विद्यार्थी भर्ना अभियान लत्याएर प्रअहरु भ्रमणमा
वालिङ ।
वालिङ नगर प्रमुख कृष्ण खाँणले बैशाख ८ गते एउटा पत्र सार्वजनिक गरे । खाँणले हस्ताक्षर गरेको पत्रमा वालिङ नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई निर्देशन थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको पत्र विपरीत वालिङ नगर शिक्षा समितिले गरेको निर्णय बमोजिम बैशाख १० गतेबाट पठनपाठन शुरु गर्नु भन्ने उल्लेख गरिएको थियो । खाँणले जारी गरेको पत्र अनुसार नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभुत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहलाई दिएकोले बैशाख १० गते अनिवार्य पठनपाठन शुरु गर्नु भन्ने निर्देशन दिए ।
नगर प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका खाँणले जारी गरेको पत्रलाई वालिङका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले लत्यादिएका छन् । नयाँ शैक्षिकसत्र शुरु हुने बेलामा वालिङका सामुदायिक विद्यालयका ४१ जना प्रधानाध्यापकहरु अध्ययन अवलोकन भन्दै शैक्षिक भ्रमणमा हिडे । उनीहरुको साथमा शिक्षा शाखाका दुईजना कर्मचारी समेत संलग्न छन् । जसले गर्दा नगर प्रमुखकै अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यन्वयनमा फितलो हुने देखिएको छ ।
चारदिने अध्ययन अवलोकन शैक्षिक भ्रमणका लागि निस्केका प्रधानाध्यापकहरुलाई नगरपालिकाका प्रमुख कृष्ण खाँण र उपप्रमुख कविता तिवारीले अविर र खादा लगाएर बिदाई गरेका थिए । वालिङ नगरपालिकाको नगर शिक्षा समितिको बैशाख ८ गते बसेको निर्णय अनुसार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक भ्रमण गराइएको हो । उक्त भ्रमणको खर्च वालिङ नगरपालिकाले व्यहोर्ने बताइएको छ ।
बैशाख ८ गते बसेको नगर शिक्षा समितिले दुईओटा विवादास्पद निर्णय गरेको बताइएको छ । त्यो हो बैशाख १० गतेबाट पठनपाठन शुरु गराउने र प्रअहरुलाई भ्रमणको स्विकृति दिने । यो निर्णय अहिले विवादमा परेको छ । नयाँ शैक्षिकसत्र शूरु हुनेबेला सरकारी विद्यालयका प्रधानाध्यापकलाई भ्रमणमा पठाएर नगरपालिकाको नगर शिक्षा समितिले गैरजिम्मेवारपुर्ण निर्णय गरेको भन्दै अभिभावकहरु आक्रोशित छन् ।
एकातिर बैशाख १० गतेबाट पठनपाठन शुरु गर्नु भनेर निर्देशन दिने अर्कोतर्फ बैशाख १० गतेनै प्रअहरुलाई भ्रमणको स्विकृति दिनुले खाँणले गैहजिम्मेवारी काम गरेको भन्दै अभिभावकहरु आक्रोशित भएका हुन् । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घटिरहेको छ । यो समय विद्यार्थी खोज्ने, विद्यालयको पहुँचमा नपुगेका बालवालिकालाई विद्यालयसम्म पु¥याई भर्ना अभियान संचालन गर्ने बेलामा प्रधानाध्यापकहरुको भ्रमणले सामुदायिक विद्यालयलाई अझै खस्कदो बातावरणमा लैजान नगरपालिकाले भुमिका खेलेकोे आरोप अभिभावकहरुले लगाएका छन् ।
यस बिषयमा बुझ्न नगर प्रमुख कृष्ण खाँण, शिक्षा शाखाका अधिकृत दुर्गा न्यौपाने गैह्रेलाई फोन सम्पर्क गर्न खोजेको टेलिफोन उठ्न सकेन । वालिङ नगरभित्र अहिले ६० ओटा सामुदायिक विद्यालय छन् । गतबर्ष मात्रै झण्डै १ दर्जन आधारभुत विद्यालय मर्जर भएका थिए । सरकारले लगानी गरेका विद्यालय विद्यार्थीकै अभावमा मर्जरमा लैजानुपर्ने बाध्यता भोगेका बेला नगरपालिकाले भर्नाकै समयमा विद्यालयको प्रशासन चलाउने प्रअहरुलाई पालिकाकै खर्चमा भ्रमणमा पठाउनुले राम्रो सन्देश नभएको स्थानीयहरु बताउछन् ।
यसैबिच बैशाख ८ गते नै नगर शिक्षा समितिको बैठकले वालिङ नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयको पढाई बिहान ९ बजेबाट बेलुका ४ बजेसम्म गर्ने निर्णय सगै निर्देशन समेत दिएको छ । यो बिषय पनि अहिले विवादित बनेको छ । वालिङ नगरपालिका बेला—बेलामा शिक्षाकै बिषयमा विवादित बन्दै आएको छ । अदालत देखी अख्तियार सम्म मुद्धा खेपेको वालिङ नगरपालिकाले विवादित निर्णय गरेकै कारण बिवादमा आउने गरेको छ ।


प्रतिक्रिया