लागुपदार्थ सेवन गरी सवारी चलाउने ९ जना चालक स्याङ्जामा पक्राउ

स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने नौ जना चालकलाई नियन्त्रणमा लिएको छ। सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको “लापसे चेकिङ अभियान” अन्तर्गत स्याङ्जा जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार नियन्त्रणमा परेकामध्ये छ जना स्याङ्जा जिल्लाका बासिन्दा रहेका छन् भने अन्य तीन जना बाहिरी जिल्लाका हुन्। लागुपदार्थ सेवन गरी सवारी चलाउँदा आफू मात्र नभई अन्य सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्ता गतिविधिमा संलग्न चालकहरूलाई कडाइका साथ कारबाही अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित बसपार्क क्षेत्रमा दिउँसोको समयमा निजी तथा सार्वजनिक सवारी साधनहरूको नियमित चेकजाँच भइरहेको थियो। सोही क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाइरहेको पुष्टि भएपछि नौ जना चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको हो। नियन्त्रणमा लिइनेमा मप्र ०३–००२ ख ४१०१ नम्बरको ट्रक चालक रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–२ निवासी २७ वर्षीय अक्षय कुमार चौधरी रहेका छन्। यस्तै, ग १ ख ५५५५ नम्बरको हाईस चालक स्याङ्जा चापाकोट नगरपालिका–४ निवासी ४१ वर्षीय याम बहादुर गुरुङ पनि पक्राउ परेका छन्।

त्यसैगरी, ग २४ प ३१० नम्बरको क्रसफायर मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका–१० निवासी १९ वर्षीय लिजन थापा, लु ९२ प ८४२५ नम्बरको पल्सर मोटरसाइकल चालक स्याङ्जा गल्याङ नगरपालिका–८ निवासी १९ वर्षीय अभिषेक सारु र ग २० प १९९ नम्बरको केटिएम मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका–६ निवासी २१ वर्षीय सुमन अर्याललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, ग १६ प ९०४३ नम्बरको पल्सर मोटरसाइकल चालक स्याङ्जा भीरकोट नगरपालिका–१ निवासी २३ वर्षीय सुविन गुरुङ, लु ९४ प ५८३३ नम्बरको यमाहा मोटरसाइकल चालक कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–९ निवासी २३ वर्षीय सोवित कुमार गुप्ता, लुप्र ०१–०११ प २२३३ नम्बरको पल्सर मोटरसाइकल चालक कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–८ निवासी २३ वर्षीय विवेक कुमार चौधरी तथा ना ४५ प २०५ नम्बरको स्कुटर चालक स्याङ्जा चापाकोट नगरपालिका–८ निवासी २८ वर्षीय राजिन नेपालीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालका अनुसार नियन्त्रणमा लिइएका नौ जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ। लागुपदार्थ सेवन गरी सवारी चलाउने कार्य गम्भीर अपराध भएकाले कानुन बमोजिम कडा कारबाही गरिने उनले जानकारी दिए। प्रहरीले सडक दुर्घटनाका मुख्य कारणहरूमध्ये लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति पनि एक रहेको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि नियमित र आकस्मिक चेकजाँचलाई तीव्र बनाइएको जनाएको छ। यात्रुको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै चालकहरूलाई जिम्मेवार र अनुशासित बन्न आग्रह पनि गरिएको छ।

सडक दुर्घटना न्यूनीकरण गर्दै यात्रालाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत जेठ ६ गतेदेखि “लापसे चेकिङ अभियान” सञ्चालन गर्दै आएको छ। यस अभियानअन्तर्गत जिल्लाका मुख्य राजमार्ग, सहायक सडक तथा भीडभाड हुने क्षेत्रहरूमा सवारी साधनको कडाइका साथ निगरानी र जाँच भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले आगामी दिनहरूमा पनि यस्तो अभियानलाई निरन्तरता दिने र नियम विपरीत सवारी चलाउने चालकहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, सर्वसाधारणलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न र लागुपदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको छ।

प्रतिक्रिया