भीरकोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर हुने
भीरकोट ।
भीरकोट नगरपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्थानीय नागरिकलाई सहज र सुलभ रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो। भीरकोट नगरपालिका र मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको उक्त शिविर चैत ७ गते शनिबार बिहान ८ बजेदेखि भीरकोट नगर अस्पताल, हेलुमा सञ्चालन गरिनेछ। नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले शिविरको तयारी पूरा भएको जानकारी दिँदै स्थानीयवासीलाई यस अवसरको अधिकतम उपयोग गर्न आग्रह गरेका छन्। नगर प्रमुख कर्माचार्यका अनुसार ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेषज्ञ चिकित्सकको पहुँचमा ल्याउने लक्ष्यका साथ शिविर आयोजना गरिएको हो। “सबै नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने, “विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष परीक्षण र परामर्श पाउने अवसर बिरलै हुने भएकाले यसलाई सदुपयोग गर्न सबैलाई अनुरोध गर्दछु।”
शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन्। विशेषगरी स्त्री तथा प्रसूति, जनरल मेडिसिन, हाड–जोर्नी तथा नशासम्बन्धी रोगहरूको परीक्षण र उपचारमा केन्द्रित सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ। स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवाका लागि डा. मनोर दिन सैयदले बिरामीहरूको जाँच तथा परामर्श गर्नेछन्। यसैगरी, जनरल मेडिसिनतर्फ डा. इवराज सिम्खडा र डा. कृष्ण गुप्ताले सेवा प्रदान गर्नेछन्। हाड–जोर्नी तथा नशासम्बन्धी समस्याको उपचारका लागि डा. उजोन शाक्यले बिरामीहरूको परीक्षण गर्ने कार्यक्रम रहेको मनमोहन मेमोरियल अस्पतालका डा. मनोर दिन सैयदले जानकारी दिए। यसका अतिरिक्त अन्य वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको समेत सहभागिता रहने बताइएको छ। नाक, कान र घाँटीसम्बन्धी रोगका लागि डा. कृष्ण कोइराला, मानसिक तथा स्नायुसम्बन्धी समस्याका लागि डा. राजन शर्मा र हाड–जोर्नी तथा नशासम्बन्धी रोगका लागि डा. दिनेश कुमार विकले सेवा प्रदान गर्नेछन्।
आयोजकका अनुसार शिविरमा आउने बिरामीहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा रोगसम्बन्धी सुझावहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ। यसले विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा नियमित रूपमा स्वास्थ्य परीक्षण गराउन नसक्ने नागरिकहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले यस्तो प्रकारका स्वास्थ्य शिविरहरूले स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। विशेषगरी ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव हुने भएकाले यस्ता कार्यक्रमले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सहयोग पुर्याउने जनाइएको छ। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार समयमै रोग पहिचान र उपचार गर्न सकेमा धेरै जटिल रोगहरूबाट बच्न सकिन्छ। यस दृष्टिले पनि निःशुल्क स्वास्थ्य शिविरहरू अत्यन्त प्रभावकारी माध्यमका रूपमा लिइन्छ।
नगर प्रमुख कर्माचार्यले शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्। “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो,” उनले भने, “यस अवसरलाई नछुटाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहोस् र आवश्यक परामर्श लिनुहोस्।” भीरकोट नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ। स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यका साथ नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी पहलहरू अघि बढाउँदै आएको छ। यस स्वास्थ्य शिविरबाट सयौं नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। विशेषज्ञ चिकित्सकको प्रत्यक्ष उपस्थितिमा हुने परीक्षण तथा परामर्शले स्थानीय बासिन्दाको स्वास्थ्य सचेतना बढाउने र रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।


प्रतिक्रिया