गल्याङमा मनोसामाजिक परामर्श तालिम सम्पन्न
गल्याङ ।
गल्याङ नगरपालिकाले प्रत्येक वडामा वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श संचालन गर्दै आएको छ । सुरक्षित आप्रवासन (सामी) ले प्रत्येक वडामा बैदेशिक रोजगारीमा जाने र फर्केका व्याक्ति वा उनका परिवारलाई वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श तालिम गर्दै आएको छ । यसै अन्तर्गत गल्याङ नगरपालिका वडा नम्बर –८ मा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले नगरभित्रका नागरिकलाई आयआर्जनमा जोड्न यस्ता परामर्श कार्यक्रमले भुमिका खेल्ने बताए । २१ हप्तेसम्म लिइएको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाले पक्कै पनि परिवर्तनको संकेत दिने विश्वास नगर प्रमुख भट्टराईले गरे । नगरलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडी बढिरहेको बताउदै नगर प्रमुख भट्टराईले यस कार्यमा सबै नगरवासीले साथ र सहयोग गर्न आग्रह गरे ।
तालिममा वैदेशिक रोजगारीमा जाने वा फर्किएका व्यक्तिहरू तथा तिनका परिवारका सदस्यहरूलाई आर्थिक रूपमा सशक्त बनाउनुका साथै मानसिक रूपमा सक्षम, सहभागी महिलाहरूलाई आय–व्यय व्यवस्थापन, बचत तथा लगानीको सही तरिका, ऋण व्यवस्थापन तथा साना उद्यम सञ्चालन सम्बन्धी ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका प्रमुख खगेन्द्र भण्डारीले जानकारी दिए । गल्याङ नगरपालिका वडा नं. ८ मा सञ्चालन भएको उक्त कार्यक्रममा २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
साथै, वैदेशिक रोजगारीका कारण उत्पन्न हुने तनाव, चिन्ता तथा सामाजिक समस्याहरूलाई न्यूनीकरण गर्न मनोसामाजिक परामर्श मार्फत सकारात्मक सोच र व्यवहार विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया