‘गाउँपालिकालाई शुन्य बेरुजु बनाउने अभियानमा छौं’

युवराज अधिकारी,
प्रमुख प्रशासकीय अधिकृत,
आँधिखोला गाउँपालिका, स्याङ्जा ।

संघीय संरचनामा स्थानीय तहलाई अधिकार सम्पन्न सरकार मानिएको छ । त्यसको प्रशासनिक नेतृत्व र वित्तीय कामको अधिकार प्रमुख प्रशासकीय अधिकृतले प्राप्त गरेका हुन्छन् । कुनै पनि स्थानीय तहमा स्थापित हुने संरचनाको काम कारबाही एवं स्थायित्वमा प्रशासकीय अधिकृतको प्रमुख भूमिका हुन्छ । जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरेर विकासका योजना सञ्चालन गर्दै आइरहेका छन् । त्यसमा पनि प्रशासकीय अधिकृतले नै विकासका योजना कार्यान्वयन गर्नुपर्छ । लामो अनुभवसहित धेरैवटा स्थानीय तहमा काम गर्दै आउनुभएका आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारीसँग काम गर्दाको अनुभव, विकास निर्माणको अवस्था र भावी योजनाका विषयमा केन्द्रित रहेर पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सार ः

१. हाकिम साव आराम हुनुहुन्छ ? तपाई सरकारी क्षेत्रमा प्रवेश गरेको कति भयो, सेवा कहाँ कहाँ कसरी गर्नुभयो र कस्तो रह्यो ?

धन्यवाद, नमस्कार । म आरामै छु । म निजामती सेवामा प्रवेश गरेको करिब २५ बर्ष पुरा भएको छ । बिचमा २ बर्ष बाहेक म स्थानीय तहमै काम गरेको छु । साथै लेखा समूहको कार्यसम्पादनको अनुभव गर्ने अवसर पनि प्राप्त भएको छ ।

२. तपाईले आँधीखोला गाउँपालिकाको उच्च जिम्मेवारीमा हुनुहुन्छ, कस्तो महशुस गर्नुभएको छ ? खासमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कस्तो हुन्छ ?

आँधीखोला गाउँपालिका आफैमा संभावना बोकेको गांउपालिका हो । विशेष गरी शिक्षा र साक्षरतामा यो पालिका अग्रणी पालिकाको रुपमा चिनिन्छ । यो पालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन पांउदा म खुसी छु । स्थानीय सरकारको रुपमा जनताको काम सहज तरिकाले अगाडी बढाउने कुरामा हामी तल्लीन छौं । हामीले ५ बर्षमा यो पालिकाले के के ग¥यो भनेर पुस्तक समेत सार्वजनिक गरेका छौं । मलाई लाग्छ, आंधिखोला गांउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी वहनमा कही कतै कमि छैन् । एउटै कामका लागि दुई पटक कार्यालय धाउनु नपरोस् भन्ने हिसाबले काम गरिएको छ । जनताले सुन्ने, देख्ने, बुझ्ने र अनुभुती गर्ने गरी सेवा प्रवाहको सन्दर्भमा जनतासँग निकटतम रहने सरकार भनेको स्थानीय सरकार हो । आंधीखोला गांउपालिका भुगोलको हिसावले पनि त्यती सुगम छैन् । यस पालिकामा लामो समयदेखि आम जनताको कार्य सम्पादन, सेवा प्रवाह गर्न पाँउदा खुसी अनुभुत गरेको छु । तथापी स्थानीय तहमा जनताका इच्छा आवश्यकता सम्वोधन गर्न सिमित श्रोत व्यवस्थापन गरी अधिकतम सेवा प्रवाह गर्न चुनौती समेत रहेको छ । समग्रमा सेवा प्रवाह प्रणलीमा स्थानीय तहमा प्राप्त गरेको जिम्मेवारीलाई अवसर र चुनौती दुवै रुपमा लिएको छु ।

३. तपाई प्रमुख प्रशासकीय अधिकृत हुँदा र कर्मचारी मात्र हुँदाको अवस्थामा के फरक पाउँनु भयो ?

प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सरकारको महत्वपूर्ण पदको रुपमा लिने गरिन्छ । स्थानीय सरकारको सचिवको रुपमा काम गर्न पांउदा मलाई सोही अनुशारको जिम्मेवारी बोध भएको छ । राजनीतिक नेतृत्वसंग र कर्मचारीसंग पनि समन्वयकारी भूमिकामा रही प्रमुख प्रशासकीय अधिकृतले काम गर्नुपर्ने हुन्छ । आंधिखोला गांउपालिकामा समन्वयको अभाव छैन् । कर्मचारी मात्र हुदां भन्दा प्रमुख प्रशासकीय अधिकृत हुदां धेरै जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । प्रमुख प्रशासकीय अधिकृतमा नेतृत्व प्रदान गर्ने तथा निर्णय गर्ने कुराको धेरै जिम्मेवारी हुन्छ ।

४. यस गांउपालिकामा बेरुजुको अवस्था कस्तो छ, शुन्य बेरुजु बनाउन के गर्नु पर्ला ?

आर्थिक स्रोतको बांडफांडमा पालिका उत्तरदायी हुनुपर्छ । हामीले पेश्कीलाई पनि बेरुजुको रुपमा लिने गरिन्छ, पछी काम सम्पन्न भएपछी त्यो फस्र्याेट हुन्छ । यस गांउपालिकामा अघिल्लो आ.व.मा ३७ हजार मात्रै असुल उपर गर्नुपर्ने बेरुजु देखिएको छ । हामीले मितव्ययी तरिकाले कार्यसम्पादन गरेका छौं । खर्च गर्न जायज थियो कि थिएन्, सोही अनुशार काम गरेका छौं । हामी सकेसम्म शून्य बेरुजु कायम गर्ने प्रयासमा छौं । बेरुजु हुदैमा सवै कारोबार गलत तबरले गरेको मात्र बुझ्नु हुदैन । तथापी शून्य बेरुजु भएको पालिका बनाउने हाम्रो उद्येश्य हो । तसर्थ आन्तरिक लेखा नियन्त्रण प्रणलीलाई प्रभावकारी तल्याउदै बेरुजुलाई न्यूनीकरण गर्दै लैजान मेरो पहल रहने छ ।

५. स्थानीय तहमा जनप्रतिनिधिसंग काम गर्दा चुनौती आउछ भन्ने सुनिन्छ, कस्तो महशुस गर्नु भएको छ ?

तपाईले उठाउनुभएको कुरा केही हदसम्म स्वभाविकै होला । यस गांउपालिकामा कानुनको पूर्ण परिपालना गरिएको छ । कहिलेकाही राजनीतिक व्याक्तिहरुले ऐन÷नियमलाई एकातिर राखेर व्यावहारिक पक्षमा जान भन्दै गर्दा हामीले उहांहरुलाई सोही अनुशार समन्वय गरेका छौं । म करिब ८ बर्षजति विभिन्न पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरे । यस पालिकामा जनप्रतिनिधिहरुसंग बसेर काम गर्दा सहज भएको छ । राजनिति र प्रशासन बिच केही सिमाहरु हन्छन । राजनैतिक नेतृत्व (जनप्रतिनिधि) हरु कानुन निर्माण गर्ने र कर्मचारीहरु निति कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी हो । एकले अर्कोको क्षेत्रमा समन्वय र सहयोग गर्नुपर्छ, हस्तक्षेप गर्नु हुदैन । तसर्थ जनप्रतिनिधि जनताको आवश्यकता, माग संग परिचित हुनुहुन्छ, उहाँहरुले सोही बमोजिम कानून निर्माण गर्ने र कर्मचारीहरु कानूनहरुको अक्षरस पालना गरी निति कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहुन पर्छ । आफ्नो क्षेत्राधिकारको विषयमा कार्यसम्पादन गर्दा जनप्रतिनिधिहरुले सहयोग गरिरहनुभएको छ । तसर्थ यो विषयलाई सहज लिएको छु ।

६. यस गांउपालिकामा हाल आम्दानीका स्रोतहरु के के हुन ?

यो गांउपालिकामा आन्तरिक आम्दानीका स्रोतहरु सिमित छन् । गत आ.व.मा ९० लाख मात्रै आन्तरिक आम्दानी भएको थियो । हाम्रो क्षेत्रमा पर्ने आंधिखोलाको ढुंगा, गिटी, बालुवा, केही पर्यटकीय क्षेत्रहरुको आम्दानी, राजस्व, सडक रोयल्टी लगायतका सिमित स्रोतहरु आन्तरिक आम्दानीका स्रोत हुन् । हाल प्रमुख स्रोत भनैकै संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान नै हो । तथापी आंधिखोला गांउपालिका आन्तरिक आय तर्फ संभावना वोकेको गांउपालिका हो, तर हामीहरुले सोचे अनुरुप आन्तरिक आय संकलन गर्न सकेका छैनौ । आन्तरिक आयलाई थप व्यवस्थित गर्ने योजनामा छौ । हाल आन्तरिक आय तर्फ व्यवसाय कर, नदी तथा खानी जन्य श्रोत कर, प्राकृतिक स्रोत उपयोग कर आदी हुन ।

७. गांउपालिका आफैमा स्थायी सरकार हुदाँहुदै पनि विकास वजेटको लागी अझैपनि केन्द्र र प्रदेश सरकारमा निर्भर रहनुपर्ने कारण के होला ?

विशेष गरी स्थानीय तहको क्षमता र संभावना कति छ, त्यो विचार गर्नुपर्छ । अहिले ग्रामिण क्षेत्रहरु त्यती आकर्षणका केन्द्रहरु बन्न सकिरहेका छैनन् । आफ्नै भूगोल र जनताको प्रत्यक्ष सरकार भएको तथा जनताको आवाजको प्रतिनिधित्व गर्ने तह नै स्थानीय तह हो । सिमित स्रोत भएकाले स्थानीय तह प्रदेश र केन्द्रमा निर्भर रहनुपर्ने भएको हो । स्थानीय तहहरु अझै सवल र सक्षम बन्न पुगेका छैनन । हाम्रो नेपालको संघियताको मोडेल पनि कोअपरेटिभ फेडेरेसन हो । तसर्थ संघ, प्रदेश र स्थानीय सरकार वीच समन्वय र सहयोगको आवश्यकता पर्छ । अर्कोतर्फ आंधिखोला गांउपालिकाको धेरै क्षेत्र दुर्गम छ, आन्तरिक आय पनि कम छ तसर्थ संघ र प्रदेशको अनुदान आवश्यक छ ।

८. यस पालिकामा निर्माणलाई मात्र बढी प्राथमिकता दिईएको गुनासाहरु आइरहेका छन, किन ?

जनप्रतिनिधिहरुको पहिलो कार्यकाल बढी भौतिक विकासमा केन्द्रित भएको आंशिक सत्यता हो । ग्रामिण क्षेत्रमा भौतिक सुविधा र सडक तथा अन्य पूर्वाधारको पहुच पु¥याउन यसो गरिएको हो । आधारभूत संरचना नभै विकासको शुरुवात नहुने भएकाले निर्माणलाई प्राथमिकता दिईएको हो । शिक्षा, स्वास्थ्य मानिसको लागी पहिलो आवश्यकता हो । पालिकाले आफ्नो नगरभित्रका वासिन्दाको लागी गुणस्तरीय स्वास्थ्य र शिक्षाको प्रवन्ध गर्नु आधारभूत दायित्वको विषय हो । यसको अलवा पूर्वाधारको विकास पनि महत्वपूर्ण रहन्छ , तर विकासको नाममा अन्धाधुन्द रुपमा सडकको निमार्ण गर्नु राम्रो विषय होइन । भैरहेको सडकको गुणस्तर अभिवृद्धी गर्ने र नयाँ सडक निर्माण गर्दा योजना र मापदण्ड पुरा गरी आवश्यकता एवं औचित्यको आधारमा मात्र निर्माण गर्नुपर्छ । हाल विकासको नाममा टुक्रे वजेट विनियोजन गरी सडकमा खर्च गर्ने लहड छ । यसको व्यवस्थापन गर्नु जरुरी छ । तर हाम्रोमा त्यस्तो छैन् ।

९.वर्तमान समयमा विकास निर्माणको अवस्था कुन रुपमा अघि बढ्दैछ त ?

विकास भनेको समग्र मानवीय र पूर्वाधारको विकास हो । अब हामी मानवीय विकास गर्ने सोचमा छौं । ग्रामिण क्षेत्रमा अवसरहरुको खाजी गरि सोही अनुशारको विकास अगाडी बढ्दैछ । आम उपभोक्ता साथै सवै राजनैतिक दल, संघसंस्था, समूह र पालिकावासी सवैको सहयोग, सद्भाव र आम जनतासँग प्रत्यक्ष सहकार्य गरी विकास निर्माणका कार्यहरु एकिकृत रुपमा अघि बढाइ रहेको अवस्था छ । यस कार्यमा पालिका पूर्ण रुपमा लागी परिरेहको छ । जनप्रतिनिधिहरु प्नि निस्वार्थ ढंगले जनताको सेवामा अघि वढेको हुँदा यस कार्यमा सवैको सद्भाव सहयोग पाइरहने आशा एवम् विश्वास छ ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाज तथा यो मिडियाको टिमलाई धन्यवाद दिन चाहन्छु । विशेष गरी स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको वास्तविक आवाजको सम्बोधन गर्ने निकाय नै स्थानीय तह हो । कार्यसम्पादनको क्रममा हामीबाट कुनै कमीकमजोरी भएमा हामीलाई सुचित गर्नुहोला । हामी जनताको सुझावहरुलाई शिरोधार्य गर्दै काम गर्न तयार छौं भन्न चाहन्छु । प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्ने क्रममा कुनै त्रुटि भए तपाईहरुको सल्लाह सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिवद्धता प्रकट गर्दछु । हामी सवैको साथ सबैको विचार भन्ने मूल भावनाका साथ कार्यसम्पादन गर्दै अघि बढ्ने छौं । सुचनाको हक सवैमा समान हुने भएकाले आवश्यक्ता अनुसार आँफू सधैं तयार रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । अन्तमा सम्पूर्ण महानुभावहरुमा आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरीतालिका तिजको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया