‘भीरकोटलाई कृषि र पर्यटनले चिनाउन चाहान्छौं’

रामप्रसाद पौडेल,
प्रमुख प्रशासकीय अधिकृत,
भीरकोट नगरपालिका,
बयरघारी, स्याङ्जा ।
रामप्रसाद पौडेल भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । पौडेल सरुवा भएर भीरकोट आएको १ बर्ष पनि भएको छैन् । कृषि र पर्यटनको संभावना भएको नगरको रुपमा भीरकोटलाई विशेष महत्वको साथ हेरिएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुलाई साथ दिदै विकासको खाका कोर्ने जिम्मेवारी पनि प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरेर विकासका योजना सञ्चालन गर्दै आइरहेका छन् । तर, कर्मचारीको अस्थिरताले विकासका काममा समेत असर पु¥याउने गर्छ । स्थानीय नीति निर्माण गर्ने जनप्रतिनिधि हुन् । त्यसको कार्यान्वयन गर्ने पक्ष कर्मचारी, त्यसैले छोटो समयमा नै कर्मचारी फेरबदल हुनाले विकासले गति लिन सक्दैन । त्यसमा पनि प्रशासकीय अधिकृतले नै विकासका योजना कार्यान्वयन गर्नुपर्छ । स्थानीयस्तरको विकासमा कर्मचारीको अस्थिरताले असर पु¥याएको हामीले देख्दै र सुन्दै आइरहेका छौँ । एक ठाउँको कर्मचारी अर्को ठाउँमा जाँदा पालिकाको वस्तुस्थिति र परिवेश बुझेर काम गर्नसमेत समय लाग्छ । त्यसैले दिगो विकासका लागि एउटै व्यक्ति एक आर्थिक वर्ष प्रमुख प्रशासकीय अधिकृत रहने हो भने विकासमा बाधा नपुग्ने प्रशासकीय अधिकृतहरुकै बुझाइ छ । आर्थिक बर्ष नजिकिँदै गर्दा नीति तथा कार्यक्रम समेत बनाउनुपर्ने आवश्यकता देखिन्छ । सोही सन्दर्भमा भीरकोटका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेलसंग पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालद्धारा गरिएको सम्वाद ः
१. हाकिम साव आराम हुनुहुन्छ ? भीरकोट नगरपालिकाको प्रशासनिक नेतृत्व समाल्न थाल्नु भएको पनि ९ महिना बित्यो । प्रमुख प्रशासकीयको कुर्सीमा बसेर हेर्दा ९ महिनामा नगरपालिका भित्रका समस्या, सम्भावना र चुनौतीहरु के के देख्नुभयो ?
धन्यवाद, नमस्कार । म आरामै छु । भीरकोट नगरपालिका सबै पूर्वाधारविना नै नगरपालिका घोषणा भएको पहाडी नगरपालिका हो । स्थानीय तहको लागि यो मेरो पहिलो अनुभव हो । यस नगरपालिकाको आफ्नै आन्तरिक आम्दानी कम छ । ग्रामीण कच्ची सडक स्तरोन्नतीको समस्या रहेको छ । नगर सदरमुकामको पूर्व र पश्चिम तर्फको सडक पूर्णरुपमा पक्की गराउन नगरको बजेटले भेट्दैन् । केन्द्रले समेत अन्य पालिकाको तुलनामा हामीलाई कम बजेट छुट्टाएको थियो । उक्त बजेटमा पनि यस आ.व.मा अझै २ करोड काटिएको अवस्था छ । भीरकोट नगरपालिका कृषि र पर्यटनमा अत्यन्तै संभावना भएको नगरपालिकाको रुपमा चिरपरिचित छ । ग्रामिण नगरपालिका भएकाले सबै वडाहरुमा पुर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यको हिसाबले समान विकास हुन सकेको छैन् । म यसै जिल्लाको स्थानीय वासिन्दा पनि हुं । यहांको भुगोल विकास, कुन क्षेत्रमा कुन समुदाय कसरी बसेको छ भन्ने अवगत छ । भीरकोट नगरपािलकामा भौतिक संरचना, सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा नै धेरै मेहनत गर्नुपर्ने जस्तो देखिन्छ । अब हामी ग्रामीण क्षेत्रमा लगानी बढाएर काम गर्छौ । विकासका लागि भौगोलिक विकटता चुनौतीको रुपमा रहेको छ ।
२. बिगतका प्रमुख प्रशासकीयले भन्दा फरक चाँही के गर्नुहुन्छ ? प्रशासकीय अधिकृतको हैसियतमा केही खाका कोर्नु भएको छ ?
ग्रामिण क्षेत्रबाट बनेका वडाहरुमा सवै कुरामा हामीले बढि प्राथमिकता दिएर विकास गर्नुपर्छ भन्ने अवधारणा मेरो छ । गत बर्ष ठुलो भूगोल भएका २ वटा वडामा ४० लाख र अन्यमा ३० लाखका दरले बजेट विनियोजन गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृतले मात्रै एक्लै फरक केही गर्न मिल्दैन् । नयां खाका कोर्न मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य ज्यूसंग समन्वय पनि भइरहेको छ । मुलभुत कुरा के भने बजेट विनियोजन गर्दा कम्तीमा वडाहरुमा उपलब्ध हुने हिसाबका योजनाहरु कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पुर्वाधारको क्षेत्रमा प्राथमिकिकरण गरेर शिक्षा, स्वास्थ्य र त्यसपछि कृषिको क्षेत्रमा बिषयगत अनुभव भएका व्यक्तिहरु, बिषयगत विशेषज्ञहरु, शिक्षामा, स्वास्थ्यमा सबैको सुझाव लिएर अघि बढ्छौँ । कृषिको क्षेत्रमा तल्लो गरिब बिपन्न बर्गहरुलाई व्यवसायिक र रोजगारी दिने कुरामा कसरी गर्न सकिन्छ भन्ने अध्ययन र छलफल गरिरहेका छौ । त्यो अनुरुप हामीले नीतिगत छलफल गरेर बनाएपछि इन्डिकेटरको रुपमा वडाध्यक्षहरु समेत बसेर परिणाम आउने किसिमको नतिजामुखी योजनाहरु बनाउने योजना छ । एक करोड बजेट वडाका निम्ती भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र अन्य क्षेत्रमा विनियोजन गर्ने हो भने पाँच वर्षमा परिणाम निकाल्न सक्छौँ । तर हामीसंग पर्याप्त बजेट छैन् । तथापि हामीले धेरै कुराहरु सोचेका छौ । कृषिको क्षेत्रमा अन्य दातृ संस्थाहरु कुन कुनले सहयोग गर्छ त्यस तर्फ पनि छलफल चलाइरहेका छौ । उनीहरुलाई कृषि प्रर्वद्धनका लागि समन्वय गरेर नीति बनाउने कुरा पनि रहेको छ । उपलब्धि हुने हिसाबले सबै जनप्रतिनिधिहरुलाई राखेर योजना बनाउने काम भइरहेको छ ।
३. अहिले नगरभित्र अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन् र ओसारपसारको समस्या उस्तै छ । यसलाई नगरपालिकाले कसरी नियमन गर्दैछ ? रातको मौकाछोपी प्राकृतिक श्रोत साधनको दोहोन, चोरीतस्करी भइरहेको बारे प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई कतिको थाहा छ ?
हामीसँग स्थानीय मुख्य प्राकृतिक स्रोतका रुपमा आंधीखोला रहेको छ । कानुनी प्रक्रिया पूरा गरेर मात्र त्यस्ता प्राकृतिक स्रोतसाधनको उत्खनन् गर्न दिएका छौँ । वातावरणविद्हरुको सहयोगमा वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र उपयोग गरिएको छ । रातको मौकाछोपी प्राकृतिक श्रोत साधनको दोहोन, चोरीतस्करी गर्नेहरुलाई हामीहरुले समातेर कारवाही गरेका छौं । नदीजन्य पदार्थको अत्यधिक उत्खनन् र संकलनले वातावरणीय तथा अन्य पक्षमा क्षति पु¥याउँछ । यस क्रममा कतिपयले संकलन निषेध नै गर्नुपर्छ भन्ने धारणा राख्ने गरेका छन् । तर, संकलनमा गरिने निषेधले विकास–निर्माणमा पर्ने प्रभाव बिर्सन हुँदैन । नदीजन्य पदार्थको दोहनलाई दीर्घकालीन ढंगले व्यवस्थापन गर्नु महत्वपूर्ण हुन्छ ।
४. भीरकोट नगरपालिकामा ब्यक्तिले सार्वजनिक जग्गा हडप्ने, मिच्ने जताततै भएको देख्न सकिन्छ । बिशेष गरि यो समस्या बजार क्षेत्रमा बढि छ । यो समस्या न्युनीकरण कसरी हुदैंछ ?
हामीसँग अन्य सार्वजनिक जग्गाको तथ्यांक पनि छ । त्यस्ता सम्पत्तिको खोजबिनका लागि समिति बनाइएको छ । समितिको प्रतिवेदनका आधारमा कारबाही अघि बढाउँछौं । हामीले जग्गाको वर्गिकरणको काम समेत गरिसकेका छौं । सार्वजनिक जग्गाको संरक्षणका लागि धेरै पटक पहल गरिए पनि हालसम्म ठोस उपलब्धि हासिल भएको छैन । सरकारी सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया लामो भएका कारण पनि ठोस उपलब्धि हासिल हुन नसकेको हुनसक्छ । अब भने त्यो समस्या न्युनीकरण हदैंछ ।
५. नगरपालिकामा सन्चालन भएका थुप्रै व्यवसायहरु दर्ता छैनन्, भएकाहरुले पनि नगरपालिकामा नियमित कर तिर्दैनन् । यसो गर्दा नगरपालिकालाई घाटा ब्यहोर्नु परेको होला । सबैलाई करको दायरामा ल्याउन के गर्दै हुनुहुन्छ ?
केही आशिंक व्यावसायीहरु नगरपालिकामा दर्ता नभएका होलान् । अब उहांहरुलाई पनि हामी दर्ताको प्रक्रियामा ल्याउदै छौं । व्यावसाय कर पनि नगरपालिकाको आन्तरिक आय बढाउने आधार भएकाले अब हामी सोही अनुशार अगाडी बढ्दैछौं । आगामी आ.व. २०८०÷०८१ मा यस्ता समस्या नरहने गरि कार्यविधि ल्याउदैछौं । सबैलाई करको दायरामा ल्याउने प्रयास भैरहेको छ ।
६. बिगतमा नगरपालिकाले सिपमुलक, क्षमता अभिबृद्धि लगायतका शिर्षकमा युवा तथा महिलाहरुलाई तालिम दिएको थियो । तर, त्यसरी तालिम लिने जनशक्ति मध्ये उत्पादनमा जोडिएका कमै छन् । अहिले पनि नगरपालिकाले अनुत्पादक क्षेत्रमा लगानी बढी ग¥यो भन्ने गुनासो छ नि ?
विदेशबाट फर्किएका र स्वदेशमा नै बसेर आयमूलक र व्यावसायिक काममा लाग्नुभएका युवाहरुका लागि कृषिकेन्द्रित कार्यक्रममा सहयोग गरेका छौँ । स्वदेशमा नै बसेर स्वरोजगार बन्न चाहने त्यस्ता युवाहरुका लागि सीपमूलक तालिम, व्यावसायिक तालिम सञ्चालन गरिरहेका छौँ । व्यवसाय नै दर्ता गरेर लाग्नुभएका युवाहरुका लागि नगरपलिकाले सीप विकास गर्न तालिम प्रदान गरी दक्ष बनाई व्यवसायसँग मिल्ने यान्त्रिक उपकरणहरु बिउवीजनहरु प्रदान गर्ने गरका छौँ । प्राथमिकताका आधारमा ५० प्रतिशत नगरपालिकाको र ५० प्रतिशत कृषकको साझेदारीमा त्यस्ता उपकरणहरु वितरण गरेका छौँ । आजकल माग्न आउन छोडिसके, आफैँ व्यवसायी बनेका छन् । युवाहरुलाई स्वरोजगारसंग जोड्न खोज्दा नगरपालिकाले अनुत्पादक क्षेत्रमा लगानी गरेजस्तो त लाग्दैन् ।
७. कृषिमा नगरपालिकाले दिने सहुलियत, अनुदान बास्तविक किसानले पाए नपाएको अनुगमन नगरपालिकाबाट हुने गरेको छ त ?
कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गराई युवाहरुलाई आकर्षण गराउने नगरपालिकाको लक्ष्य छ । पर्यटन प्रवद्र्धन गरी रोजगार सिर्जना गर्ने नगरपालिकाको योजनाअनुसार विभिन्न पर्यटकीय स्थानहरुमा रोजगार उपलब्ध गराउने काम भएको छ । हामीहरुले किसानलाई उपलब्ध गराउने अनुदानको सदुपयोग भए÷नभएको अनुगमन गर्ने काम भएको छ । ग्रामिण स्तरमा होम–स्टेहरु सञ्चालन गर्न प्रोत्साहन गरिएको छ । आन्तरिक बाह्य पर्यटकहरुलाई नगरपालिकामा भित्राई स्थानीयलाई रोजगार र स्वरोजगारको वातावरण बनाउन नगरपालिकाले विविध क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । यसरी नगरपालिकाले बेरोजगार समस्या समाधान गर्न भूमिका खेलेको छ । हामीले प्रदान गर्ने गरेको सहुलियत तथा अनुदान वास्तविक किसानले नै पाएका छन् ।
८. जिल्लाको एकमात्र बालमैत्री नगरपालिका भीरकोटलाई पूर्णरुपमा बालमैत्री नगर बनाउनका लागि नगरपालिकासंग योजना के के छन् ?
हामीले बाल बचाउ, बाल सहभागिता र बाल अधिकारका क्षेत्रमा काम गरेका छौं । बालमैत्री स्थानीय शासनका आवश्यक सूचक कार्यान्वयन गर्न नगरपालिकाले वडा तहमा सञ्चालन गर्नुपर्ने कामलाई तीव्र बनाएको छ । अहिले भीरकोट नगरपालिकाको नौवटै वडामा बालक्लब र बाल सञ्जाल पुनर्गठन, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेका ५१ वटा सूचक कार्यान्वयनका लागि प्रत्येक वडामा काम भइरहेको छ ।
९.अलिकति फरक प्रसंग, तपाईंको अनुभवमा स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदा कानुनको कत्तिको जानकार भएर आउँनुहुँदो रहेछ ?
गर्भैबाट जानेर आउने त कोही पनि हुदैन् । परेपछी जान्ने कुरा हो । यस पालिकाका अधिकांश जनप्रतिनिधिहरु कानुनको विषयमा पूर्ण जानाकार हुनुहुन्छ । स्थानीय सरकारका नयां जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको एक वर्ष विताईसक्नुभएको छ । धेरैले लय पक्डिसक्नुभएको छ । नयाँ अभ्यास भएकाले यसका लागि केही अलमलहरु हुनु स्वभाविक पनि हो । निर्वाचित जनप्रतिनिधी अधिकांशमा केही गरौं भन्ने भावना देखिन्छ । स्थानीय सरकारलाई आफ्ना कानुन आफै बनाउने अधिकार भएकाले स्थानीय सरकारसँग जनताको अपेक्षा पनि बढि नै छ । स्थानीय सरकारका कानुन प्रदेश र संघीय सरकारको कानुनसँग बाझिनु हुदैंन ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजमा भीरकोट नगरपालिकाका गतिविधि राख्ने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु । हामीले भीरकोटलाई राम्रो गर्ने प्रयासमा छौं, यो कुरा भीरकोटवासीले सकारात्मक ढंगले लिनुभएको होला । साथै विकासका पूर्वाधार निर्माण गर्ने कार्यमा धेरै जसो काम भएका छन् । केही कामहरु हाम्रो पहुँच भन्दा बाहिर पनि छन् । विकासका कामहरु चरणबद्ध रुपमा हुन्छन् । एकै चोटी सबै कामहरु समपन्न हुँदैनन् । हाम्रो पहुँच बाहिर रहेका कामहरु पनि सम्बन्धित निकायमा पहल गरी संचालन गर्ने तथा जनताका कामहरु कर्मचारी तथा नगर प्रशासनबाट सरल र सहज गराउने प्रतिबद्धता व्यक्त गर्दछु र प्रक्रिया नपुगेका कामहरुमा धैर्य गर्न पनि आग्रह गर्दछु ।
प्रतिक्रिया