निर्वाचन आचारसंहितामा स्याङ्जाका मिडिया प्रतिवद्ध

वालिङ ।
स्याङ्जाका सञ्चारकर्मीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा आफू पनि प्रतिवद्ध रहने र सरोकारवाला पक्षलाई पनि पालनाका लागि प्रतिबद्ध बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको समन्वयमा बिहिबार वालिङमा आयोजना गरेको कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो । कार्यक्रममा निर्वाचन आचारसंहिता, यसको सन्दर्भ र पालनाका आधारबारे प्रेस काउन्सिलका सदस्य केशव शरण लामिछानेले प्रस्तुति दिएका थिए । आचारसंहिता स्वनियमनको विषय भएको उल्लेख गर्दै उनले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालनामा कसको के भूमिका हुन सक्छ भन्ने विषय स्पष्ट पारे ।

कार्यक्रममा महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले सञ्चारकर्मीले आफूले पालना गर्नुपर्ने आचारसंहिताप्रति पूर्ण प्रतिवद्ध रहनुका साथै निर्वाचनका सरोकारवाला पक्षलाई पनि आचारसंहिता पालनामा खबरदारी गर्ने दोहोरो जिम्मेवारी वहन गर्नुपर्ने बताए । सञ्चारमाध्यमले मतदातालाई उम्मेदवार इंगित गरेर भोट दिन आग्रह गर्नुको सट्टा स्थानीय आवश्यकता र मागका विषय उजागर गर्नु उपयुक्त हुने उनले धारणा राखे । पूर्वअध्यक्ष तथा गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देलले पत्रकारिता क्षेत्रमा विगत र वर्तमानबीच उल्लेख्य परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको सही प्रयोग र व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण रहेको बताए । आचारसंहिता आफैंलाई स्वनियमनमा राख्ने विधि भएकाले यस अवधिमा सबै सरोकारवाला सचेत, संवेदनशील र पालनाप्रति प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए । पत्रकार महासंघ स्याङ्जाका सचिव सुशिल सुवेदीले संचालन गरेको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य बिजयराज अधिकारी, प्रहरी उपरीक्षक दधिराम न्यौपाने, पत्रकार हिमलाल पराजुली, केपी खनाल, रोशन लामिछाने लगायतले निर्वाचनको बेला पत्रकारको भूमिकाका विषयमा बोलेका थिए ।

आफैँले आफैँलाई स्वनियमन र व्यवस्थित गर्न सकेमात्र पत्रकारिता जिम्मेवार हुनसक्ने प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले बताए । हरेक मतदाताले आफ्नो मताधिकार विवेकपूर्ण तरिकाले प्रयोग गर्न सकोस् भन्ने वातावरण निर्माणका लागि पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । अर्यालले उन्नत लोकतन्त्रका लागि उन्नत निर्वाचन प्रणाली आवश्यक पर्ने भएकाले मतदातालाई मतदान केन्द्रसम्म ल्याउने वातावरण बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गरेर मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । निर्वाचनका समयमा हुने विभिन्न किसिमका बहसलाई प्रभावित गर्ने माध्यम पनि आमसञ्चारमाध्यम भएकाले ‘वाचडग’को भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । निर्वाचनका विषयमा हुनसक्ने नकारात्मकता घटाएर विश्वसनीय रुपमा निर्वाचन सम्पन्न गराउन आमसञ्चारमाध्यम र पत्रकारले भूमिका खेल्नुपर्ने गौतमको भनाइ थियो । सही सूचना नपाउँदा आममानिस भ्रम र गुमराहमा पर्ने भएकाले आमसञ्चारमाध्यम एवं पत्रकारले सकारात्मक भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमको समापन गर्दै प्रेस काउन्सिलका गण्डकी प्रदेश आचारसंहिता संयोजक भिमलाल श्रेष्ठले आचारसंहिता पालनामा सञ्चारकर्मी प्रतिबद्ध रहेको र आचारसंहिता लागू अवधिभर यसको प्रभावकारी कार्यान्वयनमा सक्रिय रहने विश्वास व्यक्त गरे । उनले निर्वाचनपूर्व अवधि, मतदानको दिन, मतगणना र परिणाम सार्वजनिक नहुन्जेलसम्म सबै पक्षले आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने बताए । बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थामा पत्रकारसँग राजनीतिक विचार भए पनि निर्वाचनका बेला दलगत रुपमा प्रस्तुत नभई निर्वाचनलाई स्वच्छ बनाउन भूमिका खेल्नुपर्ने श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया