स्याङ्जाको छाङछाङदीमा महाशिवरात्रीको तयारी पूरा
अमृत अर्याल,
भीरकोट ।
स्याङ्जाकै प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र शिवमन्दिरमा शिवरात्री मेलाको आयोजना गरिएको छ । छाङछाङदी छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको छ । समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताएका हुन् । उनले महाशिवरात्रीका दिन भक्तजनलाई पूजा आराधनाको लागि बिहान ३ बजेदेखि नै खुला गर्ने बताए । उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको बताए । पर्वलाई व्यवस्थित बनाउन सिद्धार्थ राजमार्गदेखि मन्दिरसम्मको क्षेत्रमा नेपाल प्रहरी र स्थानीय स्वयंसेवक परिचालन गरिनेछ । मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी मन्दिरभित्र भीड व्यवस्थापनको लागि नेपाल प्रहरीको विशेष सहयोग हुनेछ । मन्दिर परिसरमा आवश्यकता अनुशार स्वयंसेवकहरु रहनेछन् ।
त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागि सिद्धार्थ राजमार्गसँगै जोडिएको २ स्थानमा व्यवस्थापन गरिएको छ । समितिले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ । समितिले यस पटकको महाशिवरात्रीमा करिव २० हजार दर्शनार्थीले छायाँक्षेत्रको दर्शन गर्ने अभिलाषा राखेको छ । यही फाल्गुन ३ गते महाशिवरात्रिका अवसरमा शिवरात्रि मेलाको आयोजना गरिएको हो । मेला सम्पन्न गर्न छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ ।
शिवरात्रि पर्वलाई भव्य रुपमा मनाउनका लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । मुल आयोजक समिति तथा विभिन्न उपसमितिहरुले आ–आफ्ना क्षेत्रका तयारीहरुलाई तिव्र पारेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिर परिसरमा सरसफाई, रंगरोगन, ध्वजापतकालगायतका कार्य पुरा गरी मन्दिरलाई दुलही झैँ श्रृंगारिएको छ । मन्दिरमा छिटो स्नान गर्नेका लागी दु्रत मार्गको समेत व्यवस्था गरिएको छ । दु्रत मार्ग मार्फत मन्दिरमा स्नान गर्नका लागी १ सय शुल्क तोकिएको छ भने बृद्धबृद्धा असक्तलाई भने दु्रत मार्गमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।


प्रतिक्रिया