लायन्स क्लब अफ भीरकोटको चौथो अधिवेशन सम्पन्न
भीरकोट ।
लायन्स क्लब अफ भीरकोटको चौथो अधिवेशन सम्पन्न भएको छ। स्याङ्जाको बयरघारीमा सम्पन्न अधिवेशनले वर्ष २०२६÷२७ का लागि नयाँ नेतृत्व चयन गर्दै क्लबको आगामी कार्यदिशा तय गरेको छ। अधिवेशनबाट लेख बहादुर के.सी. (किरण) सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, प्रथम उपाध्यक्षमा इन्दिरा के.सी., द्वितीय उपाध्यक्षमा भविश्वर कोइराला, तृतीय उपाध्यक्षमा अमृत अर्याल, सचिवमा राजन सुनार, सहसचिवमा लाल बहादुर के.सी., कोषाध्यक्षमा नारायण प्रसाद कोइराला र सहकोषाध्यक्षमा जीवलाल बसेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक ढाकाराम खनालले जानकारी दिए। उनका अनुसार सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। नवनिर्वाचित अध्यक्ष लेख बहादुर के.सी. (किरण) ले क्लबलाई अझ सक्रिय, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले समाजले युवाबाट राखेको अपेक्षा पूरा गर्ने, सेवा र मानवताका कार्यक्रमलाई प्राथमिकतामा राख्ने तथा संस्थाको गरिमा र गतिलाई थप सुदृढ बनाउनेतर्फ आफू केन्द्रित रहने बताए। साथै, क्लबलाई सामाजिक सेवाको एक उदाहरणीय संस्थाका रूपमा स्थापित गर्न सबै सदस्यहरूको साथ र सहयोग आवश्यक रहने उल्लेख गरे।
कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले लायन्स क्लब अफ भीरकोटले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए। उनले सेवाभाव भएका व्यक्तिहरूलाई एकीकृत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन क्लब सफल भएको उल्लेख गरे। आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। अधिवेशनमा प्रमुख निर्देशक नुवादत्त अर्याल, जनसम्पर्क अधिकृत विश्वनाथ अर्याल तथा सल्लाहकार भक्तबहादुर के.सी. र तारा प्रसाद अर्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले सामाजिक सेवामा क्लबको भूमिका अझ सशक्त बनाउन नयाँ नेतृत्वले प्रभावकारी पहल गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका क्रममा आर्थिक वर्ष २०२५÷२६ का विभिन्न प्रतिवेदनहरू पनि प्रस्तुत गरिएका थिए। कोषाध्यक्ष राजन सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव अमृत अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। त्यसैगरी, अध्यक्ष चिन्तामणी चापागाईंले वार्षिक प्रगति समेटिएको अध्यक्षीय प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत सबै प्रतिवेदनहरू अधिवेशनबाट सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ। अधिवेशनको सञ्चालन संस्थाका सचिव अमृत अर्यालले गरेका थिए भने धन्यवाद ज्ञापन इन्दिरा केसीले गरेकी थिइन्। कार्यक्रममा क्लबका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थालाई आगामी दिनमा अझ व्यवस्थित, सक्रिय र सेवामुखी बनाउने स्पष्ट सन्देश दिएको सहभागीहरूले बताएका छन्।


प्रतिक्रिया