मतगणना ढिलो हुदा मतदातामा वितृष्णा — आयुक्त पौडेल

स्याङ्जा ।
निर्वाचन आयोगको अर्कमण्यताका कारण स्याङ्जा क्षेत्र नम्वर २ का मतदाताहरु असन्तुष्टि देखिएका छन् । मंसिर ४ गते सम्पन्न भएको मतदानको मतगणना प्रारम्भ वा पुनमतदानको बिषयमा ढिलाई गरिदिदा मतदाताहरुमा असन्तुष्टि बढेको हो । बिशेषगरी नेपाली काँग्रेसले बुथ कब्जागरी मतदान गरेको आरोप लगाएर नेकपा एमालेले पुन मतदानको माग गरेपछि उल्झिएको विवाद भएको हो । नेपाली काँग्रेसले शान्तिपुर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको र मतपेटीका निर्वाचन कार्यालयमा बुझाएसकेकाले तुरुन्त मतगणना गर्न माग गरिरहेको छ । ९ दिनदेखी दुवैदलको आन्दोलन जारी छ ।
यसरी मतदाताहरु सन्तुष्ट भइरहेका बेला स्याङ्जा निर्वाचन क्षेत्र २ को मतगणना रोकिएको बिषयमा एक निर्वाचन आयुक्तले गम्भिर ध्यानाकर्षण गरेका छन् । मतदान प्रक्रियामा कुनै हुलहुज्जत नभई शान्पिुर्वक सम्पन्न भई आउदा पनि मतगणना ढिलो हुँदा मतदातामा वितृष्णा पैदा हुने भन्दै निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले फरक मत राख्दै गम्भिर बिषय उठान गरेका छन् । मतदान अधिकृतबाट मतदान स्थलमा कुनै हुलहुज्जत लगायतका अवान्छित् गतिविधि भएको छ भनी निर्वाचन अधिकृतलाई कुनै प्रतिवेदन नदिएको र मतपेटीका कानुनी प्रक्रिया पुरागरी कातजातसहित निर्वाचन अधिकृतलाई बुझाइएको छ आयुक्त पौडेलले फरक मत राख्दै उल्लेख गरेका छन् । प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ४५ र दफा ४६ को अवस्था उपरोक्त मदानकेन्द्रहरुमा विद्यमान नरहेको भनी निर्वाचन अधिकृतको कार्यालयबाट लेखी आएकाले मतगणना रोकिनु दुखद भएको पौडेलले जनाएका छन् ।
उपरोक्त मतदान स्थलको विभिन्न दलबाट उजुरी भएतापनि उपरोक्त ऐनको दफा ४५ र ४६ को अवस्था विद्यमान नरहेकाले निर्वाचन अधिकृतको रायसमेत अध्ययन गर्दा आयोगबाट छानविन गर्न जरुरी नदेखिएको आयुक्त पौडेलले जनाएका छन् । आयुक्त पौडेलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन समशेर ज.व.रा.ले गरेको फरकमतमा आयोगबाट छानविन गर्न पठाउदा नेपाल सरकारको आर्थिक स्रोत खेर जाने र मतगणना कार्य ढिलो हुदा निर्वाचन प्रति मतदाताको वितृष्णा पैदा हुने गम्भिर बिषय उठान गरेका छन् । निर्वाचन आयोग नै मतदातालाई वितृष्णा फैलाउने र आयोग प्रतिको विश्वास मतदातामा घटाउने खालको काम भइरहेको समेत आयुक्त पौडेलले आरोप लगाएका छन् । निर्वाचन आयोगले नै खटाएको निर्वाचन अधिकृत प्रति विश्वास नभएको आशंका आयुक्त पौडेलले राखेको फरक मतबाट प्रष्ट देखिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्याङ्जा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को कार्यालयले शान्तिपुर्ण मतदान सम्पन्न र सबै मतपेटीका सकुशल कार्यालयमा आएको प्रतिवेदन बुझाएको छ । यता सुरक्षा समितिले पनि जिल्लामा सामान्य घट्नाहरु भएपनि निर्वाचन शान्तिपुर्वक सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । देशभरीबाट मतपरिणाम सार्वजनिक गरेर सकिदा पनि यहाँको मतपरिणाम सार्वजनिकमा ढिलाई हुँदा मतदाताहरुमा निरासा छाएको छ ।

प्रतिक्रिया