स्याङ्जाका निर्वाचन प्रहरीको बिदाई

स्याङ्जा ।
स्याङ्जामा खटिएका निर्वाचन प्रहरीलाई बिदाई गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न खटिएका निर्वाचन प्रहरीलाई प्रशंसापत्र वितरण गरी बिदाइ गरिएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, ईलाका प्रहरी कार्यालय चापाकोट र ईलाका प्रहरी कार्यालाय चिसापानीमा छुट्टाछुट्टै कार्यक्रम गरेर निर्वाचन प्रहरीलाई बिदाइ गरिएको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई बिहिवार बिदाईका लागि सूचना मार्फत जानकारी गरिएको थियो । सोही बमोजिम निर्वाचन प्रहरीलाई सम्मान स्वरूप बिदाइ तथा प्रशंसा पत्र वितरण गरिएको स्याङ्जाका प्रहरी प्रमुख न्यौपानेले बताए । अधिकांश निर्वाचन प्रहरीहरू पोशाकमै उपस्थित भएका थिए । निर्वाचनमा खटिदा आफूहरु निक्कै उत्साहित भएको निर्वाचन प्रहरीहरुको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि स्याङ्जा जिल्लामा जम्मा दुई हजार १ सय १५ जना निर्वाचन प्रहरी खटिएका थिए । जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अपुग रहेका निर्वाचन प्रहरी बाहिरी जिल्लाबाट ल्याईएको थियो । स्याङ्जामा तनहुँबाट ६७, कास्कीबाट १३९ र नवलपरासीबाट २९० जना निर्वाचन प्रहरी ल्याईएको हो भने जिल्लामा एक हजार ६ सय १९ जना छनोट भएका थिए ।

निर्वाचन अवधिभर उनीहरूले विभिन्न मतदान केन्द्र तथा संवेदनशील स्थानहरूमा खटिएर सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रममार्फत निर्वाचन सुरक्षामा उल्लेखनीय योगदान पु¥याएका प्रहरीहरूलाई सम्मान गर्दै बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया