जिज्ञासा राख्नुपर्ने कार्यक्रममा नागरिकको सहभागिता न्युन
वालिङ ।
स्याङ्जाको भीरकोट र वालिङ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गत सोमबार भीरकोटको र बिहिबार वालिङको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा दुवै नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिक अवधिको प्रगति विवरण सार्वजनिक गरेका थिए । तर भीरकोट नगरपालिकाको तुलनामा वालिङमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकको उपस्थिती भने न्यून रहेको बताइएको छ । स्थानीय तहले सुशासन र पारदर्शिता नगरेको गुनासो पालिकाका आमनागरिकले गर्दै आइरहेको भए पनि सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकको उपस्थिती कम हुनुले सेवाग्राही स्थानीय सरकारप्रति सन्तुष्ट रहेनन् की भन्ने देखिन्छ ।
भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिकमा भएका वित्तीय तथा भौतिक प्रगति र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई नगरपालिकाको वडा नम्बर ९ स्थित कालिकाकोट स्वास्थ्य चौकीमा आयोजना गरेको थियो । कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, ग्रामीण सडकदेखि नदीजन्य सामग्री उत्खननसम्मका विषयमा नागरिकले खुलेर प्रश्न तथा गुनासा व्यक्त गरेका थिए । कार्यक्रममा नागरिकहरुले सिद्धार्थ राजमार्गको दयनीय अवस्था, ग्रामीण सडक स्तरोन्नति, कृषिमा बढ्दो बाँझोपन, पर्यटकीय पूर्वाधारको उपयोग, शिक्षाको गुणस्तर, स्वास्थ्य सेवाको पहुँच र खेलकुद गतिविधिमा देखिएका कमजोरीप्रति ध्यानाकर्षण गराएका थिए ।
नेपाली कांग्रेस भीरकोटका नगर सभापति यामप्रसाद अधिकारीले नगरपालिकाले सञ्चालन गरिरहेको ग्रीजी स्क्रिनिङ मेसिन (नदिजन्य सामग्री प्रशोधन गर्ने मेसिन) लामो समयदेखि किन बन्द अवस्थामा रहेको हो भन्ने विषयमा जिज्ञासा राखे । उनले वार्षिक बजेट निर्माण गर्दा व्यक्तिका नाम तोकेर योजना समावेश गरिएको, सार्वजनिक सुनुवाईमा नागरिक सहभागिता घट्दै गएको र प्रश्नकर्ताभन्दा जवाफ दिने वक्ता बढी देखिएकोप्रति चिन्ता व्यक्त गरे । नेकपा एमाले भीरकोटका नगर सचिव पर्वत खाम्चा मगरले नगरमा कंक्रिटको विकास बढे पनि नैतिक र मानसिक विकास ओझेलमा परेको टिप्पणी गरे । उनले सिद्धार्थ राजमार्गको अवस्था नाजुक बन्दै गएको, जमिन बाँझो हुँदै गएको र स्वरेक मैदानजस्ता पर्यटकीय क्षेत्रमा बनेका पूर्वाधारको सदुपयोग हुन नसकेको विषयमा प्रश्न उठाए ।
वडा नम्बर ६ का टोल संयोजक दीपक कोइरालाले सडक स्तरोन्नति गर्दा नागरिकको स्वास्थ्यलाई बेवास्ता गरिँदा बस्ती धुलाम्मे बनेको गुनासो गरे । उनले वडाध्यक्षहरुले आफूखुसी योजना छनोट गर्ने गरेको, बजेट विनियोजन भएका योजनामा समेत पक्षपात हुने गरेको र सिमलचौर फाँट सिँचाइको दीर्घकालीन समाधानतर्फ नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए । वडा नम्बर ५ का लोकबहादुर थापाले स्वरेक मैदानमा निर्माण गरिएका पर्यटकीय पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेको र सरसफाइमा समेत लापरवाही भएको बताए । लोकप्रिय कार्यक्रमका रुपमा अघि सारिएका फ्री वाइफाईजस्ता योजनाको मर्मत र सदुपयोग हुन नसकेकोप्रति उनले जनप्रतिनिधिलाई प्रश्न गरे ।
वडा नम्बर ९ को सिरकोट माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यार्थीको स्वास्थ्य र सुरक्षामाथि खेलवाड गरिएको आरोप लगाए । उनीहरुले प्रतियोगिता सञ्चालन गर्दा विद्यालयलाई आवश्यक बजेट नदिइएको, खेलमैदानको अवस्था सुधार नगरिएको, सुरक्षा र सावधानी नअपनाइएको तथा कबड्डी, हाइजम्प र लङजम्पजस्ता खेल असुरक्षित चौर र बालुवामै गराइएको गुनासो गरेका थिए । साथै आफ्नै विद्यालयको खेलमैदान पनि बालमैत्री नभएको विषय उठाइएको थियो । वडा नम्बर ९ का कमलराज रेग्मीले ग्रामीण क्षेत्र विकासमा सधैं पछाडि परेको र बसाइँसराइ रोक्न स्थानीय सरकारले ठोस पहल नगरेको गुनासो गरे । अनुदानमा वितरण गरिने कृषि सामाग्रीमा पारदर्शिता नभएको र योजना किताबमा समावेश गरिएका योजनाको कार्यान्वयनमा समेत प्रश्न उठाए ।
स्थानीय गिरबहादुर गुरुङ र सोमबहादुर गुरुङले घरगोठ जोखिममा पर्दासमेत नगरपालिकाले चासो नदिएको तथा वडाबाट सिफारिस भएका विषयमा नगरले आवश्यक कारबाही नगरेको गुनासो व्यक्त गरे । पिपलडाँडा माध्यमिक विद्यालयका शिक्षक तारापति रेग्मीले गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी नहुँदा विद्यार्थी र स्थानीयले स्वास्थ्य सेवा लिन कठिन भएको बताए । उनले शिक्षामा पहुँच बढाउन शिक्षाको बजेट वृद्धि गरी अतिरिक्त कक्षा सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । वडा नम्बर ९ का चोकबहादुर गुरुङले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रम बजार केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि सञ्चालन गर्नुपर्ने धारणा राखे । जनप्रतिनिधिले वितरण गर्ने सामग्रीमा आफ्ना कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै उनले स्थानीय सरकारको गतिविधि पारदर्शी नभएको टिप्पणी गरे ।
नागरिकका गुनासामा प्रमुख जवाफदेही वक्ताको रुपमा नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले जवाफ दिएका थिए । साथै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साल, योजना अधिकृत यामप्रसाद रेग्मी तथा वडाध्यक्षहरु दिपेन्द्र केसी, नन्दलाल खनाल, लक्ष्मण खत्री क्षेत्री, भीमबहादुर गुरुङ र कृष्णबहादुर थापाले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । नगर प्रमुख कर्माचार्यले स्थानीय सरकार नागरिकको इच्छा र आवश्यकता अनुसार अघि बढ्न प्रयासरत रहेको बताउँदै कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे । विकासलाई दिगो र व्यवस्थित बनाउन नागरिकको चासो, गुनासो र सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो । नगरपालिकाका आर्थिक गतिविधि पूर्ण रुपमा पारदर्शी रहेको दाबी गर्दै उनले “एक सुका पनि भ्रष्टाचार भएको छैन” भने । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा देखिएका कमजोरी स्वीकार गर्दै आगामी वर्षदेखि स्वास्थ्य र सुरक्षालाई विशेष प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
वालिङस्थित छायाँक्षेत्र मिडिया प्रालिको संयोजनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेका थिए । बजेट तथा योजना निर्माण र न्याय सम्पादनजस्ता महत्वपूर्ण जिम्मेवारी बोकेकी नगर उपप्रमुख भगवती रेग्मी अर्यालप्रति भने नागरिकले कुनै प्रश्न वा गुनासो राखेनन् । कार्यक्रममा उनको भूमिका स्वागत मन्तव्यमा मात्र सीमित देखिएको थियो ।
यसैगरी बिहिबार वालिङ नगरपालिकाले वडा नम्वर ८ को सिटीहलमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिक अवधिमा नगरपालिकाले सञ्चालन गरेका भौतिक पूर्वधारका योजना, विषयत समिति अन्तर्गतका सबै गतिविधिहरु सार्वजनिक गरेपनि नागरिकहरुको उपस्थिती भने न्युन रहेको बताइएको छ । वालिङको सदरमुकाममै भएको कार्यक्रममा पनि सेवाग्राही तथा आम नागरिकको उपस्थिति न्यून रहेको सहभागीहरुले बताएका छन् । कार्यक्रममा प्रश्नकर्ता भन्दा जवाफदेही बक्ताहरु धेरै भएको सहभागीहरुले दावी गरे । अघिल्लो आर्थिक बर्षको अन्तिम चौमासिकमा वालिङले सार्वजनिक सुनुवाई वालिङ्कै सिटीहलमा गरेको थियो । यो पटक पनि सोही स्थानमा सार्वजनिक सुनुवाई गरेका कारण सहभागीहरुको कम चासो रहेको अनुमान आयोजकको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही कम उपस्थिति भएको विषयमा वडाध्यक्षहरुले समेत चासो प्रकट गरेको बताइएको छ । सैद्धान्तिक रुपमा हाम्रो समाज भनेको सार बुझ्ने भन्दापनि रुपलाई हेर्ने प्रवृति रहेको जनप्रतिनिधिले बताएका छन् । आफैले निर्वाचित गरेका जनप्रतिनिधिले सही काम गरे कि गरेनन्, राज्यले पठाएका कर्मचारीले सही काम गरेका छन् कि छैनन् भनेर जिज्ञासा राख्नु पर्ने नागरिक बेखबर बन्नुले सार्वजनिक सुनुवाई कार्यक्रमको औचित्य माथी प्रश्न उठेको बताइएको छ । नगरपालिकाका प्रमुख कृष्ण खाँणको अध्यक्षतामा वालिङको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा १ देखि १४ सम्मका वडाध्यक्ष, कार्यापालिका सदस्य, सबै वडाका वडा सदस्य, अन्य कर्मचारी, विभिन्न टोलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया