स्याङ्जामा ग्यास पसलहरु अनुगमन

स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजारमा खाना पकाउने ग्याँसको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन गरेको छ । मध्यपुर्वी मुलुकमा युद्ध चलिरहेका बेला नेपालमा खाना पकाउने ग्याँसको अभाव हुन थालेको खबर आउन थालेपछि जिल्ला प्रशासनको अगुवाईमा बजार अनुगमन गरिएको हो । बजारमा खाना पकाउने ग्याँसको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने, कालो बजारी बढ्न सक्ने बिषयलाई मध्य नजर गरेर जिल्लाका प्रमुख व्यपारीक शहरहरुका ग्याँस डिलर र पसलहरुमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताए ।

सहायक प्रजिअ सुवेदीका अनुसार जिल्लाका पुतलीबजार, राङ्खोला, हेलु, वयरघारी, वालिङ, बायटारी, गल्याङ लगायतका बजारहरुमा अनुगमन गरिएको छ । सहायक प्रजिअ सुवेदीको नेतृत्वमा खटिएको एकीकृत टोलीले बुधबार दिनभर ग्याँस वितरणको अवस्था, मौज्दात र मूल्यका विषयमा स्थलगत जाँच गरेको बताइएको छ । ग्याँसको अभाव हुन थालेको खबरहरु आउन थालेपछि स्याङ्जाका बजारक्षेत्रमा अनुगमन गरेका थियौं सहायक प्रजिअ सुवेदीले भने,‘समाचारमा आएजस्तो स्याङ्जामा ग्याँसको अभाव देखिएन ।’ बजार समान्य र सबै ठिक अवस्थामा रहेकाले उपभोक्ताहरु ग्याँस पाइदैन की भन्ने चिन्ता मान्नु पर्दै सुवेदीले भने ।

ग्याँस बिक्रेतालाई अवदेखी ग्याँस बिक्रि गर्दा उपभोक्ताको नाम र मोवाइल नम्बर राखेर बिक्रि गर्न सुझाएको टोलीले जनाएको छ । सबै पालिकाहरुलाई पनि प्रशासनले पत्राचार गरेर ग्याँसको अवस्थाका बारेमा जानकारी लिन र अनुगमन गर्न निर्देशन दिएको सहाहयक प्रजिअ सुवेदीले बताए । उपभोक्ताहरुले पनि ग्याँस अभाव हुन्छ भन्ने डरमा आवश्यकता भन्दा बढी किनेर घरमा नराख्न सुवेदीले सुझाएका छन् ।
अनुगमनका क्रममा टोलीले ग्याँस सिलिन्डरको परिमाण, तोकिएको तौल भए नभएको र बिक्री वितरण गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गरिएको छ कि छैन भन्ने विषयमा सुक्ष्म अनुसन्धान गरेको उपभोक्त मन्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले जानकारी दिए । नियमविपरीत कारोबार गर्ने र प्रक्रिया नपु¥याएका केही ग्याँस डिलरलाई सुझाउने काम गरिएको र व्यापारिक आचारसंहितामा रहेर बिक्रि वितरण गर्न सचेत गराइएको मारासिनीले बताए ।

अनुगमन टोलीमा सहायक प्रजिअ सुवेदीको नेतृत्वमा एकिकृत सेवा कार्यालय स्याङ्जा, उपभोक्ता मञ्च स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा लगायतको सहभागितामा अनुगमन गरिएको थियो । उपभोक्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा महँगोमा बेच्ने जस्ता गैरकानुनी कार्य रोक्न प्रशासनले नियमित रूपमा अनुगमन जारी राख्ने प्रशासनले जनाएको छ । खाद्य समाग्री देखी ग्याँसको कृत्रिम अभाव देखाएर कालो बजारी गर्ने व्यवसायीलाई कारवाही समेत टोलीले बताएको छ । उपभोक्ताहरु पनि सचेत भएर खरीद विक्रिमा लाग्न प्रशासनले सुझाएको छ ।

 

प्रतिक्रिया