जिसस स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जिटी

स्याङ्जा ।
जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली काँग्रेसका श्रीप्रसाद जिटी र उपप्रमुखमा नेकपा एमालेका खडगराज सुवेदी लगायतका ९ सदस्यले सपथ ग्रहणसंगै पदबहाली गरेका छन् । जिल्लाका ११ पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र एमालेको बराबरी ११÷११ मतभार भएपछि दुई राजनीतिक दलबीचको छलफलबाट जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको लागि गोला प्रथाबाट चयन गरिएको हो ।
गोला तान्दा नेपाली काँग्रेसलाई प्रमुख र नेकपा एमालेलाई उपप्रमुख परेको थियो । काँग्रेसबाट जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जि.टी. र ३ जना सदस्य तथा नेकपा एमालेले उपप्रमुख सहित ४ सदस्य पाएपछि सोही बमोजिम पद बिभाजन गरी ४ दिनअघि उम्मेदवारी दर्ता गरिएको थियो । यसैगरी, नेपाली काँग्रेसतर्फका सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँण तथा नेकपा एमालेको तर्फबाट उपप्रमुख सहित अन्य सदस्यमा कृष्णप्रसाद सुबेदी, भोजबहादुर दर्लामी, निरमाया पराजुली र निर्मला सार्की निर्वाचित भएका छन् ।
सबैको एकल उम्मेदवारी परेपछि जिससमा निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख, उपप्रमुख सहित सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले प्रमाणपत्र बितरण सहित सपथ ग्रहण गराएका थिए । यो सँगै स्थानीय तहको निर्वाचनका सबै काम सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको जनाउदै सहयोग गर्नै सबैप्रति पौडेलले धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी, उपप्रमुख खडगराज सुवेदीले जनमतको कदर गर्दै हरेक विकास निर्माणका कार्यमा समन्वयात्मक भूमिका रहने प्रतिवद्धता जनाए । यसैगरी, निवर्तमान प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, नेकपा एमालेमा अध्यक्ष सुर्यप्रसाद गैहै (पारस), नेपाली काँग्रेसका उपसभापति केदार काफले, माओवादी केन्द्रका कल्पना अर्याल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद पौडेल लगायतले समन्वयकारी भूमिकाका लागि आफुहरु तयार रहेको बताए । जिससको कामलाई प्रभावकारी बनाउदै समग्र जिल्लाको विकासमा दुबै राजनीतिक दलबीच सहकार्य र एकता हुनेमा आफु विस्वस्त रहेको निवर्तमान प्रमुख सिता सुन्दासको भनाई छ ।
जिसस प्रमुखमा निर्वाचित भएका जिटी नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति हुन् । प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल परेका जिटी काँग्रेसका संस्थापक नेता वी.पी. कोइरालासँगै मुद्दा खेप्ने व्याक्ति हुन् । स्याङ्जा बम काण्डका एक साक्षी समेत रहेका जिटी राजनीतिक यात्रामा ३ बर्ष जेल जीवन बिताएका छन् । ७३ बर्षिय जिटीलाई काँग्रेसले जिससको प्रमुख बनाएपछि काँग्रेस पाटीले अग्रज नेतालाई सम्मान गरेको भन्दै प्रशंसा गरिएको छ ।
प्रतिक्रिया