‘सेवाग्राहीका मुहारमा खुसी देख्दा आत्मसन्तुष्टि बढ्छ’

सुनिता नेपाल,
(प्रमुख जिल्ला अधिकारी)
स्याङ्जा ।
स्याङ्जा जिल्लाको प्रशासनिक नेतृत्व अहिले अर्घाखाँचीकी सुनिता नेपालको काँधमा छ । २०८० पुस १६ गतेदेखि स्याङ्जा जिल्लाको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेपाल कुशल प्रशासकका रुपमा परिचित छन् । नेपालले निजामती सेवामा झन्डै २० वर्ष बिताइसकेकी छन् । स्याङ्जाका प्रजिअ नेपाल यसअघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कार्यरत थिईन् । आफू निजामती सेवामा एकदमै सन्तुष्ट रहेको बताउने प्रजिअ नेपाल कामका दौरानमा सामान्य दबाब आएपनि आफूहरु नियम–कानुनकै परिधिमा रहेर काम गर्ने भएको हुँदा यसतर्फ खासै ध्यान नजाने उनी बताउँछीन् । जिल्लाको शान्ति–सुरक्षा, वस्तुस्थिति, विपदको अवस्था लगायत विविध विषयमा पब्लिक आवाज पत्रिका र अनलाइनका सम्पादक अमृत अर्यालले प्रजिअ नेपालसँग गरेको विशेष कुराकानी ………………………………………………………
१. सिडीओ साव आराम हुनुहुन्छ ? सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
धन्यवाद, नमस्कार । सबै ठिकै छ, म आरामै छु । जिल्ला प्रशासन कार्यालयबाट विभिन्न प्रकारका सेवा–प्रवाह हुन्छ । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा व्यवस्थापकीय समस्या केही हदसम्म सहजीकरण गर्न सकिएको महशुस भएको छ । जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहदैं गर्दा यस कार्यालयले प्रदान गर्ने सेवाहरुलाई सहज, सरल र पहुँचयोग्य बनाउन म लागिपरेकी छु । यसका लागि स्थानीय पालिकाहरु र वडा कार्यालयको समेत अहम् भूमिका रहने गर्दछ । कामको सफलताको कुरा गर्दा त्यो सधैं मापनयोग्य हुदैंन् । यो त कार्यसम्पादनका क्रममा अनुभूत गर्ने÷गराउने बिषय हो । मेरो सफलता भनेको सेवाग्राहीको हसिँलो मुहार र सहज सेवा प्रवाह हो । सेवाग्राहीका मुहारमा खुसी देख्दा आत्मसन्तुष्टि बढ्छ । यो बिषय मलाई भन्दा सेवाग्राहीलाई सोध्दा अझै उपयुक्त होला जस्तो लाग्छ मलाई त ।
२. कामको दौरानमा कस्ता–कस्ता दबाब आउँछन् ?
मैले दबाबको महशुस चाहिँ गरेको छैन । कामको क्रममा दैनिक भेटन आउने र फोन गर्ने बिषय कुनै नौलो भएन । जब कुनै कामका लागि सेवाग्राही आफै उपस्थित भएर आफ्नो समस्या राख्नुहुन्छ त्यतीबेला मलाई खुशी लाग्छ । जिल्ला प्रशासन कार्यालयमा कुनै कामको लागि आउँदा केही जान्नुपर्दैन र कोही चिन्नु पनि पर्दैन । सहज तरिकाले नै सेवा प्रवाह हुने विश्वास दिलाउन चाहन्छु । यसमा म केही हदसम्म सफल भएको अनुभूति मिलेको छ । कानूनले गर्न मिल्ने कामका लागि कोही चिन्नु पर्देन् । गर्न मिल्ने काम कोही नचिने पनि कसैले नभने पनि समयमा नै हुन्छ । अहिलेसम्म कुनै काम गर्न वा नगर्नलाई कहि कतैबाट त्यस्तो दवाव आएको छैन ।
३. आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
जिल्ला प्रशासन कार्यालयमा काम गरिरहदा धेरै कामको सहजीकरण गर्ने मौका मिलेको छ । मलाई यस्ता धेरै काममा आनन्दको महशुस भएको छ । मलाई लाग्छ यो विना लगानी धर्म कमाउने त्यस्तो सेक्टर हो । सर्वसाधारणमा सामान्य कानूनी सचेतना नहुँदा धेरै समस्यामा पर्नुपरेको अवस्था छ । समयमा नै घटना दर्ता नगर्नाले बाबुआमाको कारण सन्ततीले नागरिकता बनाउन नपाउँदा भविष्य नै अन्धकार हुने अवस्था छ । उच्च शिक्षा, वैदेशिक रोजगार, सवारीचालक अनुमती पत्र, पान कार्ड लगायत धेरै कामका लागि चाहिने एकमात्र सरकारी कागज नागरिकता नै हो । जसले नागरिकता प्राप्त गर्न सकेको छैन उसले आफ्नो राष्ट्रियता र पहिचान नै गुमाउनु परेको अवस्था छ । त्यस्ता बालबालिका, महिला तथा अन्यको जन्मदर्ता तथा नागरिकता जस्ता कागजहरु कानूनी प्रक्रिया पु¥याएर सहजीकरण गर्न पाउँदा अत्यान्तै खुशी लाग्छ । जिल्लाका ११ वटै पालिकामा विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गर्दा स्याङ्जा जस्तो शिक्षित जिल्लामा पनि अझै धेरै महिला तथा किशोर किशोरीहरु नागरिकताविहिन अवस्थामा रहेको थाहा पाए । पहिचान स्थापित भएकाहरुको कानुनी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्ने विषय प्राथमिकतामा राखी म अघि बढेको छु । मैले सबैको अभिलेख राखेको छैन, त्यस्ता धेरै घटनाहरु छन् । विवाह भएको श्रीमान्को मृत्यू भैसकेको ५०÷५५ वर्ष पछी ती महिलालाई माइतिको बुवाको सनाखत गराई नागरिकता प्रदान गर्दा खुशि लागेको थियो । त्यस्तै अर्को नयाँ अभ्यास गरिएको छ । दुर्गममा विपदबाट मृत्यू भएको शव परिक्षण प्रविधिको प्रयोग गरी डाक्टर रिर्पोट गराउने कार्य गरियो । जसले गर्दा मृतक परिवारलाई घण्टौ लगाएर शव परिक्षणको लागी जिल्ला अस्पताल ल्याउनु नपर्दा दुःखद समयमा केही नभए पनि भावनात्मक राहात प्रदान गर्न सकिएको अनुभूति भएको छ । आफुले गरेको कामबाट आत्मसन्तुष्टि भएका धेरै कामहरु छन् ति सबैको फेहरिस्त यहाँ संभव नहोला ।
४. निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित ग¥यो ?
सरकारी सेवा धेरैजसो युवाको ड्रिम जवको रुपमा रहेको देखिन्छ । तर मेरो प्रसंग भने अलिक फरक छ । म काठमाडौंमा जन्मी हुर्केको हुँदा निजामती सेवाबारे त्यती धेरै जानाकारी थिएन । करीब ९ बर्षजति प्राइभेट जागिर खाएर निजामतीमा प्रवेश गरेकी हुँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले संचालन गरेको महिलाहरुका लागि निजामती सेवाको तालिमबाट म २०६१ सालमा यो पेशामा प्रवेश गरेकी हुँ । मैले देखेको, मैले थाहा पाएको सरकारी सेवामध्ये सबैभन्दा आकर्षक सेवा यही लाग्यो । तर मेरो निजामती सेवा प्रवेश आकस्मिक मान्नुपर्छ ।
५. निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
पारिवारिक पृष्ठभूमी भएका युवापुस्तामा आकर्षण भएको देखिए पनि अबको पुस्तामा आकर्षण घटेको पाइन्छ । अहिले वैदेशिक अध्ययनको नाममा किशोर किशोरीहरु १२ कक्षा पछी नै देशबाट बाहिरिनेको संख्या बढ्दो छ । यसले भविष्यमा निजामती सेवामा पनि दक्ष जनशक्तिको अभाव हुने हो कि भन्ने आशंका बढेको छ । हामीले खोजेको अझै क्रिएटिभ, इनोभेटिभ जनशक्तिलाई निजामती सेवाले आकर्षण गरेको छैन ।
६. निजामती सेवामा किन चाँडो–चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
कर्मचारीको सरुवालाई नियमित प्रक्रियाको रुपमा लिनुपर्दछ । सरुवाको स्पष्ट नीति र मापदण्ड नहुँदा सरुवालाई अनुमानयोग्य बनाउन नसकेको बिषय यथार्थ नै हो । निश्चित समयसम्म कर्मचारीले एकै ठाउँलाई कार्यस्थल बनाउन नपाउँदा कार्यस्थलको अवस्था, कानूनी प्रक्रिया सबै बुझ्न समय लाग्छ । यसले गर्दा कार्यसम्पादनमा केही प्रभाव त अवश्य नै पर्छ । यसले कर्मचारीमा नकारात्मक असर पार्छ ।
७. आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
आफुलाई तोकिएको पदीय जिम्मेवारीमा रहेर काम गरे अनुशार म सन्तुष्ट छु । मैले २०६१ सालमा खुल्लाबाट शाखा अधिकृत भै सेवा प्रवेश गरेकी हुँ । २०७० सालमा खुल्लाबाट उपसचिव र २०७७ सालमा आ.प्र.बाट सहसचिव वन्न सफल भए । सेवाको अवधिमै दक्षिण कोरियाबाट थप स्नातकोत्तर गर्ने अवसर पाए । जसले गर्दा मेरो पेशागत दक्षतामा अभिबृद्धि भएको छ । मलाई विभिन्न मन्त्रालयको विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गर्दा आफुले सकेसम्म राम्रो गरेको जस्तो लाग्छ ।
८. जिल्लाका मुख्य मुख्य बजारहरुमा प्रशासनबाट निरन्तर अनुगमन भैरहेको छ, अनुगमनका क्रममा प्रशासनले के भेटायो ? यसपछि प्रशासनको एक्सन के हुन्छ ?
स्थानीय सरकार संचालन ऐन २०७४ अनुशार आफ्नो पालिकाभित्रको बजार व्यवस्थापन र अनुगमनको जिम्मा सम्वन्धित पालिकालाई नै छ । बजार अनुगमन समितिको संयोजक पालिकाको उपप्रमुख÷उपाध्यक्षलाई तोकेको छ । तर जनप्रतिनिधिहरुबाट स्थानीय बजारको अनुगमन न्यून मात्रामा हुने गरेको छ । एकाध ठाउँमा गरिएका अनुगमन पनि प्रभावकारी भएको पाइदैंन । केही स्थानीय तहहरुले भने पालिकाबाट बजार अनुगमन गर्दा दण्ड÷जरिवाना लिन समस्या रहेको हुँदा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेकाले संयुक्त टोलीद्धारा बजार अनुगमन गर्ने गरिएको छ । धेरैजसो बजार अनुगमन सहायक प्रजिअको नेतृत्वमा विभिन्न कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार र प्रहरीको संयुक्त टोलीले गर्ने गरेको छ । अनुगमनका क्रममा जिल्लामा धेरैजसो म्याद नाँघेका सामाग्री बिक्रिवितरण गर्ने गरेको पाईएको थियो । अनुगमनलाई निरन्तरता दिएसँगै हाल उक्त प्रकृतिका सामानहरु कम भेटिएको छ । सुरु सुरुमा मूल्य सूची नराख्ने, म्याद गुज्रिएको सामान भेटिने, म्याद नाघेको छ÷छैन हेर्न नजान्ने बिक्रेताहरु समेत भेटियो । अनुगमन टोलीले बजार अनुगमन गर्दा सामान्य त्रुटी भएको अवस्थामा सचेत गराउने, गम्भीर त्रुटी देखिएमा नगद जरिवाना तथा आवश्यक कारवाहीको लागि सिलबन्दी गरी लेखी पठाउने गरिएको छ ।
९. वर्षामास सुरु भएसँगै विभिन्न प्राकृतिक विपदका घटनाहरु भएका छन् । अहिले विपद व्यवस्थापनको पूर्वतयारी कस्तो छ ?
यस बर्ष असार महिनामा परेको अबिरल बर्षाले ठूलो मात्रामा धनजनको नोक्सान गरेको छ । जिल्लाभित्रको बाढीपहिरोमा परी ८ जनाको मृत्यु हुन पुग्यो भने जिल्ला बाहिरको बाढीपहिरोमा परी ३ जना गरी जम्मा ११ जनाको मृत्यु भएको छ । हालसम्म पूर्ण घर क्षती ३, आंशीक घर क्षती ३ र जोखिममा रहेका घरहरुको संख्या १ सय १२ रहेको प्रहरीबाट प्राप्त विवरणले देखाउँछ । पालिकाहरुबाट स्थलगत अनुगमन गर्ने क्रम जारी रहेको हुदाँ अझै एकिन तथ्याङक आउनै छ । जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय स्तरमा स्थानीय विपद व्यवस्थापन समिति सक्रिय रहेको छ । मन्त्रालयको निर्देशन अनुशार जिल्ला विपद सहायता कक्ष र स्थानीय विपद सहायता कक्ष मार्फत पूर्वतयारी गरिएको छ । अहिले स्थानीय पालिका तथा वडा कार्यालयहरु विस्थापित परिवारको व्यवस्थापन तथा विपद न्यूनिकरणमा सक्रिय भएर लाग्नुभएको छ । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, लायन्स क्लब, जेसीज लगायतका संघसंस्थाहरुले पनि आफ्नो तवरबाट विपदमा सहयोग गरिरहेको देखेका छौं । विपद आएको अवस्थामा स्वास्थ्य, सिंचाई, शिक्षा, खानेपानी तथा रेडक्रस लगायतका बिषयगत निकायहरुलाई तयारी अवस्थामा रहन तथा सोही अनुशारको समन्वय र सहकार्य गर्न पालिकाहरुलाई भनिएको छ । विपदबाट मृत्यु भएका र घरको पूर्ण क्षती भएकालाई राहातका लागि सिफारिस गर्न हामीले पत्राचार गरेका छौं तर आंशिक क्षतीलाई समेत सिफरिस गरिदिनाले सेवाग्राहीले अनावश्यक दुख झेल्नुपरेको छ । तसर्थ स्थानीय तहको विपद व्यवस्थापन समिति र फोकल पर्सन बढी सक्रिय हुन तथा गम्भीर भएर काम गर्नुपर्ने देखन्छ । त्यसैगरी सिंचाई, खानेपानी, विद्यालय लगायत अन्य क्षेत्रमा भएको क्षती विवरण संकलन गरि सम्वन्धित निकायमा सिफरिस गर्न पालिकाहरुलाई अनुरोध समेत गर्न चाहन्छु । हामीले विपद व्यवस्थापनका लागि जिल्ला विपद योजनाहरु, मनसुनको पूर्वतायारीको योजनाहरुलगायत विभिन्न किसिमका योजनाहरु तयारी गरेका छौं ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिकामार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेको कर्मचारी संयन्त्रले हो । तपाईको पत्रिका मार्फत हाम्रो सेवा प्रवाहलाई सरल, सहज र पहुँचयुक्त बनाउन जिल्ला प्रशासन प्रयासरत छ भन्न चाहन्छु । अझ सुधार गर्नुपर्ने ठाउँहरु बाँकी नै छन् । निरन्तर तपाईहरुको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछौं । जिल्ला प्रशासनमा सेवा लिन आउँदा टिकट टाँस गर्दा लाग्ने खर्च र पासपोर्ट बनाउँदा लाग्ने दस्तुर बाहेक अन्य रकम लाग्दैन । कसैले रकम माग गर्दछ भने त्यसको रसिद माग्नुहोस् । कसैले सेवा दिने क्रममा असहयोग गर्दछ भने प्रजिअ ९८५६०४७७७७ वा सहायक प्रजिअ ९८५६०५२४४४ मा फोन गर्नुहोला । बर्षायाम बल्ल सुरु भएको छ, जोखिमयुक्त भनी पहिचान भएका घरमा रात नबस्नुहोला । जतिबेला पनि सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस् । समस्या पर्दा तुरुन्त १०० नम्बर डायल गरी प्रहरीको सहयोग लिनुहोला । बोल्न नमिल्ने अवस्थामा सहयोग माग्न पर्दा, आपराधिक घटनाबारे जानाकारी गराउन पर्दा, लागुऔषध तथा लैगिंक हिंसा लगायतका सूचना दिनुपर्दा प्रहरीको ९८५५०९०५१८ मा एसएमएस गरी अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्नुहोला । प्रहरी प्रशासन सधैं तपाईको साथमा छ । धन्यवाद ।
प्रतिक्रिया