‘पत्रकारको सुरक्षाकालागि राज्यले ध्यान दिनुपर्छ’

भवानी अधिकारी,
उपाध्यक्ष,
नेपाल पत्रकार महासंघ, स्याङ्जा ।
भवानी अधिकारी अब स्याङ्जाली संचार क्षेत्रका लागि नौलो नाम होईन् । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको उपाध्यक्षको रुपमा कार्यरत अधिकारी जिल्लाको पत्रकारिताको क्षेत्रमा अग्रस्थानमा आउने नाम मध्ये एक हो । साढे दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय अधिकारीसँग छापा, टेलिभिजन, अनलाइन, रेडियो सबै क्षेत्रको अनुभव छ । पत्रकार महिलाहरुको संस्था सञ्चारिका समूह नेपाल स्याङ्जा शाखाको सफल नेतृत्व गरिसकेकी अधिकारी हाल नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको उपाध्यक्ष समेत हुन् । अधिकारीसँग पत्रकारिता क्षेत्रमा रहेका चुनौती, अवसर र आफ्ना नीजि स्मृतिहरुसँग केन्द्रीत रहेर गरेको कुराकानीका केही अंश ः

१. अधिकारी जी आराम हुनुहुन्छ ? पत्रकारिता पेशामा कसरी प्रवेश गर्नुभयो ?

आराम छु । अमृतजी जीवनको मोड अनौठो हुदोरहेछ । म पृथ्वीनारायण क्याम्पस पोखरामा प्रमाणपत्र तह द्धितिय बर्षको शिक्षाशास्त्र संकाय अन्तर्गत अंग्रेजी बिषय लिई अध्ययरत रहेको अवस्थामा मेरो विवाह भयो । मेरा पति ओमप्रकाश शर्मा पेशाले ब्यवसायिक पत्रकार पनि । राष्ट्रिय स्तरका छापा तथा बिद्युतीय संचारमाध्यममा स्याङ्जाका समाचार सम्प्रेषण गर्नुहुन्थ्यो । अत्यान्त ब्यस्त जीवन । मैले आफ्नो अध्ययनलाई निरन्तरता दिदै गएँ । अंग्रेजी बिषयमा स्नातक पुरा गरे । पछि स्नातकोत्तरसम्मको अध्ययन पुरा गरे । बुवा आमाको चाहना कानून पढाउने थियो । मेरो रुची भने शिक्षक बन्ने । तर, पेशा यता मोडियो । मेरा पतिले लेखेका समाचार पत्रिकामा बाइलाईन छापिदा र रेडियो, टेलिभिजनमा उहाँका आवाज र सचित्र समाचार आउदा मलाई पनि पत्रकारिताप्रति आकर्षण र लोभ बढ्न थाल्यो । उहाँबाटै औपचारिकरुपमा समाचार लेखन सिके । त्यसपछि केही तालिम, प्रशिक्षण, अध्ययन, प्रबिधि (कम्प्यूटर) सम्बधी सिप सिके र पत्रकारिता अध्ययन गरे । सोही समयमा हाम्रो ‘स्याङ्जा सन्देश’ नामक पाक्षिक पत्रिका प्रकाशन सुरु भैसकेको थियो । जो आजसम्म साप्ताहिक पत्रिकाको रुपमा निरन्तर प्रकाशित हुदै आएको छ । जसलाई अहिले अनलाईनमा समेत पढ्न र हेर्न सक्छौं ।

२. पत्रकारिता पेशामा पत्रकारका लागि अवसर र चुनौती कत्तिको छ ?

पत्रकारितामा अवसर र चुनौती दुबै छन् । तर, यो पेशामा अवसर लिन र आइपर्ने चुनौतिको सामना गर्न केही पूर्व शर्त पुरा गर्नुपर्ने हुन्छ । पत्रकारिता पेशालाई निरन्तरता दिन पत्रकारिताका मूलभूत सिद्धान्तलाई पछ्याउनु पर्छ । भाषामा अत्यान्त ध्यान दिनुपर्ने, आफुले लेखेको समाचारको पुष्ट्याई गर्ने प्रमाणिक आधार पर्याप्त दिनुपर्ने, छोटा र सरल भाषाशैली अपनाउनु पर्ने भएकोले ब्यवहारिक ज्ञान र निरन्तरताको अभ्यासले मात्र पुग्दैन यहाँ । ब्यवसायिक पत्रकारिता गर्नेले भाषागत ज्ञान, पत्रकारिताको मर्म र कानूनको बलियो आधार लिएर नागरिकलाई सूसूचित गर्नुपर्ने भएकाले स्वयं पत्रकार सक्षम नभएसम्म सार्थक पत्रकारिता हुदैन । आज एउटा पत्रकार समाचार लेखेर बाच्न सक्ने अवस्था बनेको छ । उसको ब्यवहार, लेखनशैली क्षमताले समाजमा सकारात्मक प्रभाव पारेको छ । उ समाजले खोज्ने पत्रकार बन्न सक्छ । मर्यादित पत्रकारिताले समाजमा पत्रकारको इज्जत र प्रतिष्ठा बढाउछ । आज मेन स्ट्रिमको पत्रकारिता गर्ने दर्जनौं पत्रकारले मासिक लाखौं रुपैंया पारिश्रमिक बुझ्न सक्ने भएका छन् । छापा, बिद्युतीय र डिजिटल मीडियाको विकास भएको छ । देश विदेश नेपाली पत्रकारको ख्याती बढेको छ । यो हामी पत्रकार जगतको लागि राम्रो अवसर हो । तर, चुनौती पनि यो पेशामा त्यत्तिकै छन् । पत्रकारिता भन्दा पार्टीकारिता बढेको छ । पत्रकारितामा चाकडी र चाप्लुसीकरण बढेको छ । राज्य र राजनीतिक दलले नै पत्रकारिताको मर्म बुझपचाउदा पत्रकारहरु मर्माहित छन् । आफ्ना तारिफ मात्र पढ्न, सुन्न र हेर्न चाहने र कमीकमजोरी औल्यांदिदा पत्रकारहरु आखाको तारो बन्ने गर्छन । यो सबैका लागि दुर्भाग्य हो । केही पत्रकार राजनीतिक दलको कार्यकर्ता र नेता बन्दा निष्पक्ष समाचारको मर्ममाथि प्रहार भएको छ । बिभिन्न पेशा र ब्यवसायमा जमेका ब्यक्तिहरु पनि सिमित स्वार्थ सिद्धीका लागि पत्रकारितामा प्रवेश गर्ने र धमिल्याउने प्रवृत्ती छ । बिगतमा ३ दर्जन भन्दा बढी पत्रकारको हत्या भयो । ठूलो संख्यामा अंगभंग र बिस्थापनमा पत्रकार साथीहरु परे । राज्य पक्षबाट पत्रकारको खोजी त्यती राम्रो भएन । राज्यको चौथो अंग भनियो तर कानूनमा मान्यता दिईएन । त्यसैलै जिम्मेवार पत्रकार र मर्यादित पत्रकारिताले मात्र आइपर्ने सबैखाले चुुनौतिको सामाना गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

३. पत्रकारितामा महिला र पुरुषको क्षमता बराबर भएतापनि पुरुषलाई बढी स्थान दिईन्छ किन होला ?

हाम्रो समाज पुरुषप्रधान समाज हो । महिला जतिसुकै सक्षम र सवल भए पनि महिलाले केही गर्न सक्दैनन भन्ने मनोबिज्ञानबाट ग्रसित छन् अधिकांश पात्रहरु । महिलाहरु रेडियो, टेलिभिजन चलाउन सक्ने भएका छन् । अहिले भन्ने हो भने महिलाले नै धेरै संचारमाध्यम धानेका छन् । तर, उनीहरु गुमनाम झै हुन्छन् । किन कि काम गर्ने मान्छेले कुरा गर्ने समय पाउदैन । छलफल मै नभएपछि कसरी थाहा पाउने त ? यस्ता घटना धेरै छन् । पत्रकारिताको मूलप्रवाहमा महिलाको संख्या धेरै छ । पत्रकारिता पढेर पत्रकारितामा आएका छन् । पत्रकारिताका बिभिन्न बिधामा पत्रकार महिलाहरु कार्यरत छन् । सम्पादक छन । समाजले पत्रकार महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । संबिधानमा भएको ब्यवस्थालाई कार्यान्वयन गर्नुपर्दछ । तव मात्र महिला सशक्तिकरण बढ्न सक्छ ।

४. पत्रकारिता छाडेर साईड बिजनेस गर्ने योजना बनाउनु भएको छ की ?

छैन, छैन् । म पत्रकारिता पढेरै पत्रकारिता गरिरहेकी छु । म छापा, रेडियो, टेलिभिजन, अनलाईन लगायत डिजिटल मिडियामा काम गर्ने भएकाले मेरा लागि पत्रिकारितामा अवसरै अवसर छ । मात्र, निरन्तरताको खाँचो छ । स्वास्थ्य र उमेरले साथ दिदासम्म निष्ठापूर्वक मर्यादित र ब्यवसायिक पत्रकारिता गर्छु । स्याङ्जामा बसेर पत्रकारिताका माध्यमबाट देशविदेशमा स्याङ्जालाई चिनाउनु छ । यहाको राजनीतिक, सामाजिक, आर्थिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय, धार्मिक, प्राकृतिक सम्पदाका बारेमा कलम चलाउदै आएकी छु र चलाईरहने छु । यो बाहेक पेशा परिवर्तन गर्ने कुनै सोच नै छैन । स्याङ्जाबाट दैनिक पत्रिकाको अभावलाई पुरा गर्ने सोचका साथ ‘स्याङ्जा बुलेटिन’ नामक दैनिक पत्रिका प्रकाशनको तयारीमा जुटिरहेकी छु ।

५. नेपाल पत्रकार महासंघ र सरकारले कस्तो नीति ल्याउंदा पत्रकारहरुलाई सहज होला ?

नेपाली पत्रकारहरुको साझा संस्था छाता संगठन पत्रकार महासंघ हो । यसले पत्रकारहरुको पेशागत सुरक्षाका बारेमा काम गर्दे आएको छ । नेपाली पत्रकारहरुका समस्याका बारेमा सरकारसंग लविङ गर्दे आएको छ । महासंघले आफ्नो भूमिका सशक्त बनाउनुपर्छ । कोभिड १९ को कारण देखाउदै मीडिया हाउसहरुले श्रमजीवि पत्रकारहरुको बर्षोंदेखि पारिश्रमिक दिएका छैनन । आफुले काम गरेको पारिश्रमिक लिन अदालत, श्रमअदालतका ढोका धाउनु पर्ने वाध्यता छ । यसमा सरकारले अविलम्ब सरोकारवालासंग समन्वय गरी समस्या समाधान गरोस् । बिना धितो ऋण, वालबच्चा पढाउन, विवाह गर्न र औषधि उपचार गर्न सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउनेदेखि जीवन विमा, उच्च शिक्षा अध्ययन र तालिमको अवसर पत्रकारलाई दिनुपर्छ । पत्रकारका बर्गिकरणको ब्यवस्थासंगै यी सबै कुरा समेटेर अव बन्ने संचार ऐनमा ब्यवस्था होस् भन्ने अपेक्षा राख्दछु ।

६. पत्रकारितामा आउन चाहने नयां पुस्तालाई के सुझाव दिनुहुन्छ ?

पत्रकारिता बाहिरबाट हेर्दा ग्लामर जस्तो देखिए पनि भित्र त्यति सजिलो छैन । बढी जिम्मेवार र संवेदनशील भएर बिषयबस्तुको अध्ययनले मात्र पत्रकारिता सफल हुन्छ । बर्तमान अवस्थामा पत्रकारिकता पढेर आउनेलाई यो पेशामा रहन सहज हुन्छ । आजकल माध्यमिक तहदेखि नै पत्रकारिताको पढाई हुन्छ । पत्रकारिताको मर्म र भावलाई पछ्याएर यो पेशामा प्रवेश गर्नेलाई अवसरै अवसर छ । तर, अधैर्य नवप्रवेशीका लागि भने गाह्रो देख्छु म । यो पेशामा प्रवेश गरेर निरन्तरता दिन सके नाम, दाम दुबै छ । तर, निष्ठा, ब्यवसायिकता र धैर्यताको भने सधैभरी खाँचो रहन्छ ।

७. तपाई पत्रकार महासंघ स्याङ्जाको उपाध्यक्ष समेत हुनुहुन्छ, स्याङ्जामा नेपाल पत्रकार महासंघले पत्रकारहरुको सुरक्षाका लागि संस्थागतरुपमा के पहल थालेको छ ?

पत्रकार महासंघ स्याङ्जा पत्रकारको सेवागत सुरक्षा, सामाजिक सुरक्षा, कार्यगत सुरक्षा, कार्यस्थल सुरक्षा र व्यक्तिगत सुरक्षाका लागि हामी संवेदनशील छौं । यसका साथसाथै, बिभिन्न समयमा आकस्मिक रुपमा आइपरेका समस्यालाई हामीले संस्थागत ढंगबाट समाधान गरेका छौं । पत्रकारहरुको क्षमता बढाउन बिभिन्न किसिमका बिधागत तालिम, जीवन वीमा, अध्ययन भ्रमणलाई महासंघले आफनो कार्यसूचीमा समेटेको छ । महासंघको कार्यालय स्थापना, भवन निर्माण पनि हाम्रा कार्यतालिकामा छन् । हामी पत्रकारितामा क्रियाशील ब्यवासयिक पत्रकारलाई उनीहरुको रुची, चासो र क्षमता अनुसारको तालिमको ब्यवस्था गर्दै आएको छौं । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने नै छौं । समग्र पत्रकारहरुसंगै पत्रकार सुरक्षाका बारेमा हामी विशेष संवेदनशील छौं ।

८. विभिन्न जोखिमका बीच पनि सञ्चारकर्मीहरुले फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् । यस्तो अवस्थामा सञ्चारकर्मीहरुको सुरक्षाका लागि राज्यको दायित्व के हुन सक्छ ?

ब्यवसायिकता, निष्ठा, आचारसंहिता पेशाप्रतिको निरन्तरताले जोखिमको मूल्य निर्धारण गर्ने बिषय हो । पत्रकारिताको अंग नपुगेको समाचारले जोखिम निम्त्याउने हो । तर, कहिले कांही पूर्वाग्रहीभावले पनि केही समस्या निम्तिएका हुन्छन् । बिगतमा पत्रकारलाई दुब्र्यवहार गर्ने, ज्यान मार्ने धम्की दिने घटना भएका छन् । हामी त्यसतर्फ सचेत छौं । प्रहरी, प्रशासनको सहयोगमा हामीले जोखिम न्यूनिकरण गरेका उदाहरणहरु छन् । केन्द्रीय नेतृत्वको सहयोगमा राज्यको तर्फबाट पत्रकार सुरक्षाको नीतिगत अवधारणा जारी गर्न दवाव दिईनै रहेका छौं । पत्रकारको सुरक्षाका लागि राज्यले ध्यान दिनुपर्छ ।

९. नेपाल पत्रकार महासंघ स्याङ्जा शाखामा नयां नेतृत्व निर्वाचित भइसकेपछि तपाई आबद्ध समितिले कार्ययोजनाहरु पनि प्रस्तुत गरेको होला । यो कार्यकालका प्राथमिकताहरु के हुन् ?

मैले यसअघि पनि भनेको छु । हाम्रो प्राथमिकता योग्य, कुशल, क्षमतावान पत्रकार उत्पादन गर्नु हो । पत्रकारिताको भावना र मर्म अनुसार काम गर्न सक्ने बनाउनु हो । सीप र दक्षता भएको पत्रकारले मात्र समाजलाई सही बाटो देखाउन सक्छ । लुकेका कुरा बाहिर ल्याउन सक्छ । आवाजविहिनको आवाजलाई देशदेशान्तर पु¥याउन सक्छ । यो कार्यकालको प्राथमिकता नियमित काम बाहेक भवन निर्माण गर्नु र आफ्नै भवनबाट सचिवालय संचालन गर्नु मुख्य उद्येश्य हो । यसका लागि प्रक्रिया सुरु भैसकेको छ ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

धन्यवाद अमृतजी, एवं पब्लिक आवाजमा आवद्ध सम्पूर्ण महानुभावहरुलाई मेरा बिचार राख्ने अवसर प्रदान गर्नुभयो । स्याङ्जाबाट प्रकाशित हुने पब्लिक आवाज, स्याङ्जा सन्देश र गल्याङ् पोष्ट प्रेस काउन्सिलको बर्गिकरण सूचीमा परेका उत्कृष्ट पत्रिका हुन । यी मध्ये स्याङ्जाकोे मध्यभाग वालिङ्बाट प्रकाशित हुने पब्लिक आवाजले पाठकलाई पस्कने पृथक खालको खुराकले यसको लोकप्रियता बढेको छ । यसको निरन्तरताको लागि शुभकामना ।.

प्रतिक्रिया