फागुन २१ को निर्वाचन: स्याङ्जामा प्रशासनिक र सुरक्षा तयारी सम्पन्न
स्याङ्जा ।
यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री स्याङ्जा जिल्लामा आइपुगेको छ। निर्वाचन आयोगले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालन गर्न आवश्यक मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावलीलगायत ५१ प्रकारका सामग्री पठाएको हो। निर्वाचनको मिति नजिकिँदै गर्दा सामग्री समयमै आइपुगेसँगै जिल्लामा निर्वाचन तयारीले तीव्रता पाएको छ। जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला निर्वाचन अधिकृत श्रीराम थापाका अनुसार सामग्री प्राप्त भएसँगै त्यसको सुरक्षित भण्डारण, वर्गीकरण तथा वितरणको कामलाई तीव्र पारिएको छ। उनले भने, “अब मतदान केन्द्रसम्म सामग्री पुर्याउने तयारी अन्तिम चरणमा पुगेको छ”। उनका अनुसार प्रत्येक मतदान केन्द्रमा आवश्यक सामग्री समयमै र सुरक्षित रूपमा पुर्याउने गरी कार्ययोजना बनाइएको छ। दुर्गम तथा सडक पहुँच कमजोर भएका क्षेत्रका लागि विशेष यातायात तथा सुरक्षा व्यवस्थासमेत मिलाइएको कार्यालयले जनाएको छ।
स्याङ्जा जिल्लाभर १ सय ९९ मतदान स्थल र ३ सय २२ मतदान केन्द्र तोकिएका छन्। अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष दुई वटा मतदान केन्द्र थपिएको प्रमुख थापाले जानकारी दिए। मतदाताको संख्या वृद्धि, भौगोलिक सहजता र मतदान केन्द्रसम्मको पहुँचलाई ध्यानमा राखी केन्द्र थप गरिएको जनाइएको छ। निर्वाचन कार्यालयका अनुसार मतदातालाई सहज, सुरक्षित र छिटो मतदान गर्ने वातावरण सिर्जना गर्न केन्द्र संख्या बढाइएको हो। निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन मतदान केन्द्रहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको छ। ३ सय २२ केन्द्रमध्ये ५६ वटा केन्द्रलाई अति संवेदनशील, ७१ वटालाई संवेदनशील र ७२ वटालाई सामान्य श्रेणीमा राखिएको छ। विगतका निर्वाचनका गतिविधि, भौगोलिक अवस्था, सडक पहुँच, सञ्चार सुविधा तथा पूर्वाधारको स्थितिलाई आधार मानेर वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार अति संवेदनशील र संवेदनशील केन्द्रहरूमा विशेष निगरानी र अतिरिक्त सुरक्षा व्यवस्था गरिनेछ। “निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। शान्ति सुरक्षामा कुनै कमजोरी हुन दिइने छैन,” प्रमुख जिल्ला अधिकारी अर्यालले स्पष्ट पारे। मतदानको दिन कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायबीच समन्वयात्मक योजना बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार अति संवेदनशील र संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा बल परिचालन गरिनेछ। मतदान सामग्री ओसारपसारदेखि मतदान सम्पन्न भई मतपेटिका संकलनसम्म सुरक्षा घेरा कडा पारिने उनले बताए। सुरक्षा निकायले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी नियमित गस्ती, निगरानी तथा सूचनाको आदानप्रदानलाई प्रभावकारी बनाएको जनाएको छ। यसैबीच, मतदान स्थलहरूमा आवश्यक मर्मत, खानेपानी व्यवस्थापन, शौचालय सरसफाइ तथा तारबारको काम सम्बन्धित वडाध्यक्षमार्फत भइरहेको प्रशासनले जनाएको छ। मतदान केन्द्र अपांगमैत्री र ज्येष्ठ नागरिकमैत्री बनाउने प्रयाससमेत भइरहेको बताइएको छ। कतिपय विद्यालय तथा सार्वजनिक भवनमा स्थापना गरिएका मतदान केन्द्रहरूमा अस्थायी संरचना निर्माण, बस्ने व्यवस्था र छायाँको प्रबन्ध मिलाइएको छ। विशेष रूपमा जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीका लागि एक अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ। कानुनी प्रावधानअनुसार मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न उक्त व्यवस्था गरिएको हो। यसबाट कारागारभित्र रहेका योग्य मतदाताले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।
स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरू यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने क्षेत्र नम्बर २ मा दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। राजनीतिक दलहरूले घरदैलो कार्यक्रम, कोणसभा तथा भेटघाट कार्यक्रममार्फत मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्। जिल्लाभर कुल २ लाख ४८ हजार ८ सय १६ मतदाता रहेका छन्। तीमध्ये १ लाख २२ हजार ४ सय ६४ जना पुरुष र १ लाख २६ हजार ३ सय ५१ जना महिला मतदाता रहेका छन्। यसका अतिरिक्त अन्य समूह अन्तर्गत एक जना मतदाता पनि नामावलीमा समावेश छन्। कुल मतदातामध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८ सय ८६ जना मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख १७ हजार ९ सय ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा प्रशासनले शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा मतदान सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षलाई आग्रह गरेको छ। आचारसंहिता उल्लंघनका घटनामा कडा निगरानी गरिने र आवश्यक कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ। समग्रमा हेर्दा, स्याङ्जामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनिक, प्राविधिक तथा सुरक्षा तयारी तीव्र गतिमा अघि बढिरहेको छ। आवश्यक सामग्री आइपुग्नु, मतदान केन्द्रको व्यवस्थापन सम्पन्न हुनु र सुरक्षा रणनीति तयार हुनु सकारात्मक संकेतका रूपमा लिइएको छ। अब मतदानको दिन मतदाताको सक्रिय सहभागिता र सबै पक्षको संयमित व्यवहारले निर्वाचनलाई सफल, शान्तिपूर्ण र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया