भाग्योदय पूर्व विद्यार्थी समाजको अध्यक्षमा ढाकाराम खनाल

भीरकोट ।

भाग्योदय भूतपूर्व विद्यार्थी समाजको प्रथम अधिवेशन आइतबार भाग्योदय माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा ढाकाराम खनालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन मण्डलका संयोजक ज्ञानप्रसाद अर्यालका अनुसार अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। नवगठित कार्यसमितिको उपाध्यक्षमा उज्जल रेग्मी, सचिवमा विदुर कोइराला, सहसचिवमा कौशिला रोका थापा तथा कोषाध्यक्षमा भोजबहादुर थापा निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा रिवन कुमार घिमिरे, सरोज अधिकारी, नारायणप्रसाद कोइराला, सरला विक, लोकबहादुर गोदार र हरिबहादुर थापा चयन भएको संयोजक अर्यालले बताए।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले भूतपूर्व विद्यार्थीहरू वैधानिक रूपमा संगठित भएर एकजुट हुनु विद्यालयका लागि अत्यन्त सकारात्मक र प्रेरणादायी विषय भएको बताए। उनले विद्यालय भौतिक पूर्वाधारको दृष्टिले क्रमशः सम्पन्न हुँदै गएको उल्लेख गर्दै अब शैक्षिक गुणस्तर वृद्धिमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, “विद्यालयलाई शैक्षिक रूपमा पनि नमूना बनाउन पूर्व विद्यार्थीहरूले सकारात्मक वातावरण सृजना गर्दै निरन्तर साथ, सहयोग र सुझाव दिनुपर्छ ।”

कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष ढाकाराम खनालले भाग्योदय माध्यमिक विद्यालयसँग आफ्नो व्यक्तिगत र भावनात्मक सम्बन्ध रहेको बताए । खनालले भूतपूर्व विद्यार्थी समाजले विद्यालयको शैक्षिक उन्नयन र भौतिक विकासमा ठोस योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समाजलाई आजीवन सदस्यतामार्फत थप सुदृढ बनाउँदै सबै पूर्व विद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिइएको जानकारी दिए। नवगठित भाग्योदय भूतपूर्व विद्यार्थी समाजले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि एवं भौतिक उन्नयनमा टेवा पुर्‍याउने उद्देश्यका साथ आजीवन सदस्यता वितरण कार्यक्रमलाई तीव्र बनाएको छ। समितिका कोषाध्यक्ष भोजबहादुर थापाका अनुसार हालसम्म १ सय १७ जना पूर्व विद्यार्थीहरूले आजीवन सदस्यता लिइसकेका छन्। उनले आगामी दिनमा देश–विदेशमा रहेका सबै पूर्व विद्यार्थीहरूलाई समाजमा आबद्ध गराउने अभियान सञ्चालन गरिने बताए।

कार्यक्रममा विभिन्न वक्ताहरूले भूतपूर्व विद्यार्थी समाजले विद्यालय र समुदायबीच सेतुको भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले विद्यालयको शैक्षिक, सामाजिक तथा प्राविधिक विकासमा पूर्व विद्यार्थीहरूको अनुभव, सीप र स्रोतको उपयोग गर्न सकिने धारणा राखेका थिए। २०३३ सालमा स्थापना भएको भाग्योदय माध्यमिक विद्यालयले यही माघ १२ देखि १४ गतेसम्म स्वर्ण महोत्सव मनाउन लागेको छ। स्वर्ण महोत्सवको अवसरमा विविध शैक्षिक, सांस्कृतिक तथा विकाससम्बन्धी कार्यक्रमहरू आयोजना गरिने विद्यालय प्रशासनले जनाएको छ। भीरकोटमा नमूना विद्यालय विकास कार्यक्रम कार्यान्वयन गरिरहेको यस विद्यालयमा हाल ४ सय ६४ जना विद्यार्थी अध्ययनरत छन् भने ३५ जना शिक्षक तथा कर्मचारीहरू कार्यरत छन्।

विद्यालयमा पूर्व–प्राथमिक तहदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ। साथै, प्राविधिक शिक्षातर्फ १८ महिने कृषि प्राविधिक विषयको अध्ययनसमेत सञ्चालनमा रहेको छ, जसले विद्यार्थीहरूलाई व्यवहारिक तथा रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको छ। प्रथम अधिवेशनको सफलतासँगै भाग्योदय भूतपूर्व विद्यार्थी समाजले विद्यालयको समग्र विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। समाजले आगामी दिनमा शैक्षिक सुधार, छात्रवृत्ति, भौतिक पूर्वाधार विकास तथा विभिन्न सिर्जनात्मक कार्यक्रममार्फत विद्यालय र विद्यार्थीको हितमा काम गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया