गल्याङमा सुर्तिजन्य पदार्थ विक्रिवितरणमा रोक
गल्याङ ।
स्याङ्जाको एक पालिकाले सुर्तिजन्य पदार्थ विक्रिवितरणमा रोक लगाएको छ । गल्याङ नगरपालिकाले सार्वजनिक स्थल सगै विद्यालय क्षेत्र वरीपरी सुर्तिजन्य पदार्थको विक्रिवितरणमा रोक लगाएको हो । नगरलाई लागुऔषध निरुत्सायी बनाउने उदेश्यले पहिलो प्रयासमा पालिकाले विद्यालय क्षेत्र, स्वास्थ्य संस्था, जेष्ठ नागरिक आश्रम र शिशु स्याहार केन्द्र वरीपरी सुर्तिजन्य पदार्थ विक्रिवितरणमा रोक लगाउदै सार्वजनिक सूचना जारी गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकुत भविश्वर घिमिरेले एक सूचना जारी गर्दै सुतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन अनुसार तोकिएको क्षेत्रमा सुर्तिजन्य पदार्थ विक्रिवितरण नगर्न र नगराउन अनुरोध गरेका छन् । विद्यालय क्षेत्र वरीपरी र स्वास्थ्य संस्था वरीपरी सुर्तिजन्य पदार्थको विक्रिवितरण हुँदा विद्यार्थीहरुमा नकरात्मक असर पर्ने बिषयलाई ख्याल गरेर सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धमा बनेको ऐन २०७६ को परिच्छेद ३ को दफा ११ को उपदफा ३ मा शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, जेष्ठ नागरिक आश्रम लगायत क्षेत्रको कम्तिमा एकसय मिटर भित्रका पसलहरु र वरीपरी सुर्तिजन्य पदार्थ विक्रिवितरण गर्न नपाईने व्यवस्था । सोही व्यवस्थालाई कार्यन्वयन गर्न पालिकाले तोकिएका क्षेत्रमा सुर्तिजन्य पदार्थ विक्रिवितरणमा रोक लगाइएको घिमिरेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सोही दफाको उपदफा ५ मा विद्यालय तथा विश्वविद्यालयको पोषाक लगाई सुर्तिजन्य पदार्थ खरिद गर्न जाने जुनसुकै उमेरको विद्यार्थीलाई सुर्तिजन्य पदार्थ बिक्रि वितरण गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था रहेकाले यसको कार्यन्वयन गर्न सबै नरवासीलाई घिमिरेले सूचना मार्फत अपिल गरेका छन् । नगरपालिकाले तोकेको सय मिटर क्षेत्रभित्र सुर्तिजन्य पदार्थ विक्रिवितरण गरेको पाइएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन अनुसार कारवाही हुने समेत सूचनामा उल्लेख गरिएको छ । लागुऔषध न्युनिकरण गर्न पहिलो पटक सार्वजनिक सूचना मार्फत नागरिक, उद्योगी व्यवसायी, शिक्षक, कर्मचारी, अभिभावकहरुलाई जानकारी गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । पहिलो फेजमा सूचना मार्फत जानकारी गराएका छौं उनले भने,‘दोस्रो फेजमा नगर प्रहरी मार्फत अनुगमन गर्नेछौं ।’ शिक्षक, विद्यालय व्यवस्थापन समिति मार्फत पनि यसको अनुगमन गर्ने र आवश्यक परे कारवाही प्रक्रिया अगाडी बढाउने छौं उनले भने ।
विद्यार्थीहरुमा बढी चुरोट खाने क्रम देखिएकाले यो अभियानलाई अगाडी बढाएको नगरपालिकाले जनाएको छ । विद्यालय क्षेत्रबाटै यसको न्युनिकरणमा अगाडी बढुदा केही हदसम्म समाधान हुने देखिएकाले नगरपालिकाले कानुनले तोकेका क्षेत्रहरुमा सुर्तिजन्य पदार्थको रोक लगाउन खोजिएको नगर प्रमुख भट्टराईले बताए । ११ ओटा पालिकाहरु मध्ये गल्याङ्ले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यन्वयन गर्ने पहिलो पालिका बनेको छ ।


प्रतिक्रिया