रोगी जनावर किनबेच गर्ने पक्राउ

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिका ५ मा रेविजको लक्षण देखिएका जनावरहरु किनवेच गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वालिङ नगरपालिका ५ बस्ने ५५ वर्षीय राजेन्द्र बहादुर केसी र वालिङ नगरपालिका ८ बस्ने शंसुदिन मिया रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । सोमबार दिउँसो राजेन्द्र बहादुर केसीले आफ्नै घरमा पालेका संक्रामक रोग रेविजको लक्षण देखिएका जनावरहरु भैसी, भैसीको पाडा, बाख्रा र बाख्राको पाठी एक एक वटा गरी जम्मा ४ वटा घरपालुवा जनावर वालिङ नगरपालिका ८ बस्ने ५० वर्षीय शंसुदिन मियाँलाई बिक्री गरेका थिए ।

रेविज रोग लागेका पशुहरु वालिङ नगरपालिकाले निगरानीमा राखेको थियो । नगरपालिकाले निगरानीमा राखेकै बेला केसीले शंसुदिन मियालाई बिक्रि गरेका थिए । मियाले रोग लागेका जनावरहरु खरिद गरी ग २ च २७६० नम्बरको सवारी साधनमा राखेर वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारी तर्फ लैजादै गरेको अवस्थामा वालिङ नगरपालिका १ बाट प्रहरीको टोलीले फेला पारेको थियो ।
सवारी साधनभित्र मृत भैसी एक, भैसीको पाडो एक, बाख्रा एक र बाख्राको पाठी एक बरामद गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । मृतक भैसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोली आई किटद्धार परीक्षण गर्दा संक्रामक रोग रेविजको लक्षण पुष्टि हुन आएको प्रहरीले जनाएको छ । प्रहरी पक्राउ गरेको दुवै जनालाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । पशुपंक्षी ओसारपसारमा क्वारेन्टाइन समेत गर्नुपर्ने व्यवस्था छ । तर रोगी भैसी किनबेचमा केसी र मियाले कुनै सावधानी नअपनाई ओसारपसार गरेकोले उनीहरु दुवै जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

फागुन १० गते भैसी बिरामी भएपछि किसान राजेन्द्र केसीले वालिङ नगर पशु शाखामा खबर गरेका थिए । वालिङ नगर पशु शाखाबाट पशु प्राविधिक दोलराज गैह्रेको नेतृत्वमा टोली पुगेर भैसीको अवस्था चेकजाँच गर्दा रेविजको लक्षण देखिएको शंका टोलीलाई लाग्यो । ११ गते रेविज सम्वन्धी सुई लगाई भैसी सहित गोठमा भएका अन्य पशुपंक्षीहरु निगरानीमा राख्न निर्देशन दिइएको थियो । केसीले फागुन १२ गते रोगी भैसी सहित अन्य सबै पाडापाडी, बाख्रा बेचिदिए । रोगी पशुपंक्षी बिक्रि भएको खबर थाहा पाएपछि तुरुन्त प्रहरीलाई खबर गरेपछि किनबेच गर्ने दुवैजना पक्राउ पर्न सफल भए । पक्राउ पर्नु अगाडी रोगी भैसीको मृत्यू भएको र भैसी काटेर मासु बिक्रि गर्ने तयारी गर्दागर्दै प्रहरीले मियालाई पक्राउ गर्न सफल भएको थियो ।

किनबेच गर्ने दुवै जनालाई मुलुकी अपराध ऐन २०७४ अनुसार मुद्धा चलाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको उपदफा १०४ संक्रामक रोग फैलाउन नहुने कानुन अनुसार पक्राउ परेका दुईजनालाई मुद्धा दायर गरेर अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए । उक्त दफामा कसुर गर्ने वा गराउने व्याक्तिलाई दश बर्ष कैद र १ लाख जरिवाना, लापरवाही पुर्वक गरेको भएमा ५ बर्ष कैद र ५० हजार जरिवाना तथा हेलचक्राई गरेको भएमा तीनबर्ष कैद र तीसहजार जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया