवस्था अवरुद्ध भएको छ । खोलाको कटानले खेलमैदानको एक भागमा करिब पाँच मिटर अग्लो भिर बनेपछि विद्यार्थीको सुरक्षामा थप चुनौती थपिएको छ । तत्कालका लागि बाँसको अस्थायी छेकबार लगाएर जोखिम न्यूनीकरणको प्रयास गर्ने पौडेलले बताए ।
विद्यालय सहित प्रभावित क्षेत्रको अवस्था बुझ्न गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल सहितको टोली, गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराई, प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, सुरक्षा निकायका प्रमुख, प्राविधिक टोली तथा भू–संरक्षण कार्यालयका कर्मचारीले स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा विद्यालय संरक्षण, क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा भविष्यमा हुने जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो । नगरप्रमुख गुरु प्रसाद भट्टराईले डुडे बजार क्षेत्रको भौतिक व्यवस्थापनका लागि आर्थिक वर्ष २०८३÷०८४ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिने जानकारी दिँदै प्रभावित क्षेत्रको संरक्षण र पुनःस्थापनाका काम सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढाइने बताए ।
वडा अध्यक्ष दीप गुरुङले विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै यसपटकको पहिरो विगतभन्दा फरक प्रकृतिको रहेकाले विद्यालय र आसपासको क्षेत्रको वैज्ञानिक अध्ययन गरी दीर्घकालीन संरक्षणका उपाय आवश्यक रहेको बताए । विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले वर्खे बिदापछि साउन २५ गतेदेखि वैकल्पिक व्यवस्थासहित पठनपाठन सुरु गरिने जानकारी दिँदै तत्काल सुरक्षित शौचालय, खानेपानी र जोखिम नियन्त्रणका लागि आवश्यक सहयोगको माग गरेका छन् । खोलाको किनारमै विद्यालय भएकाले जोखिम मोल्न बाध्य भएको अनुगमन टोलीले जनाएको छ ।
यता गण्डकी प्रदेश सरकारका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले विद्यालयलाई आगामी दिनमा बाढी पहिरोबाट सुरक्षित बनाउन प्रदेश सरकारसगँ पहलकदमी चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसको बिषयमा सदन र सरकारसगँ समस्या निदानका कुरामा आफ्नो जोड रहने अर्यालले बताए ।


प्रतिक्रिया