तराईका पछिल्ला घटनाबीच स्याङ्जामा सामाजिक सदभाव र्याली
स्याङ्जा ।
देशका विभिन्न तराई क्षेत्रहरूमा पछिल्ला दिनमा देखिएको विषम परिस्थितिका बीच सामाजिक तथा धार्मिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उद्देश्यले स्याङ्जामा सामाजिक सद्भाव र्याली सम्पन्न गरिएको छ। लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा र स्याङ्जा टेलिभिजनको संयुक्त आयोजनामा सम्पन्न र्याली पुस्तकालय परिसरबाट सुरु भई स्याङ्जा बजार परिक्रमा गर्दै शहीद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, पारस्परिक सम्मान तथा राष्ट्रिय एकताको पक्षमा विभिन्न सन्देशमूलक नाराहरू समेत प्रदर्शन गरेका थिए।
कोणसभालाई सम्बोधन गर्दै आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष विश्वराज मरासिनीले नेपाली समाजको बलियो आधार नै सामाजिक तथा धार्मिक सहिष्णुता रहेको उल्लेख गर्दै सबै समुदायबीच आपसी विश्वास र सम्मान कायम राख्नु आजको आवश्यकता भएको बताए। उनले कुनै पनि प्रकारका विभाजनकारी गतिविधिले समाजमा नकारात्मक असर पार्ने भएकाले सबै नागरिकले संयमता अपनाउँदै सामाजिक एकतालाई थप मजबुत बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए। “हाम्रो समाजको पहिचान विविधताबीचको एकता हो,” उनले भने, “धर्म, संस्कृति, भाषा र समुदाय फरक भए पनि सबै नेपालीबीच आपसी सद्भाव, सम्मान र सहअस्तित्वको भावना अझ सुदृढ हुन आवश्यक छ।”
संस्थाका कोषाध्यक्ष चन्द्रमणि पौडेलले सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारी कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताए। उनले समाजमा शान्ति, सहिष्णुता र एकताको वातावरण कायम राख्न सबैले जिम्मेवार र सचेत भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । त्यसैगरी प्रमुख व्यवस्थापक एकबहादुर गोदारले समाजमा एकता र विश्वासको वातावरण कायम राख्न नागरिकको सकारात्मक सोच र व्यवहार अपरिहार्य रहेको बताए। उनले पछिल्ला घटनाक्रमबाट उत्पन्न हुन सक्ने भ्रम, अविश्वास तथा विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। “सामाजिक सद्भाव र राष्ट्रिय एकता सबैको साझा दायित्व हो,” उनले भने, “हामी सबैले आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सके मात्रै समाजमा स्थायी शान्ति र सहअस्तित्व कायम रहन्छ।”
कार्यक्रममा पत्रकार, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले विविधतायुक्त नेपाली समाजमा धार्मिक तथा सामाजिक सहिष्णुताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै पक्षले संयमता, जिम्मेवारी र सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए। आयोजकका अनुसार पछिल्ला घटनाक्रमका कारण समाजमा देखा पर्न सक्ने विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो। साथै, सामाजिक सद्भाव कायम राख्न स्थानीय तह, सञ्चारमाध्यम, नागरिक समाज तथा आम नागरिकबीच समन्वय र सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा पनि जोड दिइएको थियो।
आयोजक संस्थाहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विविध समुदायबीच विश्वास, सहकार्य र भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नेपालको लोकतान्त्रिक तथा बहुसांस्कृतिक समाजको महत्वपूर्ण आधार भएकाले यसलाई जोगाउन सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।


प्रतिक्रिया