गरिमा बैंकको गौरवमय १८ औं बार्षिकोत्सव

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकामा १८ बर्ष अगाडी स्थापना गरिएको गरिमा विकास बैंकले गौरवमय बार्षिकोत्सव मनाएको छ । १८ औं बार्षिकोत्सवको अवसरमा गरिमा बैंकले देशभर आफ्ना शाखाहरु मार्फत विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । विकास बैंकहरु मध्ये देशभर उत्कृष्ट बन्दै आएको गरिमा विकास बैंक सामाजिक उत्तरदायित्वमा पनि अगाडी देखिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले देशका विभिन्न स्थानमा सामाग्रीहरु वितरण सहित रगत समेत संकलन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत माधव आचार्यका अनुसार देशका ७ स्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ५ सय ६२ युनिट रगत संकलन गरिएको जानकारी दिए । बैंकको प्रधान कार्यालय लाजिम्पाटमा ७७, चितवनको नारायणगढमा ७८, पोखरामा १६२, बुटवमा ८४, कोहलपुरमा ६५, इटहरीमा ५९ र बिरगंजमा ३७ युनिट रगत संकलन गरेको छ । प्रधान कार्यालय बाहेकमा संकलन गरिएको बैंकका क्षेत्रिय र शाखा कार्यालय हुन् ।

बैंकले स्याङ्जाका विभिन्न ठाउँमा समेत विद्यार्थीहरुलाई स्कुल ड्रेस सहित जाडोका कपडा वितरण गरेको छ । गल्याङ नगरपालिका स्थित ज्ञानज्योति आधारभूत विद्यालयमा विद्यार्थीलाई ट्याकसुट, वालिङ नगरपालिका ९ स्थित गब्दे बालशिक्षा निकेतन आधारभुत विद्यालयमा पनि ट्याकसुट वितरण गरेका छ । गल्याङ नगरपालिका १ स्थित रामनदीधाम संस्कृत गुरुकुललाई एक थान स्टिल दराज प्रदान गरेको छ । बैंकले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक संघसंस्थाहरुलाई सामाग्रीहरु वितरण गरेको हो ।

यसैगरी बैंकले जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक, जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर रंगिन प्रिन्टर, कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन, कान्ति बाल अस्पताल काठमाडौमा वेटिङ् कुर्सी, बेनी अस्पताल म्याग्दीमा वेटिङ्ग कुर्सी, मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा डोलो गाँउमा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा, रम्भादेवी प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई जाडोका पोशाक वितरण गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जानकारी दिए ।

२०६४ सालमा स्याङ्जाको वालिङ् बाट १० जना कर्मचारी सहित स्थापना भएको बैंकसंग हाल १ हजार ६४ कर्मचारी रहेका छन् । २ करोड ६४ लाख चुक्ता पुँजी सहित कारोबार सुरु गरेको बैंकको आज ५ अर्ब ७८ करोड चुक्ता पूँजी रहेको छ । ३७ जिल्लामा १ सय २३ शाखा कार्यालय र एक्टेन्सन काउन्टर सहित सेवा प्रवाह गरेको बैंकले ८ लाख ६५ हजारलाई ग्राहकलाई सेवा प्रवाह गरेको छ । देशभर फैलिएको बैंकले सामाजिक, आर्थिक रुपले विपन्न परिवारलाई पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया