अवैध रूपमा ल्याइएका पटका बरामद

वालिङ ।

अवैध रूपमा जिल्ला भित्र्याइएको पटका स्याङ्जा प्रहरीले बरामद गरेको छ। स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ। अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले रातिको समयमा नियमित सवारी चेकजाँचका क्रममा असोज २३ गते बुटवलबाट वालिङतर्फ आउँदै गरेको बीएए ७७०४ नम्बरको स्कर्पियो जीपमा लुकाइ–छिपाइ ल्याइएका पटका फेला पारेको हो। प्रहरीले चाडपर्व लक्षित चेकजाँचमा कडाई गरेपनि अवैध रूपमा पटका ओसारपसार र बेचबिखन भैरहेको पाइएको छ। कहिले राम्दी चेकपोस्टमा त कहिले स्याङ्जा सदरमुकाम पुतलीबजारमा प्रहरीले पटका बरामद गरेको छ। स्याङ्जा प्रहरीले एक हप्ताको अवधिमा तीन पटक ठूलो परिमाणमा पटका बरामद गरि नष्ट गरेको जनाएको छ। प्रहरीले एक हप्तामा २ हजार ८ प्याकेट पटका बरामद गरेर नष्ट गरेको हो।

प्रहरीले असोज २६ गते दिउँसो सदरमुकाममा बेचबिखन भैरहेको ४९ प्याकेट पटका बरामद गरेको थियो। पुतलीबजार नगरपालिका वडा नं १ ट्राफिक चोक बस्ने २४ वर्षीय सजिता खातुनको घरबाट उक्त पटका बरामद गरिएको थियो। यस्तै २७ गते सोमबार राम्दीमै चेकजाँचका क्रममा ९ सय ३१ प्याकेट पटका बरामद गरिएको छ। बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ३३६ नम्बरको ट्रकमा लुकाइछीपाई ल्याइएको ट्रकी इलेक्ट्रीक क्र्याकर्स ९ सय ५ प्याकेट, ग्राउन्ड चक्कर ६ प्याकेट र लुम्बा बुलेट २० प्याकेट गरि ९ सय ३१ प्याकेट पटका बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार रकेट बम चार प्याकेट, कमाण्डो ग्रीर बम एक प्याकेट, कलर कोटि दुई प्याकेट, ग्राउन्ड चक्कर ११ प्याकेट, मिनि बुलेट ७५ प्याकेट, माइट्टी एटम पाँच प्याकेट, हाइड्रोफोल्ड पचास प्याकेट, शिखा कलर तीस प्याकेट र चोइसा क्र्याकर्स ८ सय ५० प्याकेट पटका बरामद भएका थिए । बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, पत्रकार तथा भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । तिहारलाई लक्षित गरी यस किसिमका विस्फोटक वस्तुहरूको अवैध ओसारपसार बढ्ने भएकाले प्रहरी सचेत रहँदै कडा निगरानीमा रहेको जनाएको छ ।

प्रतिक्रिया