बैंकिङ पेसाबाट संगीतमा, स्याङ्जाका प्रेम किशोर अर्यालको पहिलो गीत ‘बल्ल माया जेलियो’ सार्वजनिक
क्रान्ति अर्याल,
गल्याङ ।
स्याङ्जा जिल्लाको सुन्दर गाउँमा जन्मिएर आधिखोलाको पानी र हावासँग हुर्केका प्रेम किशोर अर्याल पछिल्ला वर्षहरूमा बैंकिङ क्षेत्रमा कार्यरत छन् । वित्तीय पेशामा सक्रिय रहे पनि बाल्यकाल देखि नै संगीतप्रति गहिरो रुचि राख्ने अर्यालले आखिर आफ्नो मनको चाहना पूरा गर्दै पहिलो गीत बजारमा ल्याएका छन् । तीन दिन अघि मात्र ‘घनश्याम रिजाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गीत ‘बल्ल माया जेलियो’ छोटो समयमा नै दर्शक र श्रोताको मन जित्न सफल भएको छ ।
आँधीखोले ख्याली स्वादको यस गीतले ग्रामीण प्रेम र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरेको छ । गीतका शब्द स्वयं प्रेम किशोर अर्यालले लेखेका हुन् भने संगीत र एरेञ्ज घनश्याम रिजालले गरेका छन् । गीतमा गायक अर्याल र गायिका रिना केसीको सुमधुर युगल स्वरले विशेष आकर्षण थपेको छ । गीतको म्युजिक भिडियो जेरी भण्डारीको निर्देशन र कोरियोग्राफीमा तयार गरिएको हो ।
भिडियोमा जेरी भण्डारी र अस्मिता रनपालले मुख्य भूमिका निर्वाह गरेका छन् । त्यस्तै छायांकन गणेश सापकोटाले गरेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका हुन् ।
सुन्दर दृश्य, भावनात्मक अभिनय र लोकधुनको तालमेलले भिडियोलाई अझ प्रभावशाली बनाएको छ । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको सकारात्मक प्रतिक्रिया आइरहेको छ । दर्शक श्रोताले गीतको शब्द, संगीत र भिडियोको सरलता र मौलिकतालाई मन पराइरहेका छन् । पहिलो गीतमै दर्शकको माया पाउँदा उत्साहित गायक अर्यालले दर्शक–श्रोताले पहिलो गीतमै दिएको माया र साथ आफ्नो लागि ठूलो प्रेरणा बनेको बताए । स्याङ्जाको कला र माटोप्रति समर्पित उनले संगीत मार्फत गाउँको संस्कृतिलाई देशभर फैलाउने लक्ष्य राखेका छन् ।


प्रतिक्रिया