श्रीमतीको स्मृतिमा ५० लाखको अक्षयकोष

भीरकोट ।

समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पु¥याएकी स्वर्गीय मुना रेग्मीको स्मृतिमा उनका श्रीमान्ले ५० लाखको अक्षयकोष स्थापना गरेका छन् । भीरकोट नगरपालिका–८ तारुक स्थायी घर भई हाल पोखरा निवासी कृष्णप्रसाद रेग्मीले श्रीमतीको स्मृतिमा भीरकोट पोखरा सामिप्य सदनमा ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । गतबर्ष ४० लाखको अक्षयकोष स्थापनाको घोषणा गरेका रेग्मीले अहिले १० लाख थप्दै ५० लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

स्याङ्जा जिल्लाका विभिन्न ४ विधामा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कार प्रदान गर्ने गरी कोषको स्थापना गरेका रेग्मीले दिवंगत जीवनसाथीको सधैं स्मरणको बाटो रोजेका छन् । अक्षयकोषको माध्यमबाट दिवंगत श्रीमतीको सधैं सम्झना भइरहने रेग्मीको विश्वास छ । दिवंगत श्रीमतीको नाममा भीरकोट पोखरा सामिप्य सदनलाई ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको रेग्मीले जानकारी दिए । अक्षयकोषको रकमबाट पुरस्कार वितरण गर्न कार्यविधि बनाइएको छ । त्यही कार्यविधिमा आधारित भएर उत्कृष्ट प्रतिभालाई अक्षयकोषबाट आउने वार्षिक ब्याज २ लाखभन्दा बढी रकमले नगदसहित सम्मान गरिनेछ ।

केही रकम विपन्न, अनाथ, अपांगता भएका विद्यार्थीलाई सहयोग गर्ने तथा त्यस्तै कल्याणकारी काममा खर्च गर्ने योजना छ । मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक पोखरामा अक्षयकोषको खाता खोलिएको छ र रकम त्यही खातामा राखिएको छ । अक्षयकोषको संरक्षकमा कृष्णप्रसाद रेग्मी रहेका छन् । ‘श्रीमतीको सम्झनालाई जीवन्त राख्न चाहन्छु । मेरो परिवारको तर्फबाट स्थापना गरिएको अक्षयकोष उनकै सम्झनामा समर्पण गरिएको छ’, रेग्मीले भने, ‘ उत्कृष्ट प्रतिभाको सम्मान पनि होस् र पढ्न नपाएकाले सजिलै पढ्न पाउन, सधैँ स्मरण गर्ने माध्यम बनोस् ।’

कोषको रकमबाट साहित्य, कला र संस्कृति, शिक्षा, स्वास्थ्य र खेलकुद, कृषि र पशुपंक्षी तथा समाजसेवाको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई नगदसहित सम्मान प्रदान गरिने कार्यविधि छ । भीरकोट पोखरा सामिप्य सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले अक्षयकोष स्थापना गरिदिएर सामिप्य सदनको हौसला बढाएको बताए । यो कोष समुदायको लागि स्थापना भएको उनको भनाई छ । अध्यक्ष रेग्मीका अनुसार अब उक्त कोषको व्याजबाट आउने रकमबाट प्रत्येक वर्ष ४ जनालाई नगदसहित पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया