स्याङ्जाले उठायो— संघ र प्रदेशलाई झण्डै ८५ करोड राजस्व

वालिङ/
आर्थिक बर्ष २०८२÷०८३ मा स्याङ्जाका सरकारी कार्यालयले संघ र प्रदेश सरकारलाई झण्डै ८५ करोड राजस्व संकलन गरेका छन् । विभिन्न बिषयमा नागरिकबाट सरकारी कार्यालयले संघ र प्रदेश सरकारलाई ८४ करोड ८३ लाख ७८ हजार ७ सय ६८ रुपैयाँ राजस्व संकलन गरेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको विवरण अनुसार संघिय सरकारलाई ५६ करोड ५९ लाख ३ हजार ६३ रुपैयाँ र प्रदेश सरकारलाई २८ करोड २४ लाख ७५ हजार ७ सय ५ रुपैयाँ राजस्व संकलन भएको हो । संघिय सरकारका मातहतका सरकारी कार्यालय र प्रदेश सरकार महातहतका सरकारी निकायले आर्थिक बर्ष २०८२÷०८३ का लागि राजस्व संकलन गरेका हुन् । तुलानात्मक रुपमा आर्थिक बर्ष २०८१÷०८२ भन्दा यो आर्थिक बर्षमा राजस्व केही घटेको अनुमान कोलेनिकाले लगाएको छ ।

संघिय सरकारलाई सबैभन्दा बढी कर पठाउनेमा करदाता कार्यालय देखिएको छ । कोलेनिकाले दिएको विवरण अनुसार करदाता कार्यालय स्याङ्जाले १९ करोड २४ लाख ३४ हजार ४ सय ६३ रुपैयाँ संकलन गरेको थियो । सरकारको निर्णयले करदाता कार्यालय हटाउने निर्णय गरेपछि माघबाट कोलेनिकाले करदाता कार्यालयको काम कारवाही गर्दै आएको छ । करदाता कार्यालयको काम कारवाही पनि सम्हालेको कोलेनिकाले १७ करोड ११ लाख ९० हजार ९ सय २९ रुपैयाँ राजस्व संकलन गरेको विवरणमा उल्लेख छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २ करोड ८६ लाख ६९हजार ९ सय २४ र इलाका प्रशासन कार्यालय वालिङले २ करोड ६० लाख ९१ हजार ३ रुपैयाँ राजस्व संकलन गरेका छन् । दुई प्रशासन निकायले राहदानी, हातहतियार नविकरण लगायतका बिषयमा राजस्व संकलन गरेका थिए । झण्डै ६ करोड राजस्व राहदानीबाट संकलन गरेको अनुमान गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १ करोड १५ लाख ७० हजार २० रुपैयाँ राजस्व संकलन गरेको छ र सबैभन्दा धेरै ट्राफिक प्रहरीले सवारीसाधन जरिवानाबाट राजस्व संकलन भएको छ । सबैभन्दा थोरै वडा प्रहरी कार्यालय वालिङले संघिय सरकारलाई राजस्व पठाएको छ । वालिङले ३० हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको कोलेनिकाले जनाएको छ । संघिय सरकारलाई २९ सरकारी कार्यालयले राजस्व संकलन गरेर पठाएका छन् । जसमध्ये १० स्थानीय तहपनि रहेका छन् । हरिनास गाउँपालिकाले भने राजस्व जम्मा नगरेको देखिएको छ ।

यता गण्डकी प्रदेश सरकारलाई स्याङ्जाबाट २८ करोड २४ लाख ७५ हजार ७ सय ५ रुपैयाँ संकलन गरेको छ । प्रदेश सरकारलाई सबैभन्दा धेरै पुर्वाधार कार्यालय स्याङ्जाले राजस्व पठाएको छ । पुर्वाधार कार्यालयले ११ करोड ३९लाख ४१ हजार ४ सय ७८ रुपैयाँ संकलन गरेको छ । सवारी साधन नविकरण सगै पुर्वाधारको काम गर्ने भएका कारण यो कार्यालयले धेरै राजस्व संकलन गर्न सफल भएको हो । यसैगरी मालपोत कार्यालय स्याङ्जाले २ करोड ४६ लाख ५१ हजार ३ सय ५ र वालिङले २ करोड ७१ लाख ९३ हजार ५ सय ७७ रुपैयाँ राजस्व संकलन गरेको छ । मालपोत कार्यालय वालिङले स्याङ्जाको तुलनामा बढी राजस्व संकलन गर्न सफल भएको कोलेनिकाको विवरणमा उल्लेख छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाका निमित्त प्रमुख बिष्णु प्रकाश श्रेष्ठले राजस्व गत बर्षको अनुपातमा केही घटेको हुनसक्ने बताए । मुल्य अभिबृद्धि कर (भ्याट) बुझाउन अधिकांश नागरिक पोखरा जाने भएकाले राजस्व संकलनमा केही कमी आएको बताए । प्रदेश सरकारलाई २६ सरकारी कार्यालयले राजस्व संकलन गर्ने गरेका छन् । जसमध्ये ४ ओटा स्थानीय सरकारले पनि प्रदेश सरकारलाई राजस्व संकलन गरी पठाएको छ । पुतलीबजार, वालिङ नगरपालिका र बिरुवा, हरिनास गाउँपालिकाले मात्रै प्रदेश सरकारलाई राजस्व पठाएका छन् ।

प्रतिक्रिया