अनुमतिबिना बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

भीरकोट ।

स्याङ्जाको भीरकोट नगरपालिका–१, हेलुस्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले अवैध रूपमा बालुवा ओसारपसार गर्दै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ग १ त ७०८३ नम्बरको ट्याक्टरले आवश्यक अनुमति तथा प्रक्रिया पूरा नगरी बालुवा ओसारपसार गरिरहेको फेला पारेको हो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको पाइएपछि ट्याक्टरलाई नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको थियो। नगरपालिकाले घटनामाथि कारबाही गर्दै ट्याक्टर धनीलाई १० हजार जरिवाना गरेको छ। जरिवाना असुल गरेपछि ट्याक्टर छाडिएको प्रहरीले जनाएको छ।

स्थानीय तहले नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसारलाई नियमन गर्दै आएको भए पनि विभिन्न स्थानबाट अनुमति नलिई बालुवा, गिट्टीलगायत नदीजन्य पदार्थ ओसारपसार हुने गरेको पाइन्छ। प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न नियमित रूपमा सवारीसाधन चेकजाँच गर्दै आएको जनाएको छ।

प्रतिक्रिया