स्याङ्जा प्रशासनले भन्यो :-‘कैदीबन्दी लुकाउनेलाई कडा कारवाही हुन्छ’

स्याङ्जा ।
भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुलाई फर्कन आग्रह गरिएको छ । कारागार विभागले पटक—पटक सार्वजनिक सूचना जारी गरी पुन कारागार फर्कन फरार रहेका कैदीबन्दीहरुलाई आग्रह गर्दै आएको छ । यसै बिषयलाई अनुसरण गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पनि सार्वजनिक सूचना जारी गरी फरार रहेका कैदीबन्दीहरुलाई कारगार पठाउन सहयोग गर्न आग्रह गरेको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदीबन्दीका बिषयमा कोही कसैलाई जानकारी भएमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय स्याङ्जा लगायतका सुरक्षा निकायमा खबर गरिदिन प्रशासनले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।

जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा कोही कसैले फरार कैदीबन्दी÷बालबन्दीलाई लुकाउने, छिपाउने र आश्रय दिने काम गरेमा उक्त व्याक्ति समेत कसुरदार ठहर हुने उल्लेख गरेको छ । कैदीबन्दी लुकाउने, छिपाउने र आश्रय दिने काम गरेको फेला परेमा कारागार ऐन २०७९ अनुसार कसुरदार ठहर हुने प्रशासनले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । कारागार फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने र छिपाउने क्रियाकलापमा संलग्न भएको पाइएमा कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ ।

यता विभिन्न जिल्लाका कारगारबाट फरार रहेका कैदीबन्दीहरुको नामावली समेत सार्वजनिक गरिएको छ । कास्की कारगारबाट विभिन्न मुद्धामा जेल चलान भएका फरार कैदीबन्दीहरुको नामावली सार्वजनिक गरिएको छ । कास्की कारागारले सार्वजनिक गरेको फरार कैदीबन्दीको २३४ जना रहेको उल्लेख गरेको छ । उक्त विवरण अनुसार कास्की कारागारबाट फरार हुने स्याङ्जाका १६ कैदीबन्दी रहेको जनाएको छ । जेनजीको आन्दोलनको फाइदा उठाउदै फरार रहेको सुचीमा स्याङ्जा आँधीखोला गाउँपालिका १ का गोविन्द भन्ने फुन नारायण अधिकारी रहेका छन् । अधिकारी कर्तव्य ज्यान मुद्धामा जेल चलान भएका थिए । यसैगरी जवरजस्ती करणीको अभियोगमा अर्जुनचौपारी ४ का अमरबहादुर दमै, हाडनाता करणीको अभियोगमा भीरकोट ११ का हिराबहादुर, बैकिङ् कसुरको अभियोगमा पुतलीबजार १३ का ताराबहादुर गिरी फरार रहेको सुचीमा छन् ।

यसैगरी सवारी ज्यान मुद्धामा हरिनास गाउँपालिका १ का निर्मल गुरुङ, चोरी मुद्धामा भीरकोट २ का इश्वर श्रेष्ठ, हाडनाता करणीको अभियोगमा भीरकोट ३ का सोभित बहादुर सार्की, जवरजस्ती करणीको अभियोगमा बिरुवा गाउँपालिका ५ का श्रीराम पोख्रेल, जवरजस्ती करणीको अभियोगमा फेदिखोला गाउँपालिका ३ का गंगाबहादुर साकी, पुतलीबजार १ का विश्वास नेपाली, कालीगण्डकी गाउँपालिका ६ का नाम परिवर्तित तोला सुनार पनि कारागारले सार्वजनिक गरेको सुचनामा फारारको सुचिमा रहेका छन् । लागुऔषध अभियोग मुद्धामा भीरकोट ९ का अनिल गुरुङ, सहकारी ऐन कसुरमा बिरुवा गाउँपालिका ८ का राजन लम्साल, लागुऔषध अभियोग मुद्धामा बिरुवा गाउँपालिका २ का राम भन्ने अणबहादुर थापा, पुतलीबजार १ का मिना नेपाली र बैकिङ् कसुर मुद्धामा पुतलीबजार ४ मिना दमै फरार सुचीमा रहेका छन् ।

कास्की कारागारबाट २३४ फरार कैदीबन्दी मध्ये बिदेशी नागरिक १३ रहेका छन् । ११ जना भारतीय र २ जना चिनका नागरिकहरु रहेको कारागार व्यवस्थापन शाखा कास्कीले जनाएको छ । अधिकांश फरार रहेका कैदीबन्दीहरु कर्तव्य ज्यान, जवरजस्ती करणी, लागुऔषध, बैकिङ् कसुर, सहकारी ऐन कसुर, डाँका चोरी, चेक अनादार, बालवालिका, सवारी अंगभग, अप्राकृतिक मैथुन, अभद्र व्यवहार, ठगी, मानव बेचबिखन र जवरजस्ती करणी अभियोग मुद्धाका रहेका छन् ।

प्रतिक्रिया