ग्रामिण स्वावलम्बन सहकारीका सदस्यलाई प्रशिक्षण

स्याङ्जा ।
सहकारीहरु समस्याग्रस्त भइरहेका बेला स्याङ्जाको एक सहकारीले आफ्ना शेयर सदस्यलाई सहकारी शिक्षाका बारेमा प्रशिक्षण गरेको छ । अर्जुनचौपारी गाउँपालिका स्थित ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई वित्तिय साक्षरता र सहकारी शिक्षा सम्वन्धी बिषयमा प्रशिक्षण गरेको हो । वित्तिय संस्था र सहकारी बिचको भिन्नता सहित सहकारीमा शेयर सदस्यले गर्नुपर्ने भुमिका बिषयमा सिकाई आदनप्रदान गरेको सहकारीले जनाएको छ । झण्डै २५ सय शेयर सदस्य रहेको सहकारीले १२ ओटा अन्तर समुह मार्फत आफ्ना शेयर सदस्यहरु बिच सहकारीको अहिलेको अवस्था, भोली हुन सक्ने अवस्था र शेयर सदस्यले गर्नुपर्ने काम कर्तव्यका बिषयमा जानकारी लिने र दिने काम गरेको संस्थाका प्रवन्धक शालिग्राम काफ्लेले बताए ।
२०८१ चैत्र १८ गतेदेखी शुरु गरेको प्रशिक्षण कार्यक्रम बैशाख ६ गते सम्पन्न गरेको छ । प्रशिक्षण अवधीभर २ हजार १ सय १० जना शेयर सदस्यको सहभागिता रहेको थियो । जसमा महिला १५ सय र पुरुष ६ सय १० जना प्रशिक्षित भएको प्रवन्धक काफ्लेले बताए । सहकारीले बार्षिक नीति तथा कार्यक्रम अनुसार आफ्ना शेयर सदस्यलाई प्रशिक्षण गरेको काफ्लेले बताए । कुनै बेला गाउँपालिकामा बैंक नहुँदा बैकिङ्क कारोवार समेत गरेर सेवा प्रवाह गरेको सहकारीले अहिले भने बिउँविजन, रासायनिक मल लगायतको सेवामा जुटेको छ ।
सहकारीका शेयर सदस्यलाई सामाजिक उत्तरदायीत्व अनुसार जन्मदेखी मृत्यू सम्म अनुदानका कार्यक्रम समेत संचालन गर्दै आएको छ । पशु बिमा, वाली बिमा, म्यादी जीवन बिमा शेयर सदस्यलाई प्रदान गरेको छ भने सुलभ कर्जा, साना सिंचाई, मृत्यू संस्कार, सुत्केरी स्याहार र अन्य विविध कार्यक्रम संचालन गर्दै आएको सहकारीले जनाएको छ । ग्रामिण क्षेत्रको पालिका भएकाले सहकारीले आफ्ना शेयर सदस्यलाई आयआर्जन र बचतमा क्रियाशिलता बनाउन भुमिका खेल्दै आएको छ । २ करोड शेयर पुँजी रहेको सहकारीले २५ करोड कर्जा लगानी गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ मा उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो ।
प्रतिक्रिया