वालिङ नगर अस्पताललाई हरित बनाउने अभियान सुरु
वालिङ ।
स्याङ्जाको वालिङस्थित निर्माणाधीन वालिङ नगर अस्पताल परिसरमा रोटरी क्लब अफ वालिङको आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल परिसरलाई हराभरा, स्वच्छ र रमणीय बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न जातका बिरुवाहरू रोपिएका छन्। रोटरी क्लब अफ वालिङका अध्यक्ष उदयबहादुर पौडेलका अनुसार अस्पताल परिसरको वातावरणीय सौन्दर्य वृद्धि गर्नुका साथै स्वच्छ र हरित वातावरण निर्माण गर्ने लक्ष्यका साथ वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। उनले वृक्षारोपणले अस्पताल परिसरलाई वातावरणमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको उद्घाटन वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणलाई क्लबका अध्यक्ष पौडेलले बिरुवा हस्तान्तरण गरेपछि संयुक्त रूपमा बिरुवा रोपेर गरिएको थियो। उद्घाटनपछि सहभागीहरूले अस्पताल परिसरका विभिन्न स्थानमा बिरुवा रोपेका थिए। रोटरी क्लब अफ वालिङकी पूर्वअध्यक्ष सीता डुम्रेले वृक्षारोपण कार्यक्रममा फलफूल, छायाँ तथा वातावरण संरक्षणमा उपयोगी विभिन्न जातका बिरुवाहरू रोपिएको जानकारी दिइन्। रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहमा समेत क्लबले विशेष ध्यान दिने उनले बताइन्।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणसहित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। साथै सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीय सामाजिक अभियन्ताहरूको समेत सक्रिय उपस्थिति रहेको थियो । सहभागीहरूले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र दीर्घकालीन व्यवस्थापनमा सबैको साझा जिम्मेवारी रहने धारणा व्यक्त गरेका थिए। उनीहरूले हरित वातावरण, स्वच्छ अस्पताल परिसर र स्वस्थ समाज निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
रोटरी क्लब अफ वालिङले आगामी दिनमा पनि वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा समुदायको हितमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ। अस्पताल परिसरमा गरिएको वृक्षारोपणले भविष्यमा बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई स्वच्छ, शीतल र हरियालीयुक्त वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया