स्याङ्जाका ७ पालिकामा सार्वजनिक विदा
वालिङ ।
स्याङ्जाका ७ पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका छन् । ४४ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा स्याङ्जका ७ पालिकाले स्थानीय सार्वजनिक विदा दिएका हुन् । मगर समुदायको बाहुल्यता रहेका पालिकाले विगतका बर्षहरुमा झै यो बर्ष पनि स्थानीय सार्वजनिक बिदालाई निरन्तरता दिए । जिल्लाका ११ पालिका मध्ये पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको सूचना मार्फत जानकारी गराएका छन् । ५ नगरपालिका र २ गाउँपालिकामा मगर बाहुल्यता रहेको छ ।
हरेक फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाउदै आइएको छ । मगर समुदायले फागुन १५ गते राष्ट्रिय बिदा दिनुपर्ने माग गर्दै आएपनि सरकारले अहिले सम्म सुनुवाई नगरेको गुनासो उनीहरुको छ । तर स्याङ्जाका स्थानीय सरकारहरुले भने फागुन १५ गते सार्वजनिक बिदा दिदै आइरहेका छन् । स्थानीय सरकारहरुले जारी गरेको अत्याआवश्यक बाहेक सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय, स्थानीय सहकारी, वित्तिय क्षेत्र लगायत बन्द रहने उल्लेख गरिएको छ ।
गुल्मी जिल्लाको भार्से गाउँमा २०१२ साल फागुनमा क्याप्टेन पूर्णबहादुर घर्ती मगरको नेतृत्वमा मगर समाज सुधार संघको गठन भएको पाइन्छ । त्यसको २६ वर्षपछि बुटवलमा २०३८ साल माघमा नेपाल लाङ्घाली परिवार संघ केन्द्रीय तदर्थ समिति गठन भएको थियो । २०३९ साल फागुन १५ र १६ गते तनहुँमा संघको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । संघको पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटनको दिन फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवसको रुपमा मगर समुदायले मनाउँदै आएका छन् । लाङ्घाली परिवार संघबाट नाम परिवर्तन भई नेपाल मगर संघ बनेको २०४८ साल माघ १० र ११ गते काठमाडौंमा सम्पन्न चौथो महाधिवेशनबाट हो ।


प्रतिक्रिया