आँधिखोला सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न

भीरकोट ।

आँधिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तोयनाथ अर्यालको अध्यक्षतामा भीरकोट, बयरघारीमा साधारण सभा सम्पन्न भएको हो । भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको बित्तीय अवस्था र बित्तिय अनुशासनका बारेमा चर्चा भएको थियो । प्रमुख अतिथि कर्माचार्यले केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउँदै पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको बताए । केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको समेत उनले बताए । कर्माचार्यले आँधिखोला सहकारी समुदायमा परिचित यस क्षेत्रको पहिलो सहकारी संस्था भएको तथा यसले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई पूर्णरुपमा पालना गरेको बताए । यस सहकारीले संस्थागत सुशासन कायम गरी संस्थाको विकाससँगै सदस्यहरुको हितमा काम गरेकोमा खुशी व्यक्त गर्दै कर्माचार्यले सेवाग्राहीलाई ढुक्क भै कारोबार गर्न अनुरोध समेत गरे ।

आर्थिक वर्ष २०८०÷०८१ सम्म आईपुग्दा संस्थामा १ हजार ७५ जना शेयर सदस्यहरु आवद्ध छन् । संस्थाको शेयर पुँजी २ करोड २ लाख ६२ हजार ९ सय रुपैयाँ छ । गत आ.व.मा १२ करोड २९ लाख ५२ हजार १ सय ७९ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ । उक्त वर्षमा संस्थाको कुल आम्दानी १ करोड २० लाख ४७ हजार ७ सय ८० रुपैयाँ रहेको छ भने १ करोड १० लाख १३ हजार ८ सय ४६ खर्च भएको सहकारीले जनाएको छ ।

वि.सं २०६४ सालमा स्थापना भएको यस सहकारीको कार्यक्षेत्र भीरकोट, वालिङ, पुतलीबजार र अर्जुनचौपारी रहेको छ । साधारण सभामा बोल्दै भीरकोटका निवर्तमान नगरप्रमुख छायाराम खनालले संस्थाको हितलाई सधै शिरोपर गरी कार्य अगाडी बढ्नुपर्ने कुरामा जोड दिए । साधारण सभामा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष लक्ष्मीपती पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठ, भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसी, भीरकोट उ.वा.संघका अध्यक्ष जगदिश प्रसाद कोइराला, शुभलक्ष्मी सहकारीका अध्यक्ष भक्तबहादुर केसी, भूपू सैनिक सहकारीका अध्यक्ष क्षेत्रबहादुर थापा, शेयर सदस्य हर्कबहादुर गुरुङ लगायतले बोलेका थिए । साधारण सभाको संचालन संस्थाको नि. व्यवस्थापक सुनिल जिटीले गरेका थिए भने स्वागत संचालक समिति सदस्य शारदा अर्यालले गरेको थिईन् । यसैगरी साधारण सभाको अवसरमा २ जना जेष्ठ नागरिक शेयर सदस्य, २ जना असल कारोबारी र २ जना उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

 

 

प्रतिक्रिया