स्याङ्जामा झण्डै १० हजार मत बदर
वालिङ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झण्डै १० हजार मत बदर भएको छ । स्याङ्जाका दुवै क्षेत्रबाट मतदाताले गरेको मतदान ९ हजार ७ सय बदर भएको हो । प्रत्यक्ष र समानुपातिकबाट दुवै क्षेत्रमा ९ हजार ७ सय मत बदर भएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार प्रत्यक्षबाट ५ हजार ५ सय ७० र समानुपातिकबाट ४ हजार १ सय ३० मत बदर भएको छ ।
समानुपातिक भन्दा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा मत बदरको संख्या धेरै देखिएको छ । स्याङ्जा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ ७० हजार ९ सय ४४ मत खसेको थियो । खसेको मत मध्ये २ हजार ९ सय २८ मत बदर भएको थियो । त्यसैगरी समानुपातिकमा ७२०९९ मत खसेकोमा २ हजार १ सय ३१ मत बदर भएको छ । यता स्याङ्जा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ ६४ हजार ९ सय २८ मत खसेकोमा २ हजार ६ सय ६२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । समानुपातिकमा ६५ हजार १ सय ३० मत खसेकोमा १ हजार ९ सय ९९ मत बदर भएको छ । तुलानात्मक हिसावमा क्षेत्र नम्बर २ मा भन्दा १ मा बढी मत बदर भएको छ ।
निर्वाचन आयोगले मतको बदर संख्या घटाउन मतदाता शिक्षा लगायत अन्य कार्यक्रम संचालन गरेपनि स्याङ्जामा बदरको संख्या बढ्नु अत्यन्तै दुखद भएको सरोकारवालाहरुको भनाई छ । बदर मतको संख्या धेरै हुनु राम्रो विषय नभएको स्याङ्जा क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेलले बताए । मतदातालाई दलहरुले पनि सिकाउनु पर्ने र यसमा निर्वाचन आयोगले मात्रै पहल गरेर नहुने जिकिर पौडेलले गरे । मतदाता शिक्षाको कमिको कारण मत बदर धेरै देखिएकोले आगामी दिनमा यसलाई घटाउनेगरी निर्वाचन आयोगले काम गर्नुपर्ने नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
जिल्लाका ९७ वटै वडामा मतदाता शिक्षका लागि सहजकर्ता खटाएको निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले बताए । राजनीतिकदल र निर्वाचन कार्यालयले मतदाता शिक्षामा ध्यान नदिदा मत बदर उल्लेख्य देखिएपनि मतदाता पनि सचेत हुनुपर्ने थापाको जोड छ ।


प्रतिक्रिया