समाजवादीका भट्टराईले पारे उम्मेदवारी निस्कृय, काँग्रेसका उम्मेदवार अर्याललाई सहज

वालिङ ।
नेकपा एकिकृत (समाजवादी) का रामचन्द्र भट्टराई (आर सी) ले आफ्नो उम्मेदवारी निस्कृय पारेको जनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावको लागि स्याङ्जा २ (क) बाट उम्मेदवारी दिएका भट्टराईले काँग्रेसका भोजराज अर्याललाई समर्थन गर्दै उम्मेदवारी निस्कृय पारेको विज्ञप्ती जारी गर्दै जनाएका हुन् ।

बामलोकतान्त्रिक गठबन्धन अन्तर्गत नेकपा एकिकृत (सामाजवादी)का लागि सो क्षेत्र परेको थियो तर काँग्रेसका भोजराज अर्यालको समेत सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्तागरेपछि अन्योलता छाएको थियो । भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मेरो उम्मेदवारी रहेको क्षेत्रका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको राय र सुझाव एवम् पार्टीका केन्द्रिय अध्यक्षको निर्देशन बमोजिम मेरो उम्मेदवारीलाई आजैका मितिदेखि निस्कृय पारेको घोषणा गर्दछु ।’

भट्टराईले जारी गरेको बिज्ञप्तीमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार भोजराज अर्याललाई सहयोग पुग्ने गरी उम्मेदवारी निस्कृय पारेको उल्लेख छ । भट्टराईको उम्मेदवारी निस्कृय भएसँगै गठबन्धन अन्तर्गत काँग्रेसका उम्मेदवार अर्याललाई सहज हुने भएको छ । यो क्षेत्रमा नेकपा एकिकृत समाजवादीको राम्रो उपस्थिती रहेको छ । एमालेबाट फुटेर बनेको एकिकृत समाजवादीका जिल्ला अध्यक्ष भट्टराई जिल्लामा कार्यकर्ताको राम्रो पकड बनाउन सफल नेताका रुपमा मानिन्छन् । स्थानीय स्तर सम्म पुगी भट्टराईको सक्रियतामा गरिएको समाजवादीको संगठन बिस्तारका कारण गठबन्धनका उम्मेदवार अर्यालको जितको लागि निक्कै सहज हुने बताईएको छ ।

प्रतिक्रिया