उवासंघले आठौं महोत्सवबाट २१ लाख बचायो

वालिङ ।
आठौं वालिङ महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघले गत माघ १८ देखि २८ सम्म वालिङ खेलमैदानमा आठौं संस्करणको महोत्सव गरेको थियो । बुधबार पत्रकार सम्मेलन गरेर संघले आय व्यय सार्वजनिक गरेको हो ।
आठौं वालिङ महोत्सवमा कूल ८५ लाख ५४ हजार ४ सय ४१ रुपैयाँ ६० पैसा आम्दानी भएको आयोजक वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष खगुपति न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराए । जसमध्ये ६४ लाख ४४ हजार ४ सय २१ रुपैयाँ ३४ पैसा बिविध बिषयमा खर्च भएको र २१ लाख १० हजार २० रुपैयाँ २६ पैसा बचत गर्न सफल भएको कोषाध्यक्ष न्यौपानेले उल्लेख गरे । उनका अनुसार रु. १० लाख ३३ हजार ७ सय २८ रुपैयाँ ९० पैसा आयकर भुक्तान गरिसकिएको छ भने ३ लाख असार मसान्तसम्म भुक्तान गरिने छ । जिल्लामै सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा वालिङ उद्योग वाणिज्य संघ रहेको छ ।
कार्यक्रममा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जिल्लामा सम्पन्न भएका मेला महोत्सवहरुमा आठौं वालिङ महोत्सवले सबैभन्दा धेरै र पारदर्शीरुपमा समयमै आयकर भुक्तानी गर्न सफल भएको बताए । उनले आठौं संस्करणको महोत्वसलाई गण्डकी प्रदेशमै उत्कृष्ट महोत्सवको रुपमा सम्पन्न गर्न सफल भएको दावी गरे । महोत्सवको सफलताले वालिङ जिल्लाकै सेन्टर र व्यापारीक केन्द्र हो भन्ने सन्देश दिएको अध्यक्ष श्रेष्ठले बताए । संघलाई तिनैतहका सरकारले सिजन अनुसारको कृषि उत्पादनको जिम्मेवारी दिएमा इमान्दारी पुर्वक काम गर्न सक्ने श्रेष्ठले बताए । महोत्सवबाट बचेको रकमले संघलाई कार्यालय संचालन देखी अन्य भौतिक निर्माणमा सहयोग पुगेको बताए ।
यसैगरी सघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारीले वालिङ सम्पूणको सहयोगले आठौं संस्करणको महोत्सव ऐतिहासिक रुपमा सफल भएको बताए । संघका सञ्चालक समिति तथा बिभिन्न उप समिति, सहयोगी संघ संस्था, व्यापारी, समाजसेवी, दर्शक महानुभावहरु एवम् सञ्चारकर्मी र सुरक्षा निकायलगायतको सकारात्मक सहयोगले महोत्सवलाई भव्य र ऐतिहासिकरुपमा सफल गराउन महत्वपूर्ण भूमिका खेलेको हुँदा सम्पूर्णलाई पत्रकार सम्मेलन मार्फत बरिष्ठ उपाध्यक्ष तिवारीले हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरीन् ।
कार्यक्रमको सञ्चालन वालिङ उद्योग बाणिज्य संघका महासचिव रमेश अर्यालले गरेका थिए । महासचिव अर्यालले विगतका महोत्सवहरुमा होटल खर्च धेरै हुने गरेको बताउदै आठौं महोत्सवमा होटल खर्चको भुक्तानी नभएको बताए ।
प्रतिक्रिया