‘निजी शैक्षिक संस्थाको योगदानलाई सरकारले मूल्यांकन गर्नुपर्छ’

मेघराज गैह्रे,
(अध्यक्ष)
प्याब्सन, स्याङ्जा ।

मेघराज गैह्रे निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) स्याङ्जाका अध्यक्ष हुन् । लामो समयदेखि शिक्षा क्षेत्रमा अनवरत सेवा गर्दै आएका गैह्रे वालिङ स्थित पाइनिअज हायर एजुकेशनका प्रिन्सिपल एवं क्याम्पस प्रमुख समेत हुन् । विद्यालय तह अन्तर्गत कक्षा १ देखि १० सम्मको नयाँ भर्ना तथा कक्षा सञ्चालन नयाँ वर्षसँगै भर्खर शुरु भएको छ । प्रस्तुत छ, विद्यालय शिक्षा क्षेत्रमा ठूलो हिस्सा ओगटेको निजी शैक्षिक संस्थाले नयाँ शैक्षिक सत्रको कसरी शुरुवात गर्ने तयारी गर्दैछ, के विद्यार्थीसँग लिने शुल्कमा वृद्धि हुँदैछ, आदि विषयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)का अध्यक्ष तथा पाइनिअज हाएर एजुकेशन एकेडेमीका प्रिन्सिपल मेघराज गैह्रेसँग पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः
१. अध्यक्ष ज्यू आराम हुनुहुन्छ ? अहिले के काममा व्यस्त हुनुहुन्छ ?

धन्यवाद, नमस्कार । म यतिबेला आरामै छु । म निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) स्याङ्जाको अध्यक्ष भएको नाताले नयाँ सत्र पनि पनि शुरु भैसकेकाले आउने भविष्यमा के कसरी विद्यालयको पठन पाठनको व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्ने र राष्ट्रिय शिक्षा नीतिले लिएको उद्देश्य अनुरुप कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा योजना बनाउने तथा जिल्लाका साथीहरुको समस्यालाई ब्यवस्थापन गर्ने कार्यमा ब्यस्त छु ।

२. तपाई शिक्षा क्षेत्रमा कहिलेदेखि आवद्ध हुनुहुन्छ ? शिक्षा क्षेत्रमा लाग्न कोबाट कसरी प्रेरित हुनुभयो ?

म वि.सं. २०५२ सालदेखि निरन्तर शिक्षा क्षेत्रमा संलग्न छु । समयले आफै यो क्षेत्रमा ल्यायो । यस क्षेत्रमा नलागेको भए सायद म इन्जिनियर पेशामा हुन्थे होला ।

३. यस क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ? तपाई धेरै संघसंस्था आवद्ध हुनुहुन्छ । कसरी समयको व्यवस्थापन गर्दै आउनुभएको छ ?

यस क्षेत्रमा लागेर मलाई असन्तुष्टि भने पटक्कै छैन । रमाएर नै काम गर्न मन लाग्छ । तर सरकारको ढुलमुले रवैया र शिक्षा नीति हेर्दा मेरो देशका यस क्षेत्रका जिम्मेवार व्यक्ति सबै विदेश नै गई सकेको हो कि, जस्तो लाग्छ । निजी शैक्षिक संस्थाको योगदानलाई सरकारले मूल्यांकन नगर्दा भने दुख लाग्छ । यो क्षेत्र मलाई धेरै नै राम्रो लाग्दछ । संभवत यो भन्दा उच्च पेशा अर्को छैन् तर नेपालमा शिक्षण जस्तो पवित्र पेशामा लागेकालाई सम्मान छैन् । साथै शिक्षा क्षेत्रमा हुने गरेको अनावश्यक राजनीति देखेर मलाई घिन लाग्न थालेको छ । हो म धेरै संघसंस्थाहरुमा छु । सबैमा आवद्ध हुँदा हुँदै पनि कार्यतालिका अनुसार साथै कार्यक्रमको प्राथामिकताको आधारमा समयको व्यवस्थापन गरेको छु । र पनि म विद्यालयमा पूर्ण रुपमा समय दिदै आएको छु ।

४. तपाई प्याब्सनमा कहिले आवद्ध हुनुभयो ? तपाईको विचारमा प्याब्सन के हो र यसले संस्थागत स्कूललाई कसरी सहयोग गरिरहेको छ ?

म प्याब्सनमा वि.सं. २०६० सालबाट आवद्ध भईरहेको छु । प्याब्सन निजी शैक्षिक संस्थाहरुको अभिभावकीय भूमिका रहने संगठन हो । यसले शिक्षा नीति र ऐनहरुको पैरवी गर्दै सबै संस्थागत विद्यालयलाई एउटै छातामा गोलबद्ध बनाएको छ । शैक्षिक हकहित र शिक्षामा नयां प्रविधिसंगको साक्षात्कारको अगुवाईको साथै विद्यालयलाई विभिन्न खेलकुद लगायत अन्य प्रतियोगितामा भाग लिने अवसर, विभिन्न समयमा विभिन्न कक्षाका प्रश्नपत्र तयार पारी परीक्षामा एकरुपता ल्याउने जमर्को लगायत धेरै कुरामा एकरुपता कायम गराउने प्रयास गरेको छ । यसले विद्यालयहरु बिचको अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साहित गर्ने गरी कार्यक्रम ल्याएको छ । प्याब्सन संस्थागत विद्यालयहरुको सरकार र सदन दुवै हो । सरकारले संस्थागत विद्यालय संचालनार्थ छुट्टै शिक्षा ऐनको व्यवस्था नगर्दाको वर्तमान अवस्थामा शिक्षाको विकासमा सहयोग पु¥याउने प्याब्सन नै हो ।

५. अबको शिक्षा कस्तो हुनुपर्दछ ?

मेरो विचारमा विद्यार्थीहरुलाई आफूले जानेको कुरा सबै पस्किन सक्नुपर्छ । बाँकी विद्यार्थीहरुले ग्रहण गर्ने क्षमतामा भरपर्छ । तर हामी गुणस्तरीय शिक्षा, जीवनोपयोगी शिक्षा आदि इत्यादि भन्छौं अनि जसरी भए पनि कुनै पनि सर्तमा उच्चतम अंक वा ग्रेड ल्याउनेलाई नै राम्रो उत्कृष्ट भन्छौं । तर हामी परीक्षा प्रणालीको प्राविधिक पक्ष, मर्यादा, अनुशासन हेर्दैनौं । त्यो त सबैले देख्ने कुरा पनि होइन । वास्तवमा शिक्षा भनेको भित्री आँखा हो । कुनै पनि कुरा राम्ररी सिक्नु हो, दिगो सिकाइ हो । समाजलाई नयाँ उज्यालो दिने कला र सीप हो । विद्यार्थी भित्रको त्यो निहीत गुण हो, जुन गुण उसले जीवनभर अर्काको भलाइका लागि प्रयोग गर्न सकोस् । अबको शिक्षा सिपमूलक र जीवनोपयोगी तथा व्यावसायीक हुनुपर्दछ । पढेपछी मानिस सुखी र संमृद्ध हुनुपर्दछ । दुखी हुनका लागि पढ्ने होइन् । अब समग्र विश्व ब्रम्हाण्डको ज्ञान दिन सक्ने खालको शिक्षा हुनुपर्दछ ।

६. प्याब्सनको जिल्ला अध्यक्ष भएर काम गरिरहनुभएको छ हालसम्मको अनुभव कस्तो रह्यो ?

गत बर्ष सम्पन्न जिल्ला अधिवेशनबाट मैले सहमतिको आधारमा अध्यक्ष हुने अवसर प्राप्त गरे । मलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी सुम्पिनुभएकोमा आभारी छु । यो विश्वासको गाँठो कस्सिदै जाँदा हामीले निकै राम्रा उपलब्धिहरु प्राप्त गर्न सफल हुनेछौँ । यही कार्यकालमा शैक्षिक मुद्दाहरुलाई पनि एउटा बाटोमा ल्याउन सफल भयौँ, स्थानीय सरकारलाई हाम्रा कुरा बुझाउन सफल भयौँ । एकै लाइनमा भन्न पर्दा चुनौतिका विचमा पनि प्याब्सनको जिल्ला अध्यक्ष भएर काम गर्दै गर्दा शैक्षिक जिम्मेवारी प्राप्त गरेको अनुभव गरेको छु । आजसम्म मलाई सबै पक्षबाट सहयोग भएको छ । हालसम्मको अनुभव सुखद नै छ ।

७. शिक्षा नितीदेखी प्याब्सन आफैमा आन्तरीक रुपमा बलियो बनाउनु पर्ने चुनौतिहरु छन् कसरि अगाडि बढ्दै हुनुहुन्छ ?

शिक्षा क्षेत्रमा व्याक्तिगत रुपमा लगानि धेरै भएका छन् त्यसैले हाम्रा सम्पतिको संरक्षण हुने निती र कानुन बन्नुपर्छ, हामीलाई सधै सुरक्षित बनाउनुपर्छ । यस क्षेत्रमा हाम्रो ठुलो लगानि भएको छ यसको स्थायीत्व हामीले चाहेका छौँ । छात्रवृत्तिमा, विद्यार्थीहरुले प्राप्त गर्ने सुविधामा र विद्यालयले प्राप्त गर्ने सुविधाका नाममा नितीगत रुपमा नै हामीलाई विभेद गरिएको छ । यो हटाउनु पर्छ हाम्रो नितीगत पहल पनि यही रहको छ । सरकारले पनि अहिले ठुलो लगानि गरेर सार्वजनिक विद्यालयहरु राम्रा बनाईरहेको छ । सार्वजनिक विद्यालयहरु राम्रो बन्दै गर्दा हाम्रा विद्यालयहरु पनि राम्रो हुनुपर्छ । निजी लगानिका विद्यालयहरु राम्रा बनाउनका लागि सबै भन्दा पहिला शिक्षकहरुलाई दक्ष बनाउँनुपर्छ । पढाउने शैलिमा विकास गर्नका लागि शिक्षकलाई तालिम दिने काम गरेका छौं । त्यसपछि स्कुलका प्रिन्सिपलहरुलाई नेतृत्व विकासका तालिम दिने काम गर्छौ । पाठ्यक्रममा आधारीत भएर विद्यार्थीहरुको सिकाइलाई अगाडी बढाउने लक्ष्यमा छौँ । आजको आवश्यकता भनेको सिप प्रविधि संस्कार जोडेर कक्षा कोठालाई अगाडि बढाउनु हो । यि कुराहरु गर्नका निम्ति हामीलाई रिसोर्स सेन्टर चाहिन्छ हामी डेभलप गर्छौ । यसको अर्थ हिजो जुन तरिकाले चलेका थियौँ, अब यहि तरीकाले हाम्रो भविष्य बन्दैन् । पठनपाठन गर्ने तरिका परीवर्तन गर्ने बेला आएको छ । अर्को जसरी पालिका, जिल्ला, प्रदेश, केन्द्र बनाएर तहगत काम गरएिको छ त्यसैगरी सर्वसाधरणको दैलो सम्म पुग्नका लागि हामीले तहगत विभाग बनाएर अगाडी बढ्छौँ । सरकार निजी क्षेत्रको अभिभावक बन्नुपर्दछ । सरकारले गर्न नसकेको काम निजी क्षेत्रले गरेको छ ।

८. नेपालको सन्दर्भमा सरकार परिवर्तन भएसंगै शिक्षामा हलचल हुन्छ । शिक्षा र राजनीति विच कस्तो सम्बन्ध पाउनुहुन्छ ?

नेपालको सन्र्दभमा यहाँले एकदमै सहि विषय उठान गर्नुभयो । मेरो विचारमा शिक्षा र राजनीति विच नङ र मासुको जस्तै सम्बन्ध रहनुपर्छ जसले देशको मुहार फेर्न सक्छ यदि सहि बाटोमा हिँडाउन सकियो भने । शिक्षा र राजनीति एक अर्कामा आदर्श बन्नु सक्नुपर्छ, हामीमा एकातर्फ आधुनिक शिक्षाको इतिहास लामो छैन भने अर्कोतर्फ राजनीति आर्दश र सेवामुलक संस्कार संस्थागत हुन सकेको छैन । समय समयमा यी दुवै एक अर्कामा आक्रामक रुपमा देखिन्छन् उद्देश्य एउटै भएपनि सामाजिक रुपान्तरण र सम्बृद्धिको । जसको परिणाम स्वरुप मुलत शिक्षण र शिक्षालाई जिवनको आधार र आदर्श बनाउन चाहने राष्टका होनहार युवा जनशक्तिहरु जिवनबाटै निराश र विमुख हुन पुग्ने अवस्थाहरु व्यक्तिगत र आमसञ्चारका माध्यमबाट प्रतिविम्बित हुन्छन् । उच्च ओहोदाका मानिसहरु नै राजनीतिक चाकडीमा व्यस्त छन् । यिनले शैक्षिक सुधारको बारेमा के नै सोचेका होलान् र । क्यालेण्डर नभएको विश्वविद्यालय नेपालमा छ । टियूका गोल्ड मेडलिस्ट बेरोजगार छन् । टियूले ४ बर्षे कोर्षलाई ६ बर्ष लगाउछ । एउटा सबल व्याक्तिको २ बर्ष नोक्सान हुनु भनेको ठूलो नोक्सान हो । शिक्षित र सक्षम व्याक्तिको हातमा राजनीतिक बागडोर नहुदां शैक्षिक अन्योलता कायमै छ ।

९. निजी विद्यालयहरुले लिने शुल्कमा एकरुपता छैन भन्दै अभिभावकहरु गुनासो गर्दछन् । किन, यस विषयमा प्याब्सनले केही योजना बनाएको छैन ?

हो तपाइको प्रश्न आम अभिभावकको प्रश्न हो । सबै निजी विद्यालयहरुको शुल्कमा एकरुपता छैन । शुल्क निर्धारणको प्रक्रिया रहेको छ । विद्यालयले विद्यार्थीलाई दिने सुविधा र अन्य विभिन्न आधारमा वर्गिकरण गरिएको छ । त्यही वर्गिकरणको आधारमा शुल्कहरु निर्धारण हुने गर्दछ । स्याङ्जामा साना देखि ठूल्ठूला स्कूलहरु पनि छन् । उनीहरुले दिने सुविधा तथा अन्य कुराहरु फरक फरक छन् । तथापि हाम्रो जिल्लामा एउटा सिमाभित्र निजी विद्यालयले लिने शुल्क भने समान छ । हामीले स्याङ्जामा लिने शुल्क सरकारी विद्यालयको प्रति विद्यार्थी लागत भन्दा झण्डै आधाले कम छ ।

१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

अन्त्यमा हामीले हाम्रा बालबालिकालाई शिक्षा दिँदा आफ्ना जीवनमा घटेका राम्रा घटना र आफूलाई अघि बढाउने व्यक्तिप्रति कृतज्ञ हुने शिक्षा पनि दिनुपर्छ । कृतज्ञताको भावले कुनै पनि व्यक्तिमा आफ्नो मूल्यांकन आफैले गर्ने बानी पनि बस्छ । किनकि शिक्षा भनेको जीवनमा सफल मानिस बन्ने आधार पनि हो र यही आधारमा टेकेर प्राप्त गर्ने शिक्षा नै आजको आवश्यकता हो । यस्तो शिक्षाको आधार नै खोजी गर्नुपर्छ भन्ने नै प्याब्सनको विचार हो । साथै यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया