स्याङ्जामा बैकिङ् साक्षरता अभियानका लागि प्रभातफेरी

स्याङ्जा ।

विश्वव्यापी मनाइदै आएको ग्लोबल मनी वीक दिवस स्याङ्जाका बैंक तथा वित्तिय संस्थाहरुले मनाउन शुरु गरेका छन् । साप्ताहिक रुपमा मनाउन लागिएको यो दिवसमा वित्तिय साक्षरतालाई जोड दिइएने भएको हो । स्याङ्जाको वालिङमा वालिङ बैंकर्स क्लवले प्रभातफेरी निकालेर यो दिवसको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा वालिङमा रहेका बैंक तथा वित्तिय संस्था सहित बिमा क्षेत्रमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो ।

विभिन्न प्लेकार्ड बोकेर आम्दानी अनुसारको खर्च जीवन हुन्छ सहज, बचत गरौं सपना पुरा गरौं, पैसा जीवनको आधार हो भन्ने सन्देश दिइएको थियो । बजार परिक्रमापछि बोल्दै मुक्तिनाथ विकास बैंकका पुर्व अध्यक्ष भरतराज ढकालले बैंक तथा वित्तिय संस्थाहरु विश्वासको मन्दिर रहेको बताए । नागरिकलाई पैसा के हो भन्ने कुरा चिनाउन बैंकका कर्मचारीको महत्वपुर्ण भुमिका रहेको भन्दै पुर्व अध्यक्ष ढकालले बचतलाई कमाई हो भन्ने बुझाउन आवश्यक रहेको बताए । आम्दानी अनुसार खर्च गर्न सके मात्रै बचत हुने बताउदै मुक्तिनाथ विकास बैंकका पुर्व कार्यकारी प्रमुख समेत रहेका ढकालले वित्तिय साक्षरता अभियान अझै ग्रामिण क्षेत्रमा पु¥याउनुपर्नेमा जोड दिए । यस्ता अभियानले बचत, लगानी र आर्थिक अनुशासनबारे सकारात्मक सोच विकास गराउने धारणा ढकालको थियो ।

कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी वालिङ शाखाका प्रमुख शंकर सुवेदीले बीमा नागरिकको आर्थिक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसबारे अझ व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गरे । बीमाको महत्व नागरिकलाई बुझाउन वित्तिय संस्थाहरुले अभियाननै थाल्नुपर्ने बताए ।

‘स्मार्ट मनी’ भन्ने नाराका साथ चैत्र २ गतेदेखी ८ गतेसम्म यो दिवस मनाइदै छ । सन् २०१२ देखी ओइसिओको पहलमा शुरु भएको यो कार्यक्रमले बिशेषगरी बालबालिका र युवामा वित्तिय ज्ञान, सिप र सकरात्मक आर्थिक व्यवहारमा लक्ष्य राखेको छ । नेपाल राष्ट्र बैंकले यो कार्यक्रमलाई देशभरीका बैंक तथा वित्तिय संस्थाले मनाउन निर्देशन दिदै आएको छ । वित्तिय साक्षरताको सन्देश शहरदेखि गाउँसम्म पुराउदै आर्थिक रुपमा सचेत समाज निर्माणमा यो कार्यक्रमले महत्वपुर्ण भुमिकाक खेल्ने बताइएको छ । वालिङ बैंकर्स क्लवका अध्यक्ष नवीन काफ्लेले एकसाता जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा वित्तिय साक्षरता संचालन गरिने जानकारी दिए ।

 

 

प्रतिक्रिया