अमरज्योति स्कुललाई रोटरीको २५ लाख सहयोग
स्याङ्जा ।
अर्जुनचौपारी गाउँपालिका वडा नं. २ लामडाँडास्थित श्री अमरज्योति माध्यामिक विद्यालयमा अपाङ्गमैत्री तथा छात्रामैत्री युरोपियन ढाँचाको अत्याधुनिक शौचालय निर्माण गर्न ‘रोटरी क्लब द हिमालयन गोर्खाज’ ले २५ लाख रुपैयाँ सहयोग गरेको छ । छात्रछात्रा तथा अपाङ्गता भएका विद्यार्थीबीच समानता कायम गर्दै विद्यालयको पठनपाठन गतिविधिमा सुधार ल्याउने उद्देश्यले उक्त ढाँचामा शौचालय निर्माणमा सहयोग गरिएको हो । सम्झौतामा रोटरी क्लबका निवर्तमान अध्यक्ष श्रीप्रसाद गुरुङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर गुरुङले हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि क्लबका निवर्तमान अध्यक्ष गुरुङले शौचालय तोकिएको डिजाइन र वातावरणमैत्री ढाँचामा समयमीमाभित्रै तयार हुनुपर्ने बताए । यस्तै, पूर्वअध्यक्ष सत्तबहादुर गुरुङले रोटरी क्लबको स्थापना र उसले गर्दै आएका कामको विषयमा चर्चा गर्दै यसअघि पनि जिल्लाका विभिन्न ठाउँमा यसखालका शौचालय निर्माणमा सहयोग पु¥याएको बताए ।
सहयोग उपलब्ध गराउने विषयमा विद्यालय व्यवस्थापन समिति र रोटरी क्लबबीच सम्झौता गरिएको छ । रोटरी क्लबको निर्देशन तथा डिजाइनमा ६ महिनाभित्र निर्माण पूरा गर्ने गरी रोटरी क्लबले पहिलो किस्ताको १० लाख रुपैयाँ समेत उपलब्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर गुरुङको अध्यक्षतामा असोज २ गते बसेको विशेष बैठकले शौचालय निर्माण योजना कार्य सञ्चालन तथा सम्झौतासम्बन्धी सर्वसम्मत निर्णय गरेको जनाइएको छ ।
सम्झौता सम्बन्धी कार्यक्रममा क्लबका पूर्वउपाध्यक्ष लोकबहादुर गुरुङसहित अर्जुनचौपारी वडा नं. २ का वडाध्यक्ष धनबहादुर गुरुङ, पूर्व वडाअध्यक्ष क्या. लालबहादुर गुरुङ, वडा सदस्य रामचन्द्र रोका, शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गबहादुर गुरुङ, पूर्व वि.व्य.स. अध्यक्षद्वय गंगाबहादुर गुरुङ र खड्कबहादुर गुरुङ, वि.व्य.स. सदस्य छबिलाल गुरुङ, दिग्दर्शन युवा क्लबका अध्यक्ष घुमराज गुरुङ तथा पूर्व टोल संयोजक टेकबहादुर गुरुङको उपस्थिति रहेको थियो ।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक सुदर्शन पौडेल, सहायक प्रधानाध्यापक नविनकुमार जि.टी., सूचना अधिकारी÷लेखा शिक्षक गंगाबहादुर गुरुङ, गाउँपालिकाका खानेपानी तथा सरसफाइ प्राविधिक दिपेन्द्र खत्री र असिस्टेन्ट सब–इन्जिनियर गोपाल बुढाथोकीको पनि सहभागिता थियो । यो योजना सम्झौता भएसँगै यथाशीघ्र निर्माण कार्य अगाडि बढाइने विद्यालय प्रशासनले जनाएको छ । आधुनिक शौचालय निर्माण भएपछि विद्यालयका छात्रा तथा अपाङ्गता भएका विद्यार्थीहरूलाई ठूलो सहजता मिल्ने विश्वास लिइएको छ ।


प्रतिक्रिया