स्याङ्जामा सबै उम्मेदवारद्वारा समयमै चुनावी खर्च विवरण पेश
वालिङ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जाका सबै प्रत्यक्षतर्फका उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण समयमै निर्वाचन कार्यालयमा बुझाएका छन्। प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारहरूले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ, जसअनुसार यहाँका २४ जना उम्मेदवारले उक्त प्रावधान पालना गरेका हुन्। यस जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नं–१ मा एक स्वतन्त्रसहित १२ जना र क्षेत्र नं–२ मा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका थिए। दुवै क्षेत्रका सबै उम्मेदवारहरूले आफ्नो खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुका साथै सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार उम्मेदवारहरूले मुख्यतः मनोनयन दर्ता, मतदाता नामावली छपाई तथा फोटोकपी, प्रचारप्रसार, मतदाता प्रशिक्षण, सम्पर्क कार्यालय सञ्चालन, स्टेशनरी तथा सञ्चार शीर्षकमा खर्च गरेका छन्। उम्मेदवारहरूको खर्च विवरणले चुनावी गतिविधिमा हुने खर्चको प्रवृत्तिलाई पनि स्पष्ट पारेको छ। क्षेत्र नं–१ मा सबैभन्दा बढी खर्च नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले गरेका छन्। उनले २७ लाख ९ हजार ६६ रुपैयाँ खर्च विवरण पेश गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङले २० लाख ५३ हजार ५ सय ५५ रुपैयाँ खर्च गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनन्जय रेग्मीले १९ लाख ४० हजार रुपैयाँ खर्च गरेको देखिएको छ।
यसैगरी नेकपाका शैलेन्द्र घिमिरेले ३ लाख ५ हजार ४ सय १८ रुपैयाँ, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विकले २ लाख ५७ हजार ४० रुपैयाँ खर्च गरेका छन्। मङ्गोल नेशनल अर्गानाइजेसनका यामबहादुर गुरुङले १ लाख ६० हजार २ सय ७० रुपैयाँ खर्च गर्दा स्वतन्त्र उम्मेदवार अशोक बिष्टले १ लाख २८ हजार ७ सय रुपैयाँ खर्च गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर रानाले १ लाख १४ हजार ९ सय ५८ रुपैयाँ खर्च गरेका छन् भने उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले ९७ हजार ५ सय रुपैयाँ खर्च गरेका छन्। श्रम संस्कृति पार्टीका पिरन गुरुङले ३९ हजार १ सय १० रुपैयाँ, नेकपा माओवादीका सोमबहादुर परियारले १३ हजार २ सय ५० रुपैयाँ खर्च गरेका छन्। सबैभन्दा कम खर्च नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले गरेका छन्, जसको खर्च विवरण ९ हजार ९ सय ३१ रुपैयाँ रहेको छ।
क्षेत्र नं–२ मा भने सबैभन्दा बढी खर्च राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गरेका छन्। उनले १४ लाख २६ हजार ५ सय ९६ रुपैयाँ खर्च गरेका छन्। त्यसपछि नेकपा एमालेका खिमबहादुर थापाले १४ लाख २१ हजार १ सय ८० रुपैयाँ खर्च गरेका छन्। नेपाली काँग्रेसका भागवतप्रकाश मल्लले १० लाख ४० हजार १५ रुपैयाँ खर्च गरेका छन् भने नेकपाका पदमबहादुर विकले ६ लाख ७८ हजार ४ सय ५० रुपैयाँ खर्च गरेका छन्। यसैगरी नेशनल रिपब्लिक नेपाल पार्टीका तेजबहादुर थापाले १ लाख ५२ हजार १ सय ९५ रुपैयाँ खर्च गरेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापाले ९२ हजार ५ सय ८० रुपैयाँ खर्च गर्दा मङ्गोल नेशनल अर्गानाइजेसनका खर्कबहादुर थापाले ४८ हजार ७ सय ७५ रुपैयाँ खर्च गरेका छन्। राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रेले ४१ हजार ६ सय ६१ रुपैयाँ, स्वतन्त्र उम्मेदवार खि बहादुर थापाले २८ हजार ७ सय ७० रुपैयाँ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठकले २० हजार १ सय २ रुपैयाँ खर्च गरेका छन्।
यस क्षेत्रमा सबैभन्दा कम खर्च स्वतन्त्र उम्मेदवार सागर थापा मगर र जय मातृभूमि पार्टीका धनबहादुर थापाले गरेका छन्। उनीहरूले जनही १०–१० हजार रुपैयाँ मात्र खर्च गरेको विवरण पेश गरेका छन्।
निर्वाचन अधिकृत श्रीराम थापाका अनुसार सबै उम्मेदवारले कानुनी प्रावधानअनुसार समयमै खर्च विवरण बुझाएका छन्, जसले निर्वाचन प्रक्रियामा पारदर्शिता कायम गर्न सहयोग पुगेको छ। साथै सामाजिक सञ्जालमा समेत खर्च विवरण सार्वजनिक गरिनुले मतदातालाई जानकारी पाउने अवसर दिएको उनले बताए।
समग्रमा हेर्दा यस निर्वाचनमा उम्मेदवारहरूबीच खर्चको ठूलो अन्तर देखिएको छ। केही उम्मेदवारहरूले लाखौं रुपैयाँ खर्च गर्दा केहीले न्यूनतम खर्चमै चुनावी प्रतिस्पर्धा गरेका छन्। यसले चुनावी प्रतिस्पर्धामा आर्थिक पक्षको प्रभाव र विभिन्न उम्मेदवारको रणनीति फरक–फरक रहेको देखाउँछ।


प्रतिक्रिया