हराउदै परालका गुन्द्री, पलाष्टिकका गुन्द्री भित्रिदै

अमृत अर्याल,
भीरकोट ।
पछिल्लो समय परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको छ । प्लाष्टिकका गुन्द्रीको प्रयोग बढेसँगै परम्परागत परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको हो । ग्रामीण समाजको मौलिकतासँग जोडिएको परालको गुन्द्री बुन्नका लागि मंसिरमा धान काटेपछि अलि लामो पराल छुट्याएर राख्ने तथा पुष र माघ महिनामा गुन्द्री बुन्ने पुरानो चलन गाउँघरबाट हराउँदै गएको हो । तर यतिबेला स्याङ्जाको गल्याङका महिलाहरु भने सामुहिक रुपमा गुन्द्री बुन्न व्यस्त देखिन्छन् । घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सदमा घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । जिल्लाको गल्याङमा यसपटक स्थानीय नौ जना महिलाले सामूहिकरुपमा ५३ वटा गुन्द्री बुनेका छन् । विगतका वर्षमा पनि उनीहरुले यही परिमाणमा गुन्द्री बुनेका थिए । उनीहरुले यसरी नै बर्सेनि परालको गुन्द्री बुन्दै आएका छन् । खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन भएको परालबाट गुन्द्री बुन्दै आएका हुन् । पहिल्यैदेखि चलिआएको परम्परा तथा सीपको सदुपयोग गर्दै घरमै रहेको परालको प्रयोगबाट गुन्द्री बुन्ने गरिएको उनीहरु बताउँछन् ।
पछिल्लो समय युवा शक्तिको कमी तथा आधुनिक मानिने प्लाष्टिकका गुन्द्रीको सहज प्रयोग बढेसँगै परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको ग्रामीण भेगका स्थानीयवासीले बताएका छन् । स्याङ्जासहित धेरै पहाडी जिल्लाहरुमा बुनिने परालका गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्नबाली सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउने र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको थियो । तर, पछिल्लो समय गुन्द्री बुन्ने जनशक्ति नहुदाँ ग्रामीण भेगमा प्लाष्टिककै गुन्द्रीको प्रयोग बढेको छ । तर केही जाँगरिला महिलाहरुले भने आफ्नो परम्परा छाडेका छैनन् । जिल्लाको भीरकोट ५ की अनिषा थापा भन्छिन्, ‘खेती किसानी गर्छौं, घरमै पराल हुन्छ, त्यहीँ परालबाट गुन्द्री बुन्दै आएका छौँ ।’ पुरानो चलिआएको परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गर्नुपर्छ भन्ने मनसायले बर्सेनि गुन्द्री बुन्दै आएका हौँ उनले भनिन् । बजारमा प्लास्टिकको गुन्द्री किन्न पाइन्छ तर परालको जस्तो बाक्लो र तातो नहुने चिसो हुने भएकाले पनि परालको गुन्द्री हरेक बर्ष बुन्दै आइरहेको बताइन् ।
गाउँमा पनि बजारबाटै गुन्द्री ल्याएर प्रयोग गर्ने गरेको भीरकोट नगरपालिका ८ चिलाउनेखर्ककी स्थानीय लक्ष्मी रेग्मीले बताइन् । अहिले गाउँघरमा गुन्द्री बुन्नेहरु कम भएको तर बजारका गुन्द्री प्रयोग गर्ने बढी रहेको उनको भनाइ छ । बजारमा किन्न भन्दा फुर्सदमा आफूले परालको बुन्दा लागत कम पर्ने रेग्मीले बताइन् । गाउँमा उत्पादन भएको परालबाट गुन्द्री बुन्न भन्दा किनेरै प्लाष्टिकको गुन्द्री प्रयोग गर्न सहज भएको भीरकोट ६ की विष्णुमाया अर्यालले बताइन् । अहिले ग्रामीण भेगमा खेतीयोग्य जमिन बाँझिने क्रम बढेसँगै पर्याप्त पराल पाउनै मुस्किल हुने गरेको स्थानीयले बताएका छन् । उन्नत जातको धान लगाएपछि छोटो पराल हुने र त्यो पनि गाईवस्तुलाई खुवाउनका लागि नै अपुग हुन थालेसँगै गुन्द्री बुन्ने प्रचलन लोप हुने अवस्थामा पुग्नुको अर्को कारण रहेको उनीहरुको भनाइ छ ।
गाउँमा हुने शुभकार्य तथा अन्य कार्यमा आउने पाहुनालाई परालको गुन्द्रीमा राखेर भोजन गराउने चलन हराउँदै गएकोमा पुराना बुढापाकाहरु चिन्तित देखिन्छन् । ९० बर्ष पुगेका जेष्ठ नागरिक उदयराज अर्यालले भने, ‘शुभकार्यमा प्लास्टिकको गुन्द्री जुठो मानिने भएकाले पनि परालकै गुन्द्रीको प्रयोग गरिँदै आएको थियो ।’ तर अहिले आएर महिलाहरुले गुन्द्री बुन्न छाडेको उनको गुनासो छ । बजारमा म्याट तथा प्लास्टिकका गुन्द्री पाइने भएपछि पहिला जस्तो परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको उनको भनाई छ । गुन्द्री बुन्नकै लागि भनेर छुट्टै लामो पराल हुने जातको धान लगाउने प्रचलन रहेको उनी सम्झिन्छन् ।
जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण भेगमा एक दशक अघिसम्म गुन्द्री बुन्ने प्रचलन रहेपनि हाल सीमित स्थानका नागरिकले मात्रै यसरी गुन्द्री बुन्ने गरेका छन् । अहिले केही मात्रामा यसरी बुनीने गुन्द्रीको प्रयोग हुने गरेको ग्रामीण भेगका स्थानीयले बताएका छन् । जनशक्ति र पराल अभावसँगै लागत पनि धेरै लाग्ने हुँदा यसतर्फ आर्कषण हुन नसकेको महिलाहरुको भनाइ छ । पहिला पहिला ठूला खालका गुन्द्री (१५, १७, १९ घरे) सम्म बुन्नका लागि छुट्टै खालको लामो पराल हुने धान लगाइन्थ्यो स्थानीय बिना गैह्रेले भनिन्, ‘आजभोलि थोरै ठाउँमा पनि धेरै उत्पादन लिनका लागि उन्नत (हाईब्रिड) जातका धान लगाउने चलन बढेकाले पराल छोटो हुँदा गुन्द्री पनि साँघुरा तथा साना हुने गरेका छन् ।’ आफूले जानेको सीपको प्रयोग हुनुका साथै घरमै रहेको परालबाट गुन्द्री बुन्दा प्लास्टिकको गुन्द्री तथा म्याट किन्नु नपर्ने भएपछि आर्थिक बचत हुने गरेको स्थानीय उजेली गाहाले बताइन् । बढ्दो आधुनिकतासँगै पराम्परादेखि चल्दै आएको गुन्द्री बुन्ने सीप पनि हराउँदै गएकोले हामीहरुले भने गाउँ घरमै सामूहिकरुपमा गुन्द्री बुन्दै आएको बताइन् । यसले गर्दा नयाँ पुस्ताका छोरी तथा बुहारीले यो सीप सिक्न पाउने गरेका छन् जसकाकारण सीप हस्तान्तरण पनि भएको छ ।
महिलाहरुले बुन्ने गुन्द्रीको प्रयोग गर्नाले न्यानो हुने तथा यसको प्रयोग स्वस्थकर मानिने भएपनि गुन्द्रीको प्रयोग भने हिजोआज घट्दै गएको छ । प्लाष्टिकको गुन्द्रीको तुलनामा परालको गुन्द्री प्रयोग गर्दा न्यानो हुने हुँदा वृद्ध तथा बाल बालिकालाई बसाल्न निकै उपयोगी मानिदैँ आएको छ । हाल गाउँघरमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक—दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । सामुहिक रुपमा गुन्द्री बुनेका गल्याङका महिलाहरु भन्छन् बढ्दो आधुनिकतासँगै सहर पस्नेले परालको गुन्द्रीको सट्टामा प्लास्टिकको गुन्द्री तथा म्याटको प्रयोग गर्न थालेको बताए ।
गाउँगाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको ग्रामीण भेगका नागरिकले बताएका छन् । घरमा बुनेको गुन्द्रीमा लागत धेरै लाग्ने भएकाले पनि घरमा गुन्द्री बुन्ने चलन घट्दै गएको हो । आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर गुन्द्री बुन्ने परम्परालाई जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण र पुराना परम्पराको महत्व सिकाउनुपर्ने पुराना पुस्ताको भनाइ छ । यसको सीप हस्तान्तरण र परम्परागत उत्पादनलाई जोगाइ राख्न स्थानीय सरकारले पनि सम्भाव्यताको पहिचान गरी कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता देखिन्छ । नयाँ पुस्तामा सीप हस्तान्तरण नहुनु, नयाँ पुस्ताको रुचि नहुनु, प्लास्टिक तथा म्याटको वैकल्पिक प्रयोग हुनु, पराल नपाइनु लगायतका कारणले परालको गुन्द्री बुन्ने परम्परा तथा परालका गुन्द्री हराउँदै गएका हुन् ।
प्रतिक्रिया