नेल्टा अंग्रेजी पढाउने शिक्षकहरुको एक विशुद्ध पेशागत संगठन हो

कमलराज लम्साल,
वरिष्ठ उपाध्यक्ष, नेल्टा गण्डकी प्रदेश
२०६० मा शिक्षक बनेर पूर्णामृत भवानी माध्यमिक विद्यालय र वालिङ बहुमुखी क्याम्पसमा प्रवेश गर्नु भएका कमलराज लम्साल हाल नेल्टा गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । शिक्षण सिकाईको समग्र अवस्था तथा नेल्टाको भूमिकाको विषयमा पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालसंग भएको कुराकानीको सारसंक्षेप ः
१. कमल सर आराम हुनुहुन्छ ?आफ्नो छोटो पेशागत परिचय दिनुहोस् न ।
हजुर, अमृत सर आराम छु । म हालसालमा श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ–१, खहरेमा माध्यमिक तहको शिक्षक र वालिङ बहुमुखी क्याम्पसमा आंशिक प्रध्यापकको रुपमा अंग्रेजी विषयको अध्यापन गरिरहेको छु । सांगठनिक रुपमा नेपाल अंग्रेजी भाषा शिक्षकहरुको संगठन (नेल्टा) को गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षण संयोजकको रुपमा रहेर स्वेच्छाले काम गरिरहेको छु ।
२. अन्तर्राष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषाका शिक्षकहरुको संगठन नेल्टाको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुदै हाल गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा बसेर बागडोर सञ्चालन गरेका नाताले नेल्टालाई कसरी चिनाउनुहुन्छ ?
नेल्टा अंग्रेजी पढाउने शिक्षकहरुको एक विशुद्ध पेशागत संगठन हो । नेल्टाले नेपालमा अंग्रेजी भाषा शिक्षणको गुणस्तरवृद्धि गर्ने उद्देश्यले गैर–सरकारी, गैर–राजनीतिक, गैर–नाफामुखी, पेशागत संगठनको रुपमा मान्यता पाएको छ । नेल्टा नेपालभित्रका सबै अंग्रेजी शिक्षकहरुको (प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मका) पेशागत विकासमा सहयोग पु¥याउने साझा मञ्च हो । यसको मुख्य उद्देश्य विभिन्न शैक्षिक क्रियाकलापमार्फत अंग्रेजी भाषाको शिक्षण र सिकाइमा सहयोग पु¥याउनु हो । यसले शिक्षकको पेशागत विकास र अंग्रेजी भाषाको शिक्षण सिकाइमा सुधारको लागि अंग्रेजी शिक्षकहरुको वार्षिक रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मेलनहरु गर्ने, शिक्षक तालिमहरु सञ्चालन गर्ने, आफ्नै मानव स्रोत विकास गर्ने, शिक्षण सिकाइको लागि सामग्रीहरुको विकास गर्ने, निरन्तर आफ्नै प्रकाशन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय र सहकार्य गरेर गोष्ठि तथा कार्यशाला सञ्चालन गर्ने, विदेशी शैक्षिक संस्थाहरुसँग समन्वय गरी त्यहाँबाट प्राप्त हुने छात्रवृत्तिको लागि नेपालभित्रका अंग्रेजी शिक्षकहरुलाई सिफारिस तथा सहजीकरण गर्ने जस्ता कार्यहरु गर्दछ । कुनै संस्थाबाट माग भएमा अंग्रेजी भाषासँग सम्बन्धित प्रशिक्षणमा सहजीकरण गर्ने काम पनि नेल्टाले गर्छ ।
३. अहिले अंग्रेजी शिक्षकको अवस्था कस्तो छ ?
नेपालमा अंग्रेजी शिक्षकहरुको मात्र छुट्टै किसिमको अवस्था त छैन । सवै बिषय शिक्षकहरुको अवस्था उस्तै उस्तै नै हो । कुनै ठाउँमा कुनै अंग्रेजी शिक्षकको अवस्था आफ्नो मेहनत र कार्यरत सस्थाको अवस्था र नियमानुसार फरक हुन सक्छ । नौसिखिया शिक्षकहरुलाई र पेशागत रुपमा सहयोगको महसुस भएका शिक्षकहरुलाई नेल्टाले आवश्यक सहयोग गरी सक्षम बनाउने काम गर्छ । यसले गर्दा अंग्रेजी शिक्षकहरुको अवस्था नाजुक चाँही छैन ।
४. तपाईं सामुदायिक क्याम्पस तथा विद्यालयमा कार्यरत हुनुहुन्छ, यी शिक्षण संस्थाहरुमा काम गर्नका लागि असहजता छ ?
मैले व्याक्तिगत रुपमा भन्दा सामुदायिक क्याम्पस तथा विद्यालयमा काम गर्न त्यति असहजता त छैन तर समग्रको कुरा गर्दा त्यति सहजता पनि छैन । सामुदायिक संस्थाहरु राजनीतिक गतिविधिहरुबाट टाढा रहन नसक्ने हो भने भविष्य राम्रो देखिदैन् ।
५. निजी विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरुको आकर्षण बढिनै देखिएको छ । के चिज छन् र निजी विद्यालयहरुमा त्यस्तो जुन सामुदायीक विद्यालयहरुमा छैनन् ? सामुदायीक विद्यालयहरु प्रति विद्यार्थी तथा अभिभावकहरुको ध्यानाकर्षण गर्न के के गर्नु पर्ला ?
अभिभावकहरुले आफ्ना छोराछोरीका लागि निजी विद्यालय रोज्नुको मुख्य कारणहरुमा निजी विद्यालयहरुमा भएका उत्तम विद्यार्थी अनुशासन, विद्यालय सरसफाइ र राम्रो सिकाइ वातावरण, कक्षाको आकार सानो र शिक्षक विद्यार्थी बिच नजिकको सम्बन्ध, सुधारिएको विद्यार्थी सुरक्षा, बच्चाको लागि थप व्यक्तिगत ध्यान, बच्चाको आधारभूत सीप विकासमा ध्यान, कमजोर विद्यार्थीहरुको लागि वैकल्पिक व्यवस्था (अतिरिक्त कक्षाहरु तथा छुट्टै पृष्ठपोषण), प्रविधिको प्रयोगमा अग्रता, शीर्ष शैक्षिक संस्थाहरुमा प्रवेश गर्ने अवसर बढि, सामुदायीक विद्यालयको तुलनामा औसतमा विद्यार्थी उपलब्धि राम्रो आदि कुराहरु पर्न सक्छन् । निजी विद्यालयहरुमा महँगो शिक्षा, घोकन्ते सिकाइ, अतिरिक्त समय र फि, शिक्षकको योग्यता स्तर सम्बन्धी नियमनको अभाव, शिक्षकहरुको सेवा र सुविधामा कमि, दबावको उच्च स्तर हुदाँ हुदैँ पनि आकर्षण देखिएको छ । सामुदायीक विद्यालयहरुले मनोरञ्जनात्मक सिकाइ वातावरण सृजना गर्न, विद्यार्थीहरुको सुरक्षामा ब्याक्तिगत ध्यान दिन, परियोजना कार्य सहितको उच्च तहको शिक्षण सिकाइ गर्न, विद्यार्थी अनुशासनमा अझ बढि ध्यान दिन, निरन्तर विद्यार्थी सल्लाह र मार्गदर्शन गर्न, कक्षा साना बनाइ शिक्षक र विद्यार्थी विचको नजिकको सम्वन्ध कायम गराउन, न्यूनतम सिकाइ उपलब्धिको ग्यारेन्टी दिन, कम्तिमा पनि विद्यालयमा उपलब्ध भएको प्रविधिको शिक्षणमा प्रयोग गर्न, मूल्यांकनको लागि परीक्षा र नतिजा विष्लेशण गरि सोहि अनुसार निदानात्मक र उपचारात्मक शिक्षण गर्न, दण्ड र पुरस्कारको ब्यवस्था मिलाउन, सिकाइ सामग्री भएको प्रविधिहरुमा विद्यार्थीहरुको पहुँच बढाउन, शिक्षक तथा प्र. अ. जिम्मेवार बन्न सकेमा केहि हदसम्म विद्यार्थीहरुको ध्यान सामुदायीक विद्यालयतिर आकर्षित गर्न सकिन्छ । यसका अतिरिक्त अभिभावकको नियमित विद्यालय आगमन, नियमित सुपेरिवेक्षण र शिक्षक परामर्श, पारदर्शी, दुरदर्शी र स्पष्ट शिक्षा नीति भएमा सामुदयीक विद्यालयलाई सहज हुन्छ ।
६. तपाईं आफै शिक्षकहरुको समेत प्रशिक्षक हुनुहुन्छ, तपाईं आबद्ध विभिन्न संस्थाले शिक्षक तालिम सञ्चालनमा ल्याएको पाइन्छ, शिक्षक तालिमको सान्दर्भिकतालाई कसरी हेर्नुभएको छ ?
हो म प्रशिक्षक भएर धेरै लामो समयदेखि काम गरिरहेको छु । नेपाल सरकारमार्फत सञ्चालन भएका र नेल्टामार्फत सञ्चालन भएका धेरै शिक्षक तालिमहरुमा प्रशिक्षकको भुमीका निर्वाह गरेको छु । नेल्टामार्फत भएका तालिमहरु तुलनात्मक रुपमा धेरै प्रभावकारी तथा सान्दर्भिक भएको कुरा तालिममा सहभागी साथीहरुले भन्ने गर्नुहुन्छ । शिक्षक तालिम भनेको जीवनपर्यन्त सिकाइ हो । यो अत्यान्त सान्दर्भिक हुन्छ नै । शिक्षक तालिमले शिक्षकहरुलाई आफ्नो सामान्य कौशल अर्थात सीप र ज्ञानमा सुधार गर्न, समय व्यवस्थापन गर्न, शैक्षिक प्राविधिक ज्ञान आर्जन गर्न, मनोबल वृद्धि गर्न, विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने तरिकाहरु सिक्न र उनीहरुले सिक्ने तरिका सिकाउन तथा शिक्षण सीपमा सुधार गर्न मद्दत गर्ने हुँदा तालिम सान्दर्भिक छ । तालिम शिक्षकको पेशागत विकास मात्र नभई समग्र संस्थागत सुधारको माध्यम पनि हो । म आफू पनि सरकारी विद्यालयमा कार्यरत भएकोले धेरै तालिम लिने अवसरहरु पनि प्राप्त गरेको छु । नेपाल सरकारमार्फत् विद्यालय शिक्षकहरुलाई दिइने तालिममा केही सुधार गर्नुपर्ने पक्षहरु देखिएका छन्, जस्तैः तालिमको लागि शिक्षक प्रोत्साहन र प्रेरणामा कमी, तालिमको लागि शिक्षक सिफारिस प्रक्रियामा त्रुटि, शिक्षकहरुको तालिमप्रति चासो र रुचिमा कमी, तालिममा माग र पूर्तिबिच बेमेल, तालिमपछि हुनुपर्ने अनुगमन गतिविधिहरुमा कमि, तालिमप्रतिको नकारात्मक र तुच्छ मनोवृत्ति, तालिमका दिनहरु छोट्टाउने काम, एक विषयको तालिम अर्को विषयको प्रशिक्षकबाट चलाउने काम र तालिमलाई सिकइको अवसरको रुपमा भन्दा पनि टाइमपास, रमाइलो र मनोरञ्जनको अवसरको रुपमा लिनु आदि । यी कुराहरुले तालिमको सान्दर्भिकतामा आँच पुगेको छ । कतिपय तालिमहरु शिक्षकको पेशागत विकास गर्नको लागि भन्दापनि कार्यक्रम सम्पन्न गर्नको लागि भएका छन् । यस्ता कुराहरु सुधार्न सक्यौं भने तालिमको सान्दर्भिकता र प्रभावकारीता अवश्य बढ्नेछ ।
७. तपाईं आबद्ध संस्था नेल्टाले कस्ता कस्ता शिक्षक तालिमका कार्यक्रम सञ्चालनमा ल्याएको छ ?
नेल्टाले सञ्चालन गर्ने मुख्य तालिम सेवाकालीन शिक्षक तालिम हो । सेवामा रहेका शिक्षकहरुको पेशागत विकास गर्नु नेल्टाको मुख्य उद्देश्य हो । सरकारी, निजी वा अन्य प्रकारका शिक्षण संस्थामा रहेका सम्पूर्ण अंग्रेजी शिक्षकहरु नेल्टाका लक्षित वर्ग हुन् । नेल्टाले मागमा आधारित तालिम, क्षमता अभिबृद्धि तालिम, अनुसन्धान र अनुसन्धान प्रतिवेदन लेखनसँग सम्वन्धित तालिम, कक्षाकोठाको भाषासँग सम्बन्धित तालिम सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त नेल्टाले संसद सदस्यहरुलाई र वकिल तथा अधिवक्ताहरुलाई पनि अंग्रेजी भाषा सिकाउने गरेको छ । नेल्टासँग विश्वका ख्यतिप्राप्त विश्वविद्यालयहरुबाट प्रशिक्षित प्रशिक्षकहरु हुनुहुन्छ ।
८. तपाईंले पनि विश्वका ख्यतिप्राप्त विश्वविद्यालयहरुबाट प्रशिक्षण लिने अवसर प्राप्त गर्नु भएको छ ? यहाँले पेशागत दक्षता हासिल गर्न गरेका प्रयासहरु छोटकारीमा बताइदिनुहोस् न ।
केही बर्ष पहिला बेलायतको क्याम्ब्रिज युनिभर्सिटिको होमर्टन कलेजमा गएर प्रशिक्षक प्रशिक्षणमा सहभागी हुने अवसर ब्रिटिस काउन्सिल र नेल्टामार्फत् प्राप्त गरेको थिएँ । यसले आफूमा प्रशिक्षकको लागि निखारता ल्याएको महशुस गरेको छु । यसको अतिरिक्त नेपाल सरकार, नेल्टा, ब्रिटिश काउन्सिल, अमेरिकन एम्बेसीमार्फत् दिइएका धेरै फिजिकल र भर्चुअल प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भएको छु । विभिन्न जर्नलहरुमा लेख रचनाहरु प्रकाशन गरेको छु र हालसालै सहलेखनमा शिक्षक सेवा आयोगको प्राथमिक तहको खुल्ला प्रतियोगिताको लागि सहयोगी पुस्तक पनि प्रकाशन भएको छ ।
९. तपाईं लामो समय शिक्षण पेसामा आबद्ध, लेखक, प्रशिक्षक तथा विद्वतवर्ग हुनुहुन्छ । यहाँले नेतृत्व गरेका संघसंस्थाका धेरै खालका कुरा सुनिएका छन् । यो अवधिमा मैले गरेँ भन्न लायक काम केके छन् ?
नेल्टा एउटा सामुहिक पेशागत मञ्च हो । यसमा मैले यो गरेँ भन्दा पनि म आफू संलग्न भएर वा मैले नेतृत्व गरेर के के गरेँ भन्ने कुरा आउँछ । म पढाइ सकेर जागिरको सिलसिलामा स्याङ्जा आइसकेपछि सन् २००५ मा स्याङ्जामा नेल्टाको शाखा विस्तार गरियो । त्यस समयबाट अहिलेसम्म स्याङ्जामा नेल्टा शाखा सक्रिय नै छ । मैले स्याङ्जामा नेल्टा शाखाको सचिव र अध्यक्ष, केन्द्रमा सदस्य हुँदै हाल गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्ष तथा तालिम संयोजकको भूमिकामा रही स्वेच्छिक रुपमा काम गरिरहेको छु । हाल म नेल्टा गण्डकी प्रदेशको तालिम संयोजक र प्रकाशन संयोजक, नेल्टा केन्द्रको अनलाइन पत्रिकाको सम्पादक, नेल्टाका विभिन्न कार्यक्रमको प्रशिक्षक, रिपोर्टर, पर्यवेक्षक एवं प्राविधिक भएर काम गरिरहेको छु । नेल्टा स्याङ्जा, वालिङ नगरपालिका, नेल्टा केन्द्र र अमेरिकन एम्बेसीसँग समन्वय गरी श्री रणवीर जनहित माध्यमिक विद्यालयमा माइक्रो स्कोलरसिप कार्यक्रम सञ्चालन गर्न सहयोगी भूमिका खेलेको थिए । उक्त कार्यक्रमको फोकल पर्सनको रुपमा काम गरेर कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भुमिका खेलेको थिए । नेल्टले स्थापना गरेको कोभिड राहत कोषमा रकम जम्मा गर्ने, कोभिडकै कारणले बिमारी पर्नुभएका साथीहरुलाई उक्त कोषबाट रकम विनियोजन गरेर सहयोग गर्ने, अन्य गम्भिर बिमारी पर्नुभएका साथीहरुलाई मेरो नेतृत्वमा नेल्टामार्फत् थोरै भएपनि सहयोग जुटाउने काममा अग्रणि भूमिका निर्वाह गरेको थिएँ र गरिरहेको छु । यस्ता कार्यहरुले नेल्टाले आफ्ना सदस्यहरुको पेशागत विकासका अतिरिक्त अन्य गम्भीर प्रकारका आवश्यकता भएका सदस्यहरुलाई पनि सहयोग गर्दछ भन्ने देखाउँछ । मेलै आफ्नै पहलमा ब्याकप्याकिङ फोर बेटी नामक संस्थासँग समन्वय गरी वालिङ नगरपालिकाभित्रका २७ वटा विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा करिव ७५ वटा अमेरिकन प्रविधिको, उच्च स्तरको फिल्टर वितरण गरे । यो नेपालको एउटा पानी परियोजना हो जसले दूषित पानीको स्रोत भएका विद्यालयहरुमा फिल्टर, शैक्षिक सामग्री र बाल्टिनहरु वितरण गर्ने काम गर्छ । नेल्टाको नेतृत्वमा भएको कारणले पिस कोर नेपालसँग पनि समन्वय गरी स्याङ्जामा अमेरिकन स्वयमसेवी शिक्षकहरुको लागि विद्यालय सिफारिस गर्ने गरेको छु । वालिङ नगरपालिकामा पनि स्वयमसेवी शिक्षकहरु हुनुहुन्थ्यो । कोरोनाको कारणले उहाँहरु फिर्ता जानु भयो । अब फेरि त्यो कार्यक्रम सुरु हुने प्रक्रियमा छ ।
१०. विद्यालयको सम्पत्ति भनेको त्यहाँका शिक्षकहरु हुन् । नेपालमा शिक्षण पेसामा रुचि नै कम देखिएको छ । यसको व्यवस्थापनका लागि कस्तो योजना बनाउनुपर्ला ?
पक्कै पनि विद्यालयको सम्पत्ति भनेको त्यहाँका शिक्षकहरु हुन् र यो हुदाँहुदै पनि शिक्षण पेशामा योग्य जनशक्तिको रुचि कमी देखिएको छ । यसको मुख्य कारण हाम्रो समाजको, उच्च विद्वत वर्गहरुको र उच्च घरानाहरुको शिक्षण पेशा प्रतिको दृष्टिकोण हो । हाम्रो समाजमा शिक्षण पेशालाई तुच्छ दृष्टिकोणले हेरिनु, यसलाई तल्लो दर्जाको पेशा मानिनु, अन्य पेशा (जस्तै निजामती सेवा) सरहको सेवा सुविधा नहुनु, सरकारबाट नै वेला वेलामा शिक्षण पेशालाइ विभेदमा पार्नु, शिक्षण पेशामा नीतिगत विभेदको महसुस हुनु, शैक्षिक माफियाहरु हाबी हुनु, शिक्षकहरुलाई राजनीतिको माध्यम बनाइनु, अदूरदर्शी निर्णयहरु गरेर अस्थिरता सृजना गरिनु, शिक्षकहरु मर्यादाक्रममा नपर्नु, गुणस्तरीय जनशक्ति भित्राउने रणनीतिहरु नहुनु, सेवामा टिकाउका कार्यक्रमहरु नहुनु, विद्यालय शिक्षा सेवालाई पनि लोकसेवा आयोग अन्तर्गतको एउटा छुट्टै सेवा नबनाइनु, शिक्षण सेवाबाट अन्य सेवामा प्रवेश गर्ने द्वार बन्द हुनु, निजामती सेवाबाट प्रशासित हुनु आदि जस्ता कुराले शिक्षण पेशाप्रति दक्ष जनशक्तिको रुचि देखिएको छैन् । नीतिगत रुपमा यी कुराहरुलाई जति मिनिमाइज गर्दै जान सकिन्छ त्यतिनै शिक्षण सेवामा दक्ष जनशक्तिको प्रवेश र टिकाउको दर पनि बढ्दै जान्छ ।
११. विदेश पढ्न जाने विद्यार्थीको संख्या पछिल्लो समयमा डरलाग्दो छ यसलाई कसरी नियन्त्रण गर्न सकिएला ?
बढ्दो प्रविधिको प्रयोगले गर्दा यो संसार एउटा सानो र विश्वव्यापी गाउँ भएको छ । विश्वको जुनसुकै कुनामा पनि आवत जावत र सञ्चार अत्यान्त सहज भएको छ । यसले गर्दा विद्यार्थीहरुको गुणस्तरीय शिक्षाको लागि भएको मुभमेन्ट पूर्णरुपमा नियन्त्रण हुने र गर्ने त कुरै हुँदैन तर नेपालको सन्दर्भमा विद्यार्थीहरु विदेशिने दर अलि बढी नै छ । यसलाई केही हदसम्म नियन्त्रण गर्नैपर्छ । शिक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरको ग्यारेन्टी, प्राविधिक शिक्षामा सवैको सहज पहुँच, अध्ययनपछि रोजगारको ग्यारेन्टी, आफ्नो र सन्ततिको सुरक्षाको उज्वल भविष्यको सुनिश्चितता, बिमासहितको स्वास्थ्य सेवाको सहज उपलब्धता जस्ता आधारभूत कुराहरुमा बढवा दिन सकियो भने केही हदसम्म विद्यार्थीहरु विदेशिने दर घट्न सक्छ ।
१२. अन्त्यमा पब्लिक आवाज पत्रिकामार्फत् आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम पब्लिक आवाज पत्रिकामार्फत् आफ्ना केही शब्दहरु प्रेशित गर्न पाएकोमा म पब्लिक आवाज टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । विद्यार्थीहरुलाई आफ्नो पढाइमा सृजनशिलताको विकास गर्न, अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको सिकाइप्रति जिम्मेवार बनिदिनुहुन, शिक्षकहरुलाई आफ्नो पेशाप्रति बफादार बनिदिनुहुन, प्रधानाध्यपकहरुलाई विद्यालयमा प्रशासकीय भन्दा पनि सहयोगी र सहकर्मीको भूमिकामा शिक्षण र पठनपाठनको लागि उत्कृष्ट वातावरण सृजना गरिदिनुहुन, शिक्षाविद्हरुलाई यथार्थ धरातलमा टेकेर सरकार तथा नीति निर्माणकर्ताहरुलाई सुझाव दिनुहुन र सरकारलाई शिक्षामा दूरदृष्टि लिन, नीतिगत अस्पष्टता हटाउन, अनुगमन प्रणालीलाई कडाइ गर्न, शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप हटाउन, परीक्षा प्रणालीलाई सुधार्न, शिक्षकहरुको नियुक्ति प्रक्रियामा एकरुपता ल्याउन अनुरोध गर्न चाहन्छु ।
प्रतिक्रिया