मेरो कार्यकालमा पूर्वाधारको पर्याप्त विकास हुनेछ

गोविन्द कुमार कर्माचार्य
प्रमुख
भीरकोट नगरपालिका, स्याङ्जा
२०७९ सालको स्थानीय तहको चुनावमा स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा गोविन्द कुमार कर्माचार्य निर्वाचित भएका थिए । नगरपालिकाको प्रमुख पदमा निर्वाचित कर्माचार्य राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन् । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले गर्दा पनि उनी जनताको रोजाईमा परे । नगरप्रमुख पदमा निर्वाचित भएपछि आफूले गरेको काममा कसैले औँला उठाउने अवस्था नभएको उनको जिकिर छ । यो नगरपालिका कृषि र पर्यटनका दृष्टिले महत्वपूर्ण मानिन्छ । नगरप्रमुख कर्माचार्यसँग नगरपालिकाको समग्र विषयमा पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको अंश ः
तपाईँ नगर प्रमुखका रुपमा निर्वाचित भएर आएको २ बर्ष पुग्नै लाग्दा भीरकोट नगरपालिकामा देखिने गरी के–के काम भएका छन् ?
नगरपालिकामा हामीले निर्वाचित भएर काम गर्ने अवसर प्राप्त गरिसकेपछि निर्वाचनताका गरेका प्रतिबद्धता, घोषणा पत्र र नगरबासीको चाहाना अनुसार तिब्र गतिमा विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको छ । निर्वाचित भैसके पश्चात मुख्य रुपमा बयरघारी सुन्दर बजार, ठुलिभञ्ज्याङ र बयरघारी, बानेथोक विरुवा सडकखण्डको स्तरोन्नती गरी ७ कि.मि. जति सडक ढलान र कालोपत्रे गर्ने कार्यको प्रारम्भ भएको छ । त्यसैगरी कलात्मक नगरपालिका प्रवेशद्वारको निर्माण, कार्यालय परिसरको स्तरोन्नति र भाग्योदय मा.वि.को नमुनायोग्य विद्यालय भवन निर्माण लगायत जनताले प्रत्यक्ष देख्न सक्ने खालका भौतिक पुर्वाधारसँग सम्बन्धित कार्य सम्पन्न भएका छन् । यसलगायत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरको सुधार र सुनिश्चितता, नगरवासीलाई खानेपानीको सहज उपलब्धता, नगर क्षेत्रभित्र रहेका कृषियोग्य फाँटको संरक्षणका लागि ५ बर्ष भित्र आँधिखोलाको दायाँबायाँ तटबन्ध गर्ने कार्य सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भएको छ । उल्लिखित भौतिक पुर्वाधारका क्षेत्रमा गरिएका कतिपय कार्य तत्कालै नगरवासीले महशुस गर्ने खालका छन भने कतिपय कार्यको नतिजा आगामी बर्षहरुमा देख्ने र महशुस हुने विश्वास लिएको छु ।
यो नगरपालिका बालमैत्री नगरपालिका रुपमा स्थापित भएको छ । यसलाई यहाँले कसरी कार्यान्वयन गरिरहनुभएको छ ?
बालमैत्री नगरपालिका घोषणा भैसकेपश्चात घोषित समयमा पुरा गरिएका सुचकहरुको निरन्तरता र पुरा नभएका सुचकहरु पुरा गर्ने दायित्व र जिम्मेवारी नगरपालिकामा रहेको छ । यो कार्य निकै चुनौतिपुर्ण हुँदाहुँदै पनि यसको निरन्तरताका लागि सिमित श्रोत र साधनबाट आवश्यक पर्ने बजेटको व्यवस्थापन गरि वडा तथा नगरपालिकास्तरमा बाल क्लब तथा बाल संजाल गठन गरिएको छ । तिनिहरुसँग निरन्तर रुपमा छलफल तथा अन्तरक्रिया गर्ने, समाजमा विद्यमान बाल बिवाह, बाल हिँसा, बालबालिकालाई मदिरा तथा सुर्तिजन्य पदार्थ ओसारप्रसारमा नियन्त्रण र बाल श्रमको नियन्त्रण लगायतका विषयहरुमा सूचनामुलक प्रचार तथा पम्प्लेट निर्माण गरि त्यसको प्रचारप्रसार गरीएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्नका लागि विद्यालय स्तरीय निवन्ध लेखन, हाजिर जवाफ लगायतका प्रतीयोगिताहरुको आयोजना, मेयरसँग बालबालिका कार्यक्रम अन्तर्गत बालबालिकाको हकहितको संरक्षण तथा प्रवर्धनका लागि उनीहरुसँगको आवश्यक अन्तरक्रिया तथा छलफल गर्ने र विद्यालयमा रहेका विद्यमान संरचनाहरुलाई क्रमश बालमैत्री बनाउँदै लग्ने कार्य अगाडि बढाएको छु । साथै, नगरपालिकाले बाल विकास, बाल सहभागिता र बाल बचाउ अभियानको संस्थागत विकासमा काम गरिरहेको छ ।
पूर्ण खोप कार्यमा सफलता प्राप्त गरेको नगरपालिकामा के–के स्वास्थ्य पूर्वाधार निर्माण भएका छन् ?
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम हुनुका साथै महत्वपुर्ण विकासको उपलब्धि हासिल भएको छ । पक्कै पनि यहाँले भनेजस्तो हाम्रो नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका हो । यो कार्यक्रम एक पटक घोषणा गर्दैमा हुने कार्यक्रम नभएकोले यसको निरन्तरताका लागि नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र मार्फत बालबालिका लगायत सबै नगरवासीहरुलाई लगाउनु पर्ने खोप उपलब्धतालाई सुनिश्चित गरि नगरपालकाद्वारा नगरबासीहरुलाई प्रदान गरिने सेवा सुविधाहरुमा सहज पहुच पु¥याउने व्यवस्था मिलाइएको छ । त्यसैगरी स्वास्थ्य चौकी नभएका वडाहरुमा स्वास्थ्यचौकी निर्माण गर्ने र भीरकोट नगरअस्पतालबाट प्रदान गरिने सेवा तथा सुविधाको गुणस्तरमा वृद्धिका लागि नगर अस्पतालमा स्वास्थ्य विमा कार्यक्रमको प्रारम्भ गरीएको छ । त्यसका लागि आवश्यक मेशिनरी तथा औषधि व्यवस्थापन गरी स्वास्थ्य सेवाको विस्तार गर्ने कार्य अगाडि बढाएका छौँ ।
यस नगरपालिकामा घुम्न लायक पर्यटकीय स्थलहरु छन् ती स्थलको विकासका लागि नगरपालिकाले के–के काम गरिरहेको छ ?
यहाँले भनेजस्तो यस नगरपालिकालाई पर्यटकीय शहरको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । पर्यटकीय स्थलहरुका रुपमा नगरपालिका भित्र रहेका छाङछाङ्दी छायाँक्षेत्र मन्दिर, खिलुङ कालिका, गडहरे गुफा, स्वरेक मैदान, देउपुजे ढुंगा, मुल्का बाराह, कोखे झरना लगायतका पर्यटकीय स्थलको विकास निर्माण र स्तरोन्नती गर्ने कार्य गरिएको छ । यसका लागि हामीसँग उपलब्ध सिमित श्रोत तथा साधनको बावजुद नगर क्षेत्रभित्र रहेका धार्मिक, साँस्कृतिक तथा प्राकृतिक स्थलहरुको स्तरोन्नति गर्ने त्यस्ता स्थानहरुमा जानका लागि सहज पहुच मार्गको निर्माण र सार्वजनिक संचार माध्यमबाट प्रचार–प्रसार गरी नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको जानकारी दिने लगायतका क्रियाकलापहरु अगाडि बढाईएको छ । त्यसका साथै पर्यटकीय स्थलहरुसम्म पुग्ने सडक सञ्जाल विस्तार भएको छ ।
नगरपालिकाले नागरिकको जिवनस्तर उठाउने र रोजगारी सिर्जना गर्न के काम गरिरहेको छ ?
नगरपालिकाले नागरिकको जिवनस्तर उठाउने र रोजगार सिर्जनाको लागि विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति तथा समुहलाई आवश्यक पर्ने सिप तथा क्षमता विकासका लागि तालिम कार्यक्रमको संचालन गर्ने गरिएको छ । त्यस्ता पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति तथा समुहलाई आवश्यक पर्ने कतिपय सामाग्रीहरु निशुल्क तथा कतिपय सामाग्रीहरु सःशुल्क÷ अनुदानमा उपलब्ध गराईएको छ । त्यस्ता व्यक्तिहरुको दैनिक जिवनस्तरलाई सहज बनाउँदै स्वरोजगारमा लाग्नका लागि उत्प्रेरीत गर्ने लगायतका कामहरु अगाडि बढाईएको छ । यहाँका बहुसंख्यक नगरबासीहरु कृषि र पशुपालन व्यवसायमा संलग्न रहेको हुनाले उक्त क्षेत्रमा अनुदान दिने गरिएको छ ।
तपाईँले साविक स्थानीय निकाय र अहिले स्थानीय सरकार दुबैमा जनप्रतिनिधि भई नागरिकको सेवा गर्ने अवसर प्राप्त गर्नुभएको छ । हालको स्थानीय सरकार (नगरपालिका) मा बसेर सेवा गर्दा कतिको फरक अनुभव गर्नुभएको छ ?
साविकको स्थानीय निकाय र हालको स्थानीय सरकारमा काम गर्दाको जहाँसम्म फरक कुरा गर्नुभयो, पक्कैपनि हिजो गाउँ विकास समितिको नेतृत्वमा रहेर कार्य गर्दा र हालको स्थानिय सरकारको प्रमुखको रुपमा रहेर कार्य गर्दा ठुलो अन्तर रहेको छ । हिजोको गाउँ विकास समितिको काम कर्तव्य र अधिकार, स्रोत र साधन, विकास निर्माणको तौर तरीका र शैली, जनताका इच्छा र आकांक्षाहरु, काम गर्ने शैली, जनशक्तिको अवस्था लगायतका सबै विषयमा केहि न केही फरकपन रहेको छ । जस्तै हिजोका दिनमा जनताले गोरेटो बाटोको, पानी पंधेरोमा ट्याङ्की मात्रै निर्माण गर्ने माग गर्थे भने हाल आएर १०–१२ फिट चौडाई भएका पक्की सडकको माग राखेको पाईन्छ । खानेपानी तर्फ घरघरमै पाईप मार्फत खानेपानी उपलब्ध गराईदिने माग राखेको देखिन्छ । यसका अलावा सूचना प्रविधिको विकासका कारण हाल आएर सम्पुर्ण विकास निर्माणका कार्यहरु सूचना प्रविधिको प्रयोग मार्फत अगाडि बढाउनुपर्ने र हरेक विषय क्षेत्रलाई सूचना प्रविधिमैत्री सोचका साथ अगाडि बढाउनुपर्ने महशुस गरेको छु । दिगो विकासको लक्ष्य र समृद्धि हासिल गर्न हिजोको गाविसमा भन्दा अहिलेको स्थानीय तहमा सहज हुने लागेको छ ।
स्थानीय सरकारलाई प्रभावकारी रुपमा संचालन गर्न के–के काम गर्नुपर्ने रहेछ ? अन्य दलका नेताको सहयोग कत्तिको छ ?
स्थानीय सरकारलाई प्रभावकारी बनाउनका लागि एकातिर हामीलाई संविधान तथा कानूनले दिएको जिम्मेवारी पूरा गर्नुछ भने अर्कातिर नगरबासीको नजिकको सरकार पनि भएको नाताले जनताको जिवन मरणसँग सम्बन्धित सबै कार्य गर्न सकिएमा मात्र स्थानीय सरकार प्रभावकारी बन्न सक्दो रहेछ भन्ने मेरो करिव विगत २ बर्षको अनुभवबाट महशुस गरेको छु । तथापी नगरपालिकामा उपलब्ध सिमित श्रोत र साधनका बावजुद नगरवासीहरुको जन्म देखि मृत्यु सम्मका सबै कार्यहरुमा नगरपालिकालाई जोडेर अगाडि बढ्नुपर्ने देखेको छु । जहाँसम्म स्थानीय सरकार संचालनका लागि भीरकोटमा रहेका सबै राजनितिक दलसँग आवद्ध नेताहरुको सहयोग र साथ लिएको पनि छु र उहाँहरुबाट नगरपालिकाको आर्थिक सामाजिक समृद्धिका लागि सकारात्मक सहयोग तथा समर्थन पनि रहेको छ ।
भीरकोट नगरपालिकाको पहिचान के हो ? अब गर्नुपर्ने काम के–के हुन् ?
भीरकोट नगरपालिका कुनै एउटा मात्र पहिचान बोकेको नगरपालिका नभई बहु पहिचानले चिनिने र चिनाउन सकिने सम्भावना रहेको नगरपालिकाको रुपमा रहेको छ । जस्तै पर्यटकीय स्थलका रुपमा स्वरेक मैदान र गडहरे गुफा, धार्मिक रुपमा तथा सांस्कृतिक रुपमा छायाँक्षेत्र मन्दिर, खिलुङ कालिका, मुल्का बराह, देउपुजे ढुंगा, सांस्कृतिक रुपमा ओकादी र केगामा रहेको गुरुङ समुदायको संस्कृति र तिनिहरुबाट संचालित घरबास पर्यटन (होमस्टे), ऐतिहासिक महत्वका रुपमा रहेको भीरकोट दरबार, प्राकृतिक सौन्दर्यको रुपमा रहेको सुन्दरचौर बनस्पति केन्द्र, आँधिखोलाको दायाँ बायाँ रहेका हजारौँ रोपनी खेतीयोग्य जमिन लगायतका चिनारीहरु हाम्रो नगरपालिकाको पहिचानका रुपमा रहेका छन् । मेरो आगामी कार्यकाल पनि यिनै पहिचान बोकेका विषयलाई समेटेर विकास निर्माणका कामलाई निरन्तरता दिने र योजनाबद्ध रुपमा त्यस्ता स्थलहरुमा पुग्न सहज पहुच मार्गको निर्माण र अन्य आवश्यक संरचनाको निर्माण गर्नुपर्ने देखेको छु र मेरो बाँकी कार्यकाल तिनै क्षेत्रहरुको विकास निर्माणमा लगाउने सोचका साथ अगाडि बढेको छु । पर्यटन, कला, संस्कृति, सम्पदा संरक्षणको क्षेत्रमा बजेट बढाउने सोचमा छौँ । यसले नागरिक र देशको आर्थिक अवस्थालाई नै सकारात्मक प्रभाव पार्दछ ।
 तपाई जनतासँग धेरै नजिक हुने नेताका रुपमा चिनिनुहुन्छ ? अहिलेका जनताका खास गुनासा के छन् ?
जनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ । विगत ५० बर्ष देखि यसै समाजको आर्थिक सामाजिक विकासका लागि जनताका सुख दुखमा साथ दिदै आएको राजनितिकर्मिको रुपमा म जनताको नजिक छु भन्नेमा मेरो विश्वास रहेको छ । तथापी मेरो आफ्नो मुल्यांकन म आफैले गर्नु भन्दा पनि यहाँहरु जस्तो पत्रकार साथी र भीरकोट नगरवासीले गर्नुभएको होला भन्नेमा मेरो विश्वास छ तर म पनि यसै समाजको एउटा नागरिकका रुपमा रहेकाले म प्रति कसैको कुनै किसिमको गुनासो छैन भन्ने हुँदैन । किनकी एउटा कार्यकारी पदमा रहेर कामकाज गर्दा सबैको चित्त बुझाउन सक्ने अवस्था नहुने भएकाले केहि न केहि गुनासाहरु होलान नै तर जनताका त्यस्ता गुनासाहरु प्रति म सधै सजग र सचेत छु । नगरवासीबाट कुनै किसिमको गुनासो नआउने गरी मेरा आगामी गतिविधिहरु सोहि दिशामा अगाडि बढ्नेछन् भन्ने विश्वास यहाँलाई दिलाउन चाहन्छु ।
अन्त्यमा पब्लिक आवाजमार्फत आम नागरिकरहरुलाई के भन्न चाहनुहुन्छ ?
मलाई अत्याधिक बहुमतले प्रमुखमा विजयी गराउनु भएकामा सम्पूर्ण नगरवासीप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु । नगरवासीले जुन विश्वासका साथ मलाई यो जिम्मेवारी सुम्पिनु भएको छ, त्यसलाई कत्ति पनि कम हुन नदिई इमान्दारपूर्वक काम गर्नेछु । एउटा व्यक्तिको प्रयासले मात्रै सम्पूर्ण नगरको मुहार फेर्न सम्भव हुँदैन । सबैको साथ र सहयोगको जरुरत पर्दछ । सँगसँगै खबरदारी र सचेत गराउन पनि आग्रह गर्दछु । निर्वाचनको क्रममा मैले सार्वजनिक गरेको प्रतिबद्धताको कार्यान्वयन गर्ने कुरामा आशंका नगर्न पनि आश्वस्त तुल्याउन चाहन्छु । नगरबासी आमा, बुबा, दाजुभाई तथा दिदिबैनीहरुले हालसम्म दिनुभएको सल्लाह सुझाव र सहयोगको लागि धन्यवाद दिन चाहन्छु । मैले नगरपालिकाको आर्थिक र सामाजिक विकासका लागि चालेका हरेक क्रियाकलापमा यस्तै किसिमको सकारात्मक सहयोग र सल्लाह सुझाव दिनुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु ।

प्रतिक्रिया